विराटनगर । सप्तकोसी नदीले बाध फुटाएर गाउँ पस्न थालेको छ । बाध फुटाएर बेलका नगरपालिका–८ डुम्री बोटे लाहुरे खोचबाट सप्तकोसी नदी पश्चिमतर्फ पसेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले बताए ।
४९ वर्ष पछि सप्तकोसी नदी पहिलाकै धारमा पुगेको छ । २०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो । प्रहरी उपरीक्षक बोहराका अनुसार खोला बस्तीमा बस्दा २४ सय परिवार विस्थापित हुने अनुमान गरिएको छ ।
‘जोखिम बढ्दै गएको छ । हामीले सुरक्षित स्थानमा भएका आफन्तकामा जान पनि भनेका छौ ।सुरक्षित स्थान तर्फ सार्ने काम पनि सुरु गरेका छौँ उनले भने । ’
२० हजार नागरिक प्रभावित हुने अनुमान प्रहरीको रहेको छ ।
नदी पश्चिमतर्फ प्रवेश गर्दा सुनसरीको बराह क्षेत्र नगरपालिकाका श्रीलङ्का टापुका पनि ५ सयभन्दा बढी परिवार विस्थापित हुने अनुमान गरिएको छ । उनीहरू सुरक्षित स्थानतर्फ सर्न थालिसकेका छन् ।

