विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयका एक जना छात्रले एसइइमा उत्कृष्ट नतिजा ल्याएका छन् । आदर्शका हरिनन्द यादवले ३.९५ जीपीए ल्याएका छन् । यादवले प्राप्त गरेको नतिजा विराटनगरका नाम चलेका संस्थागत विद्यालयको भन्दा बढी हो ।
यादव मोरङका उत्कृष्ट विद्यार्थी ठहरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ स्थायी बसोवास भएका यादव सामान्य किसान परिवारका हुन् । उनी यहाँ डेरा बसेर अध्ययन गरेका हुन् । उनका बुबा सत्यनारायण सरकारी विद्यालयका मावि शिक्षक हुन् । आमा अनिता गृहिणी हुन् ।
प्राचार्य सन्तोष पोखरेलका अनुसार आदर्श माविबाट परीक्षामा सहभागी ३०३ विद्यार्थीमध्ये ३.६० जीपीएमाथि २३ जना, ३.२० देखि ३.५५ जीपीएसम्म १०३ जना, ३.१५ जीपीएमा १४१ जना र २.७५ जीपीएमा ७६ विद्यार्थी उत्तीर्ण भएका छन् ।
सरकारीतर्फ आदर्शसहित पोखरिया, सत्यनारायण, सरस्वती, गोग्राहा, राधाकृष्ण माविमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । पोखरिया माविबाट ४०५ विद्यार्थीले एसईई दिँदा चार जनाले ३.९० जीपीए ल्याएका छन् । उक्त विद्यालयका ८७ जनाले ३.६० माथि जीपीए, २०१ विद्यार्थीले ३.२ देखि ३.६ जीपीए, ७६ जनाले ३.२ जीपीए ल्याएको प्राचार्य खेमराज भट्टराईले बताए । यो विद्यालयबाट यसअघि तीन विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।
सत्यनारायण माविका ३२० विद्यार्थीमध्ये दुईले ३.८५ जीपीए ल्याएको प्राचार्य धर्मानन्द खरेलले बताए । उनका अनुसार अरू सबै विद्यार्थी ए प्लस र ए श्रेणीमा पास भएका छन् ।

