उदयपुर । सप्तकोसीको बाढी उदयपुरको बेलका नगरपालिकाको विभिन्न वडाहरूको बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । सप्तकोसीको श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ ।

विस्थापितहरूको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका छुट्टा छुट्टै ३ वटा टोलीले फरक फरक ठाउँबाट उद्धार गरिरहेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोसीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गए राति करिब १ बजेदेखि भङालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए ।

उनले पानीले चारैतिरबाट भरिएको भए पनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्थानीय रहेको बताइएको छ।

उनले हालसम्म कोशीमा फसेका करिब ५०० जनाको उद्धार भइसकेको बताए । यस्तै आवश्यकता अनुसार उद्धार र राहतको कार्य बढाइएको उनले बताए । लगातारको वर्षासँगै आएको बाढीले बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको हो ।