विराटनगर । प्रदेश नं. १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । गत असार १९ गते बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थगन भएको बैठक बस्न लागेको हो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । सरकार र दलहरुले यो अधिवेशनमा प्रदेशको नामकरण गर्ने बताएपनि अहिलेसम्म नामबारे सहमति जुटेको छैन ।
आजको बैठकमा प्रदेशसभामा छलफलमा रहेको प्रदेश सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई टेबल गरि छलफल अगाडि बढाउने संभावना रहेको छ ।
बैठकको कार्यसुची कार्यव्यवस्था परमर्श समितिको बैठकपछि तय हुनेछ । सभामुखको अध्यक्षतामा रहने समितिको बैठक प्रदेशसभा बैठक अगाडि बसेर कार्यसुची तय गर्ने बताइएको छ ।

