दिव्या दाहाल
मलाई एकान्त प्रिय लाग्छ । केही खास दिनहरू बाहेकका अन्य दिनहरूमा म आफ्नै कोठाभित्र कैद रहन्छु । दिनभरि एउटा कोठामा थुनिएर बस्दा कस्तो पट्यार नलागेको भन्नेहरू धेरै हुनुन्छ । तर मलाई मेरो कोठाभित्र खुला आकाशमा पखेटा फिँजाएर उडे जत्तिकै स्वतन्त्रताको आभास हुन्छ ।
टेबलमा चिटिक्क मिलाएर आफूलाई मन परेका एक र दुई थान किताब राखेकी छु । तिनै किताबहरू ओल्टाउनु, पल्टाउनु अनि सुम्सुम्याउनु मेरो दैनिकी हो । कलेजको झोला त बाध्यताले मात्र खुल्छ, त्यो पनि कहिलेकाहीँ। अन्य किताबहरूसँगको लगाव भने मैले कहिल्यै पनि घटाउन सकिनँ । यी किताबहरूसँग मेरा खास सम्झनाहरू जोडिएका छन् ।
बारम्बार तिनै पुराना पानाहरू पल्टाइरहदाँ मैले धेरै पटक सुखका अनि दुःखका पलहरू भोगेकी छु । एउटै भोगाइ बारम्बार भोग्नुले मिठो नोस्टालजिया दिन्छ, चाहे त्यो भोगाइ तितो नै किन नहोस् । मलाई किताबका पात्रहरू जीवन्त लाग्न थालिसकेका छन् । मैले यिनै पात्रहरूसँग बाँच्न सिकिसकेकी छु ।
शब्दहरू मलाई औधी मन पर्छन् । तर लेख्न चाहिँ त्यति सजिलो छैन मेरा लागि । शब्दहरू बुन्न असाध्यै गाह्रो । कहिलेकाहीँ त धेरै लामो समयसम्मै सम्बन्ध विच्छेद भैदिन्छ कलम र कापीको । तर लेख्ने हुटहुटी भने कहिल्यै मरेन । म एक ढिट पाठक हुँ र एक ढिट लेखक पनि । यतिसम्म ढिट कि पढ्दापढ्दै, लेख्दालेख्दै अर्को कोठामा बसेर कैयौँ घन्टासम्म एक्लै ढुनुमुनु गरिरहने मेरी आमासँग बोल्ने पनि फुर्सद हुँदैन मेरो ।
मेरो यो स्वभावलाई आमाले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले होला उहाँले चाहेर होस् या नचाहेर मेरो बानीप्रति कहिल्यै कुनै किसिमको गुनासो राख्नु भएन । आमाका लागि म केबल आमाकी छोरी मात्र भए पनि म समाजका लागि एउटी घुसघुसे केटी हुँ । प्रायः एक्लै समय बिताउने भएर होला, म अलि कम बोल्छु । मेरा लागि कम बोल्नु भनेको चाहिँदो बोल्नु भएता पनि अरुका लागि भने म एकलकाँटे र मेरो व्यवहार घोइरे हुनु हो ।
आमा–बुवा घरमा हुनुहुन्न र घरमा कोही मान्छे टुप्लुक्कै आइपुग्ने हो भने मलाई फसाद परिहाल्छ । गफगाफको मेसो मिलाउन म ठ्याम्मै जान्दिनँ । लेख्न बस्दा त शब्दहरू अक्सर आफ्नो बाटो समातेर दौडिरहन्छन् । तर कसैसँग कुराकानी गर्नुपर्याे भने मेरो मुख दही जमाएर बसे सरह टालिन्छ । स्टेजमाथि उक्लिएर बोल्नु मेरो मन पर्ने कुरामध्ये एकमा पर्छ । तर दोहोरो कुराकानी गर्न भने मैले कहिल्यै जानिनँ ।घर, व्यवहार, बालबच्चा, उनीहरूको पढाइ, सोध्नलाई त कत्ति कुरा हुन्छन् । मेरो मुखबाट फुत्किने केही हैन । आएका पाहुनाहरूलाई ‘चिया पिएर जानुहोस् न’ भन्ने समेत होस हुँदैन कहिलेकाहीँ । त्यसपछि त घुसघुसे केटीबाट म सोमत नभएकी केटीसम्म पुग्छु ।
जीवनमा मैले धेरै कुराको बोझ बोकेर हिँडेकी छैन । सबैलाई रिझाउने भारी उचाल्न त संसारकै सबैभन्दा बलवान व्यक्तिले पनि नसक्ला । त्यसैले मैले त्यो पाटो नै रोजिनँ । परिवार र केही घनिष्ठ साथिहरूबीच मेरो दुनियाँ घुम्छ । यसो भन्दैमा म कहिल्यै पनि सम्बन्धहरूको अनादर गर्दिनँ ।
मेरो कम बोल्ने बानीले मलाई र मेरो परिवारलाई भन्दा बढी त अरुलाई पोल्छ । ‘छोरी मान्छे भएपछि त सर्वगुण सम्पन्न हुनुपर्छ नि । मिजासिली, हँसिली र मिठो बोलिवचन भएकी । छोरी मान्छेलाई घुसघुसे भएको अलि सुहाउन्न । मान्छेहरूले प्रश्न उठाउने बाटो पाउँछन् ।’मलाई ‘छोरी मान्छे भएर’ भन्ने वाक्यबाट सुरु भएका लवजहरू पटक्कै मन पर्दैनन् । उसोभए अब हामीले बोल्ने, हाँस्नेजस्ता प्राकृतिक गुणहरूमा समेत लैङ्गिक विभेद लगेर जोडिदियौँ ।
छोरी मान्छे भएरै पनि म फेरि नसुहाउने नै काम गरिदिन्छु । हतपत्त भान्सामा म छिर्दिनँ । कहिले कम्मरभन्दा लामो कपाल कानको लोति समेत देखिने गरी ठुट्याइदिन्छु । पारिवारिक जमघटहरूमा उपरखुट्टी लाएर बसिदिन्छु । पकाउनमा सघाउ–पघाउ गर्नु साटो बुवाहरूको राजनीतिक गफ सुनेर बसिदिन्छु, कम बोले पनि कुनै कुरा चित्त बुझ्यो भने म खित्का छोडेर हाँसिदिन्छु ।
सुहाउने र नसुहाउने त हेर्नेहरूको दृष्टिकोणमा भर पर्ने कुरा हो । कसैले सुरुमा गुलाफको फूल देख्ला त कसैले काँडा ।जे होस, कम बोल्दैमा कोही घुसघुसे हुँदैनन् । कोही मानिसहरू अन्तर्मुखी होलान् त कोही बहिर्मुखी । समयसँगै मानिसका व्यवहारहरूले पनि बाटो मोड्छन् । कहिले, कुनबेला कस्तो व्यवहार देखाउने र कुन लुकाउने भन्ने कसैको हातमा हुँदैन । आज फरासिलो मान्छे भोलि कम बोल्न सक्छ । आज तपाईंले घुसघुसे भनेर जसको नामकरण गरिदिनुभयो, ऊ भोलि गएर तपाईं आफैलाई पट्यार लाग्ने गरी कुरा गर्ने भएर निस्किएला । यो त केवल एउटा स्वभाव हो र स्वभावले मात्र कसैको चरित्र व्याख्या गर्न कदापि सक्दैन । ब्लगबाट