विराटनगर ।प्रदेश १ प्रदेशसभाका सांसद सर्वध्वज साँवाले प्रदेश नामकरणमा मतविभाजन हुँदा गोप्य मदतानको व्यवस्था गर्न माग गरेका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकमा नेकपा एमालेका सांसद साँवाले नामका बारेमा पार्टीले एउटा डण्डा चलाउने र जनताले अर्को डण्डा चलाउने अवस्था रहेकोले गोप्य मतदान गर्नुपर्ने माग गरेका हुन् ।
बैठकको शून्य समयमा आफ्नो धारण राखेका सांसद साँवाले सांसदहरु दोहोरो चेपुवामा परेको भन्दै गुहार नै मागेका थिए । ‘गुहार…. गुहार… गुहार… हामीलाई बलीको बोका बनाउन खोजियो । हामी खतरामा छौं, हामीलाई बचाउनोस्,’ उनले भने ‘प्रदेशको नाम ‘कोसी’ राख्न पार्टीले डण्डा चलाउने अनि जनताले पहिचान नराखे देखाइदिने भनिरहेका छन् र हामी घेराबन्दीमा परेका परेका छौं ।’
पार्टीले भनेको कोसीलाई नमान्दा भोलि टिकट दिन्न भन्ने र किरात–लिम्बुवान पहिचानलाई नमान्दा जनताले चुनावमा देखाइदिन्छु भन्ने दोहोरो घेराबन्दीका कारण खतरामा परेको साँवाको भनाइ थियो । नामकरणलाई लिएर सडकमा भएको आन्दोलनबाट समेत आफूहरुलाई समस्या भएको भन्दै उनले गोप्य मतदान वा नामका लागि प्रदेशमा जनमत सङ्ग्रह गर्ने व्यवस्था मिलाउन माग गरे ।
बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नामकरणका लागि संसद बाहिर निरन्तर नाराबाजी भइरहेकोले नाममा साझा धारणा बनाउन विलम्ब गर्न नहुने बताए । ‘सात प्रदेश मध्ये १ नं को नामकरण बाँकी छ । बाहिर नाराबाजी भइरहेको छ । हामी दलहरू चुप लागेर बसेका छैनौं,’ उनले भने ‘दलहरुबीचको छलफलमा एकल पहिचान, बहुपहिचान र साझा पहिचान गरी तीन खालका कुरा प्रमुखरुपमा उठेका छन् । छिट्टै सहमतिमा पुगेर सबैलाई मान्य हुने नामको खोजी भइरहेको छ ।’
नेता कोइरालाले हरेक वर्ष हुने मलखादको अभाव अन्त्य गर्न प्रदेश सरकारले पनि पहल गर्नुपर्ने बताए । ‘हजुरबुवाको पालादेखि नातिको पालासम्म हामीले मदखादको अभाव भएको सुनिरहेका छौं, यो किन हुन्छ र अहिले प्रदेश १ मा मलखादको अवस्था के छ सरकारले सदनलाई जानकारी गराओस्,’ उनले भने ‘सरकारले विभिन्न आयोजनाको नाममा जग्गा रोक्का राख्दा जग्गाधनीले उब्जाउ गर्न र बेचबिखन गर्न नपाएको अवस्था अन्त्य गर्न प्रदेश सरकारले पहल गर्नुपर्छ, संघीय सरकारको आयोजना भएपनि हामीले चासो दिनुपर्छ ।’ उनले प्रदेशमा कोभिडको अवस्था, खोपको अवस्था र स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालले बन्द गर्दा सरकारी अस्पतालहरुमा परेको असरको बारेमा पनि सदनलाई जानकारी गराउनु पर्ने बताए ।
आइतबारको बैठकमा प्रदेशसभा सदस्य अम्बिका थापाले सरकारी कार्यालयहरुमा कवाडी सामानको थुप्रो लागेपनि बिक्री नभई नोक्सानी भइरहेको भन्दै कानुन बनाएर बिक्री गर्ने वातावरण बनाउन माग गरिन् । सांसद इन्द्रमणि पराजुलीले धनकुटामा गठबन्धन सरकारको आतंक बढेको भन्दै विरोध गरे । स्थानीय पालिकामा करारमा नियुक्त भएका कर्मचारीहरु हटाएर स्थानीय पालिकाले सर्वसाधारणको रोजगारी खोस्ने अमानवीय कार्य गरेको भन्दै विरोध जनाए ।
सांसद जसमाया गजमेरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको नाममा सार्वजनिक यातायातले जथाभावी भाडा असुलेकोले अनुगमन गर्न आग्रह गरिन् । सांसद विमल कार्कीले प्रधानन्यायाधीश विरूद्धको महाअभियोग अघि बढ्न नसक्नुको कारण माग गर्दै कसैले पनि संविधानको दुरुपयोग गर्न नहुने विचार व्यक्त गरे । सांसद राजकुमार ओझाले स्वास्थ्य बिमा बापत सेवा लिनबाट जनता बञ्चित भएको सरकारको ध्यानकर्षण गराउँदै सरकारी अस्पतालमा सेवा विस्तार गर्न आग्रह गरे । सांसद लोकप्रसाद संग्रौलाले पूर्वपश्चिम राजमार्गको ठाउँठाउँमा ठूला खाल्डा पर्दा जोखिम बढेको भन्दै त्यसको मर्मत सम्भार गर्ने तर्फ ध्यान दिन आग्रह गरे ।
आइतबारको बैठकमा प्रदेश सञ्चार माध्यमका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६८ मा उठेका प्रश्नहरुको यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जवाफ दिएपछि सैद्धान्तिक छलफल सकिएको छ । उक्त विधेयकमाथि ७२ घण्टाभित्र संशोधन दर्ता गर्ने समय दिइएको छ ।
बैठकमा पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक प्रदेशसभामा टेवल गरिन् ।

