गहुँ अभावले उद्योग बन्द

विराटनगर । मोरङ विराटनगरको बाबा फ्लोर मिलले गहुँ अभावमा आफ्नो उत्पादनमा ७५ प्रतिशत कटौती गरेको छ । यस्तै गोपाल फ्लोर मिल भने गहुँ नभएकै कारण बन्द भएको छ ।

‘यसअघि १ हजार क्वीन्टल गहुँ पेल्दै आएको थिएँ, अहिले ३ सय ४ सय क्वीन्टल मात्रै पहुँ पेलिरहेको छु,’ बाबा फ्लोर मिलका संचालक भावेष राठी बताउँछन् । उनै राठीले चलाएको गोपाल फ्लोर मिल भने बन्द भएको उनले बताए ।

भारतले गत मे २०२२ देखि गहुँ निर्यात धेरै भएको र रुस युक्रेनको युद्धले खाद्यान्न अभाव हुन सक्ने जनाउँदै गहुँ निर्यातमा रोक लगाएको छ । त्यसपछि नेपालका गहुँबाट बन्ने खाद्य वस्तु उत्पादक उद्योगहरु प्रभावित भएका छन् ।

‘बंगलादेशले पहल गरेपछि भारतले गहुँ दिन थालेको छ । तर, हाम्रो देशमा सरकारले कुटनीतिक पहल गरेको छैन,’ राठी भन्छन्, ‘सरकारका आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले भारतलाई पत्राचार गरिसकेको जानकारी दिनुभएको छ । तर, सचिवहरुसँग कुरा गर्दा रोटी खान गहुँ घरघरमा छ, उद्योगलाई पुग्ने नपुग्ने हामीलाई थाहा छैन भन्दै बसिरहेका छन् ।’

न्यूट्री फुड प्रा.लि.का संचालक प्रदीप सारडाले प्रदेश १ मा रहेका उद्योगहरु बन्द हुँदा ६ सय भन्दा बढी मजदुर प्रभावित हुने र करोडौं रुपैयाँ लगानी जोखिममा पर्ने बताए । सरकारले भारतसँग कुरा गरेर तत्कालै गहुँ आयातको पहल गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा ५० करोडदेखि डेढसय करोडसम्म लगानीका ३७ वटा गहुँबाट बन्ने खाद्य वस्तु उत्पादक उद्योगहरु छन् । ती उद्योगबाट मैदा, सूजी, चोकर, आँटा उत्पादन हुँदै आएको छ । गहुँ अभावकै कारण अन्य उद्योगहरु चाउचाउ उद्योग, बेकरी, बिस्कुट, थुक्पा उद्योगहरु संकटमा परेको उद्योगीहरु बताउँछन् ।

मोरङ व्यापार संघका उपाध्यक्ष तथा नेपाल मैदा उत्पादक संघका सचिव विकाश बेगवानीका अनुसार तीन महिना अगाडि गहुँको मूल्य ३४ रुपैयाँ प्रतिकेजी थियो । अहिले ४६ रुपैयाँ प्रतिकेजी पुगेको छ र पनि गहुँ अभाव छ । ‘हामी धेरै ठूलो संकटमा पर्दैछौं,’ उनी भन्छन् ।

प्रदेश १ मा मात्रै ७ वटा मिलहरु रहेका छन् । अहिले सबै उद्योगहरुले गहुँ अभावकै कारण उत्पादन कटौती गरेको जनाएका छन् । नेपालका उद्योगलाई वार्षिक १० लाख टन गहुँ आवश्यक पर्छ । नेपालमा मुस्किलले साढे तीन लाख टन गहुँ मात्रै उत्पादन हुने गरेको बेगवानी बताउँछन् । ‘साढे ६ लाख टन गहुँका लागि भारतसँग निर्भर हुनुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘यहाँका उद्योगसँग अब मुुस्किलले २० दिन सम्मका लागि पुग्ने गरी गहुँको मौज्दात छ । सरकारले पहल गरेर भारतबाट गहुँ आयात गर्न सक्ने वातावरण नबनाए अब २० दिन पछि उद्योग बन्द हुने भयो ।’

मैदा उद्योगले वैशाखसम्म स्वदेशी गहुँ खरिद गरेर मौज्दात राख्ने र जेठदेखि भारतबाट आयात गर्दै आएका छन् । उद्योगीले भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश र पन्जाब राज्यमा उत्पादन भएको गहँु बिहारको फारबिसगञ्ज, सिमराही, मोतीहारीलगायतका क्षेत्रका खरिद गर्दै आएका छन् ।

आजभन्दा १५ वर्ष अगाडि झापा, मोरङ र सुनसरीमा उत्पादित गहुँले यहाँको आवश्यकता पूर्ति गरी पश्चिम नेपाल विक्रीका लागि पठाउने गरिन्थ्यो । तर, अहिले आयात गर्नु परिरहेको बेगवानी बताउँछन् । यसको कारण माग बढ्नु पनि हो । सँगसँगै उत्पादन पनि घटेको उनको भनाइ छ ।

भारतले गत मे २०२२ देखि गहुँको उत्पादन धेरै निर्यात भएको कारण आफ्नै देशमा खाद्यान्न संकट हुनसक्ने भन्दै गहुँ निर्यात बन्द गरेको थियो ।

सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक २१ लाख मेट्रिक टन गहुँ उत्पादन हुन्छ । नेपालको प्रमुख कृषिजन्य बालीहरुमध्ये गहुँ तेस्रो नम्बरमा छ । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा २०७६/०७७ मा गहुँ उत्पादनमा वृद्धि भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ७ लाख ६ हजार ८ सय ४३ हेक्टर क्षेत्रफलमा गहुँ १९ लाख ४९ हजार १ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा गहुँ लगाइएको क्षेत्रफल ७ लाख ७ हजार ५ सय ५ हेक्टर रहेको छ भने उत्पादन २१ लाख ८५ हजार २ सय ८९ मेट्रिक टन रहेको छ ।

यस्तै प्रदेश १ मा आर्थिक वर्ष २०७५/०७६ मा गहुँ १ लाख ५९ हजार ४ सय ९८ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक वर्ष ०७७/०७८ मा भने १ लाख ४८ हजार २ सय ३० मेट्रिक टन गहुँ उत्पादन भएको छ । तीनवर्ष अगाडिको तथ्यांक भन्दा गहुँ उत्पादन भने घट्दो क्रममा रहेको पाइएको छ ।

आइतबार, १५ साउन, २०७९, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर