विराटनगर । प्रदेश १ मा हरेक दिन चार जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । १ नं. प्रदेश प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांक केलाउँदा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ । आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् ।

१४ जिल्ला रहेको प्रदेश १ मा आव ०७६/०७७ देखि ०७८/०७९ को तीन वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ६३ रहेको छ । यो तथ्यांकलाई केलाउने हो भने तीन वर्षमा दैनिक आत्महत्या गर्नेको संख्या प्रदेश १ मा ४ जना आउने गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ०७६/०७७ मा १ हजार ३४७, ०७७/०७८ मा १ हजार ५१६ जना, ०७८/०७९ मा १ हजार ५०० जनाले आत्महत्या गरेका गरेका छन् ।

गएको आ.व.मा आत्महत्याको संख्यामा सामान्य कमी आए पनि त्यसअघिका दुई वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्षमा ०७८/०७९ मा हरेक दिन करिब ४ जनाभन्दा बढीले आत्महत्या गर्ने गरेको देखिन्छ । आर्थिक वर्षमा प्रदेश १ को सबैभन्दा बढी आत्महत्या झापामा भएको छ । झापामा ३३४ र कम तेह्रथुम जिल्लामा भएको प्रहरीको अभिलेखमा देखिन्छ । तेह्रथमुमा आर्थिक वर्षमा २३ जनाले आत्महत्या गरेका छन् । झापापछि दोस्रोमा मोरङमा बढी आत्महत्या भएको पाइएको छ । मोरङमा ३१४, सुनसरीमा २०३, इलाममा १२८, उदयपुर ८४, धनकुटा ४९, पाँचथर ५७, ताप्लजुङ्ग ३५, संखुवासभा ४४, भोजपुरमा ५१, खोटाङमा ६७, ओखलढुङमा ५४ र सोलुखुम्बुमा ४७ जनाले आत्महत्या गरेका छन् ।

घटनाको सुक्ष्म अध्ययन गरेको प्रहरीले सामान्य परिवारका किशोर–किशोरी र युवाको संख्या बढी रहेको बताएको छ । मनोचिकित्सक डा. प्रभात चौरसियाले आत्महत्यालाई मेडिकल इमरजेन्सीको अवस्था हो भन्दै खुलेर सोधखोज र प्रश्न गर्ने बानीको विकास गर्नुपर्ने उपाय सुझाउँछन् । सबै वर्ग, तह, समुदाय, लिङ्ग र उमेर समूहका मानिसहरूले आत्महत्या गर्ने क्रम बढ्दो पाइएकोले सबै सरोकारवाला मिलेर रोकथामका लागि सामूहिक पहल थाल्नुपर्ने उनको सुझाव छ । डा. चौरसियाका अनुसार आत्महत्या रोकथामका लागि पहिले अवस्था विश्लेषण गरेर गलत धारण हटाउन सरोकारवालाबीच सहकार्य हुनुपर्ने र आवश्यक दक्ष जनशक्ति उत्पादनमा लगानी गर्नुपर्छ । आत्महत्या दिनानुदिन बढ्दै गएको र यो सामाजिक अपराधका रुपमा जटिल समस्या बनेर देखा परेको उनी बताउँछन् ।

‘आत्महत्याको मूल कारण त मानसिक समस्या नै हो,’ उनी भन्छन्, ‘परिवार, नातागोता तथा साथीभाइ÷चिनेजानेका बीच जति पनि आपसी कलह/बेमेल, मनमुटाव, आर्थिक अभाव, बेरोजगारी, व्यवसायमा नोक्सानी, अविश्वासजस्ता समस्या देखिन्छन्, त्यसबाट निम्तिने मानसिक समस्या नै हो, त्यसबाटै मानिसमा प्रतिशोध, आवेग, उत्तेजना हुँदै दिमागमा योजनाबद्धरुपमा आपराधिक सोचको विकास हुने हो, हत्या र आत्महत्याका घटना पनि यसकै परिणाम हो ।’