विराटनगर । बन्दा कोपी बोकेर भारततिर जान लागेको ट्रकमा प्रहरीले गाँजा बरामद गरेको छ । प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दा कोपी बोकेर हिँडेको ट्रक भित्र सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले शुक्रवार राती गाँजा बरामद गरेको हो ।
प्रहरीले बन्दा कोपी बोकेर ल्याएको मिनी ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । बरामद गरेको गाँजा १५६ केजी रहेको छ । मिनी ट्रकभित्र ४६ बोरा बन्द कोपी रहेको छ ।

माथिबाट बन्दा कोपी र मुनि गाँजा हालेर भारत लैजाने क्रममा प्रहरीले मिनी ट्रक नियन्त्रणमा लिएको हो । बरामद गरेको गाँजा, ट्रक र पक्राउ परेका ट्रक चालकलाई आवश्यक थप कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगरलाई बुझाएको एसपी लामिछानेले बताए ।
प्रहरीले ट्रक चालक धनकुटा सहिद भूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा लोड गरेर भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विराटनगर – १५ रानीस्थित २ नं. डाढबाट बरामद गरेको हो । गाँजा बरामद गरेको ट्रकले पुरानो विराटनगर भन्सार कार्यालय अगाडीको २ नं. ढाटमा ठक्कर दिएको थियो ।

‘विशेष सूचनाको आधारमा कोपी बोकेको ट्रकलाई सशस्त्र प्रहरीले फलो गर्दै आएको थियो । जोगिनीतर्फ जाने नाकाबाट गाडी प्रवेश गर्न खोजेपछि २ नम्बर ढाटमा पुगेपछि गाडीले ठक्कर दियो,’ एसपी लामिछानेले भने, ‘डियुटिमा खटिएका सशस्त्र प्रहरीले चालक र गाडी तत्काल नियन्त्रणमा लिएर बिओपी रानी विराटनगरमा लगेर गाडी खोल्दा गाँजा भेटिएको छ ।’
गाँजा तस्करी धन्दा चलाउने गिरोहले प्रहरीले पत्तो नपा होस भनेर तरकारी मुनी गाँजा हालेर लैजान लागेको पत्तो प्रहरीले पाएको छ । ‘प्रहरीलाई झुक्क्याउन तस्करी धन्दामा लागेका गिरोहले अनेक जुक्ति लगाउने गर्दछन्,’ अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘तरकारी बोकेको गाडीमा हालेर गाँजा तस्करी भएको जानकारी पाएपछि पछ्याउँदै नेपाल भारतको बोर्डर नजिकबाट समात्न सफल भएका छौँ ।’

भारततिर गाँजा तस्करी हुने गरेको गोप्य सूचना पाएसँगै ठुलो परिणाममा गाँजा नियन्त्रण लिन सफल भएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले बताए । ‘सूचना पाएसँगै हामीले विभिन्न तवरबाट त्यस क्षेत्रमा गस्ती बढाउँदै गएका थियौ, त्यसैको परिणाम ठुला परिमाणमा गाँजा बरामद गरेका छौँ,’ उनले भने । डिआइजी गिरीले गाँजा तस्करको सञ्जाल बढ्दै गएको र उनीहरूले बेलाबखत रूढ परिवर्तन गरिरहने भएकाले मातहतका आफ्ना युनिटमा नियन्त्रणका लागि योजनासहित निर्देशन दिइएको बताए । गाँजा लगाइएका क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गरी फडानी, नष्ट गर्ने, सम्भावित रूढमा गस्ती बढाउने बरामदपछि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने गरेको उनले बताए ।
कानुनले वर्जित गरेको लागु औषध बरामद गरेको र ल्याउने व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएको मोरङ प्रहरीका एसपी कोइरालाले बताए । अवैध धन्दा चलाइरहेकाहरू सीमा क्षेत्रमा सक्रिय भएको हुनसक्ने भएकोले उच्च सतर्कता अपनाइएको उनले बताए । उनले भने, ‘लागु औषध ओसारपसार लगायतका अवैध धन्दा नियन्त्रणमा लिन २४ घण्टा नै विशेष टोली परिचालन गरिएको छ ।’ सीमा क्षेत्रबाट हुनसक्ने सबै खालका अवैध गतिविधि र गलत धन्दा नियन्त्रणमा लिन सक्रियतापूर्वक निगरानी बढाइएको उनको भनाइ छ ।
पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुने गरेको छ । बारीमा किसानले १ किलोको २५ सय देखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार पुग्छ भने भारत पुग्दा ४० देखि ५० हजार भन्दा बढीमा कारोबारी हुने भएकोले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।


