विराटनगर । प्रदेश १ नेकपा (माओवादी केन्द्र)को बैठकले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पराजयको ५ कारण पहिचान गरेको छ ।

सुनसरीको इटहरीमा शुक्रबार सम्पन्न प्रदेश कमिटिको पूर्ण बैठकले चुनाव हारका ५ कारण औंल्याएको हो । जसमा सांगठनिक अवस्था मजबुद नहुनु, काँग्रेसको गुटगत झगडाले गठबन्धन प्रभावकारी नहुनु, कतिपय उम्मेद्वार छनौटमा कमजोरी रहनु, कतिपय तहमा अन्तरघात हुनु र उम्मेद्वारी घोषणा तथा गठबन्धनको निर्णय ढिलो हुनु रहेका छन् ।

बैठकमा माओवादीका १४ जिल्लाकै जिल्ला समन्वय समितिका संयोजकहरुले रिपोर्टिङ गरेका थिए । सोही रिपोर्टिङका आधारमा प्रदेश समितिले हारका कारण ठोस गरेको हो । यस्तै माओवादी केन्द्रले अब आगामी हुने संघ र प्रदेशको निर्वाचनमा केन्द्रीत हुने निर्णय पनि गरेको छ ।

जसअनुसार माओवादीले प्रदेशका २८ प्रतिनिधिसभा र ५८ प्रदेशसभा निर्वाचन क्षेत्रमा संयोजन समिति गठन गरेको छ । अब निर्वाचनसम्म पार्टीका सबै गतिविधि त्यही समितिबाट हुने माओवादी केन्द्रले जनाएको छ । निर्वाचन क्षेत्रीय कमिटीका प्रमुख र उपप्रमुख तोक्दै निर्वाचन अबधिभर पालिका कमिटिले संगठनको आन्तरिक काम मात्र गर्नेगरि निर्णय गरिएको माओवादी केन्द्रका प्रदेश सचिब गणेश उप्रेतीले जानकारी दिए ।

प्रदेश निर्वाचन क्षेत्र कमिटी सिधै प्रदेश कमिटीसँग उत्तरदायी हुनेछ । क्षेत्रीय कमिटिले नै निर्वाचनको योजना निर्माण गर्ने, उम्मेदवार सिफारिस गर्ने र संगठन परिचालनको काम गर्ने माओवादीले जनाएको छ ।

प्रदेश कमिटिका उपाध्यक्ष शिवकुमार डाँगीका अनुसार बैठकले निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति, जनवर्गीय संगठन, जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको भेला तथा बैठकको मिति पनि तोकेको छ । यस्तै निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भेला र अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गर्दै माओवादीले जनप्रतिनिधिलाई ५ वर्षे कार्ययोजना निर्माण गर्न निर्देशन दिएको छ ।

माओवादी केन्द्रले खाली रहेको प्रदेश समिति सदस्यको स्थानमा नयाँ सदस्यहरु मनोनित गर्नुको साथै प्रदेश समितिको सचिवालय गठन पनि गरेको छ ।

प्रदेशको नाम किरात–कोशी
प्रदेश १ को नामाकरणको बहस चलिरहेको बेला नेकपा (माओवादी केन्द्र) प्रदेश समितिले किरात–कोशी नाम हुनुपर्ने अडान लिएको छ । बैठकमा प्रदेश १ का माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादीको एजेण्डा एकल पहिचान भएपनि प्रदेशसभाको समिकरण, दलहरुको अडान र वस्तुगत अवस्थाको आधारमा किरात–कोशी नाम लिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका थिए ।

आङ्बोको उक्त प्रस्तावलाई प्रदेश १ का माओवादी अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले पनि समर्थन जनाउँदै थप व्याख्या गरेका थिए । त्यसपछि किरात कोशीमा जाने औपचारिक निर्णय गरेको माओवादीले जनाएको छ ।

बैठकमा जिल्ला संयोजकहरुले रिपोर्टिङ पेश गर्दै पार्टीको अवस्थाको व्रिफिङ गरेका थिए । माओवादी केन्द्र झापाले स्थानीय तह निर्वाचन हार्नुमा काँग्रेसभित्रको लफडा र आफ्नै पनि अन्तरघात भएको बताएको छ । झापा जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य (अग्नी)ले पार्टीका ३४ प्रदेश सदस्यहरु कार्यरत रहेको वडाहरु सबै हारेको भन्दै पार्टीका केन्द्रीय नेता नै आफ्ना उम्मेदवार हराउन लागेको भन्दै छानविनको माग गरेका थिए ।

मोरङका जिल्ला समन्वय समिति संयोजक विजयकुमार विश्वासले आन्तरिक एकता नभएकोले पनि गठबन्धन प्रभावकारी नभएको र नतिजा आउन नसकेको बताए । उनले मोरङमा गठबन्धन असफल भएको रिपोर्ट पेश गरे । यसपटक २०७४ को मत पनि सुरक्षित गर्न नसकिएको र रङ्गेलीमा २ हजार २ सय पार्टी सदस्य हुँदा पनि प्रमुखलाई १ हजार ३ सयमात्रै मत आएकोले छानविन हुनुपर्ने उनको भनाइ थियो ।

उदयपुरमा भने विगतमा भन्दा सुधार भएको रिपोर्टिङ भएको छ । यस्तै पाँचथरमा गठबन्धन सफल भए भएपनि काग्रेसको अन्तरघातको कारण कतिपय स्थानमा आफूहरु पीडित बन्नुपरेको रिपोर्टिङ भएको छ । धनकुटामा काँग्रेसको चुनाव चिन्ह लिएर लडेकाहरु काँग्रेस नै बन्ने खतरा भएको रिपोर्टिङ पेश भएको छ । खोटाङमा गठबन्धन सापेक्षित सफल भएपनि पार्टीभित्रको आन्तरिक एकता राम्रोसँग नहुँदा केही ठाउँमा हार व्यहार्नुपरेको रिपोर्टिङ भयो । यस्तै भोजपुरमा सापेक्षित सफल भएको रिपोर्टिङ भएको छ ।