विराटनगरमा डोसागफ

 अनन्तराज न्यौपाने

केही दिनपहिले विराटनगरमा तर्तरी पसिना आउने खालको गर्मी थियो । यस्तो गर्मी एक साताभन्दा बढी नै निरन्तर रह्यो । बर्खा याम यस्तै हो । कहिले सबै लुगा भिजाउने गरी पसिना आउन्जेल गर्मी हुन्छ । कहिले हावाहुरी चल्छ र कहिले निरन्तर दर्के झरी परिरहन्छ । जे होस्, त्यो साता उखरमाउले गर्मीले सबैलाई आकुल बनाएको वेला थियो ।

गर्मीका बिच, विराटनगरको व्यस्त बजारमा संयोगले हामी चार जना एकै पटक भेटियौँ । म, मेरी श्रीमती, पत्रकारदम्पती अर्जुन आचार्य र बिनु तिम्सिना । चारै ज्यान बजारमा एक छिन उभिएर गफिएपछि कतै शीतल ठाउँमा गएर खाजा खाने कुरा उठ्यो । हामी नजिकैको युनिक रेस्टुरेन्ट पुग्यौँ । र, चारै जनाका लागि मसाला डोसा अर्डर ग¥यौँ ।

केही छिनमा डोसा आइपुग्यो । हामी खान थाल्यौँ । तर हामी जे सोच्तै र कल्पना गर्दै डोसा खान थालेका थियौँ, डोसाको गुणस्तर र स्वादले हाम्रो मुख बिगारिरहेको थियो । हामीले गफिँदै खान थालेको मजा पनि एकै गाँसमा ध्वस्त भएको थियो । खासमा हामीलाई किन यहाँ आएछौँ, किन अर्डर गरेछौँ र किन खान थालेछौँजस्तो अनुभूति भइरहेको थियो ।

डोसाको प्लेट टेबुलमा राख्नेबित्तिकै सबैभन्दा पहिले बिनुले लोभिँदै र रमाउँदै डोसा सेटमा दिइएको सेतो अचारलाई चम्चाले मुखमा हालिन् । उनको मुख एकैचोटि सोहोरिएर बिग्रियो । उनले भनिन्, ‘दाइ अचार त गह्नाइसकेको छ । कसरी खानु ?’ अर्जुन र मेरो समवेत उत्तर थियो, ‘त्यसो भए यो सेतो अचार नखाऊँ, डोसामात्र खाऊँ ।’

डोसासेटमा दिइने अचारमा धेरैजसो काँचो वा छिप्पिएको नरिवलको अंश हुन्छ । तर यस अचारमा नरिवलको कुनै गन्ध थिएन । खै के खै के हालेर बनाइएकोजस्तो थियो । सायद बिहानै बनाएर राखेको अचार गर्मीले बयेल्लिइसकेको थियो ।

यसैबिच मैले सबैभन्दा पहिले डोसासेटमा रहेको साम्बरमा हातपात गरेँ । साम्बर चिसो थियो । खासमा साम्बर तातो हुनु जरुरी थियो । तर घन्टौँ राखेर चिसो भइसकेको साम्बरलाई होटलका कर्मचारी र भान्सेले तताउन आवश्यक ठानेनन् वा मानेनन्, चिसै ल्याए ।

साम्बर भन्नुमात्र थियो, झोलमात्र थियो । तर के को झोल ? छुट्याउन सकिने कुनै आधार र प्रमाण थिएन । गन्धहीन, स्वादहीन चिसो झोल । जेसुकै होस् पैसा लागेको छ, खानै पर्यो । यही लोभी भावले हामी खान बाध्य भयौँ । आखिर भोक पनि त थियो ।

ठूलो प्लेटमा सजिएको डोसामाथि हामीले एकै चोटि आक्रमण सुरु ग¥यौँ । डोसाको रोटी खाउन्जेल त हामीले निकै मजा लियौँ । क्रन्ची रोटी मिठो थियो । तर जब हामी बिच भागमा रहेको मसलामा पुग्यौँ फेरि हाम्रा मुख र निधार खुम्चिन र बाङ्गिन थाले । मसलामा सबैजसो भाग उसिनेको आलुको थियो । आलुको भाग हुनु केही गलती थिएन । तर मसलामा प्रयोग गरिएको आलु गुलियो थियो । यो बजारमा पाइने सबैभन्दा सस्तो, पुरानो र गुणस्तरहीन आलु थियो । ग्राहकले हेर्दैनहेर्ने खालको आलु थियो । यथार्थमा आलुबाट बनाइएको डोसामसलामा जेजस्तो स्वाद र स्तर हुनुपथ्र्यो, त्यो थिएन । बजारको सबैभन्दा रद्दी आलु खरिद गरेर बनाइएको थियो । त्यसैले स्वाद बिग्रिएको थियो ।

जसरीतसरी हामी चारै जनाले सेतो अचार र साम्बरलाई त्यत्तिकै छाडेर डोसाको प्लेट रित्यायौँ । मलाई होटल व्यवस्थापनसित गुनासो गर्न मन लाग्यो । मैले त्यहाँको प्रबन्धकलाई भनेँ– अचार, साम्बर, मसलाको आलु सबैका बारेमा । उसले रती पनि गल्ती नभएको भावमा जबाफ दियो, ‘हामीले सबै राम्रो गरेका छौँ, तपाईंलाई त्यस्तो लागेको मात्र हो ।’

यसपछि मैले होटलका मालिक चन्दन जैनलाई फोन लगाएँ । डोसाको गुणस्तरका बारेमा उनलाई गुनासो गरेँ । चन्दन भारतको पश्चिम बङ्गालमा स्थायी बासिन्दा हुन् । उनी ५० का दशकमा विराटनगर आएका थिए । सुनिन्छ, उनले नेपालको नागरिकता पाइसकेका छन् । चन्दनको उत्तरमा पनि गल्तीको कुनै अनुभूति थिएन । उनले विराटनगरको बजारमा सबैतिर एउटै प्रकारको आलु पाइने र युनिकले त्यही आलुको प्रयोग गर्ने हचुवा उत्तर दिए र फोन काटे ।

वास्तवमा सहरका मध्यमा रहेका आकर्षक र ठुला होटल–रेस्टुरेन्टहरू त्यस सहरका परिचयका केन्द्र हुन् । त्यो सहर कति आधुनिक, सभ्य, स्तरीय र सुसंस्कृत छ भन्ने कुरा त्यहाँ रहेका र चलेका नामी रेस्टुरेन्ट र होटलले पनि दर्साइरहेका हुन्छन् । तर युनिकजस्तै होटलबाट हामीले कस्तो परिचयको आसा गर्ने, चिन्ताको विषय हो । नेपाली लोकसमाजमा एउटा कहावत छ, एउटा मृत भारतीयले सय जना जीवितलाई ढाँट्न सक्छ रे । युनिक होटलमा त हामी जीवित भारतीयका फेला परेका छौँ । थाहा छैन, कति जना बेबकुफ भइरहेका छौँ !!

मङ्गलबार, १७ साउन, २०७९

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर