विराटनगर । अर्को सूचना जारी नभएसम्म बन्द गरेको विराटनगरस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालि आइतबारदेखि संचालनमा आएको छ । हस्पिटलले आइतबार एक सूचना जारी गर्दै संचालनमा आएको जानकारी गराएको हो ।
आन्तरिक द्धन्द्ध भएपछि बन्द भएको हस्पिटल एक सातापछि संचालनमा आएको हो । हस्पिटल पुरानै संचालकले संचालनमा ल्याएको छ । संचालनमा आएको हस्पिटल बीमा कार्यक्रमलाई निरन्तार दिदै सुरू गरेको हस्पिटलका प्रबन्धक निर्देशक अजय यादवले जानकारी दिए ।
‘यस अस्पताल संस्थापक सँग विशाल अग्रवालको सम्झौता भइ संचालन भएको र अचानक बिना जानकारी विशाल अग्रवालले यस अस्पतालको विभिन्न सामान, प्रशासनिक र आर्थिक कारोबारको सम्पूर्ण कागजात, कम्प्युटरसहित अस्पताल छोडी सम्र्पक विहीन हुनुभएकोले निज उपर कानुनी प्रक्रिया अगाडी बढीसकेकोले आज मिति २०७९÷०४÷ ८ गते देखी संस्थापक पक्षत्रबाट बिमा कार्यक्रमसहित यस एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रा.लि. संचालनमा रहेको सम्पूर्ण महानुभावहरुमा जानकारी गराउँदछौं,’ हस्पिटलले जारी गरेको सूचनामा उल्लेखछ ।’

५० शैय्याको अस्पताल अजय यादवसँग सम्झौता गरेपछि कोशी अस्पतालमा कार्यरत सर्जन डा. विशाल अग्रवालको टिमले संचालन गरेको थियो । मासिक ५ लाख र ५ लाख रूपैयाँ नाफा दिनुपर्ने सर्त राखेर २०७८ पुस २२ गते सम्झौता गरेपछि डा. अग्रवालले ढेड वर्षसम्मको लागि भाडामा लिएका थिए । तर, अग्रवालले प्रशासन प्रमुखको जिम्मेवारी लिएर संचालन गरेको ६ महिना पनि पुग्न नपाउँदै हस्पिटल बन्द भएको थियो । अग्रवालले सम्झौता गरे अनुसार पैसाँ नदिएको र उल्टै अस्पतालको उपकरणहरु लिएर सम्र्पकविहनी भएको यादवको आरोप छ । बन्द भएको हस्पिटल पुरानै संस्थापन समूहले संचालनमा ल्याएको हो ।

