विराटनगर । भारततर्फ लैजान लागेको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विराटनगर – १८ बुध नगरबाट बिहीबार राती नियन्त्रणमा लिएको हो ।
तेस्रो मूलकबाट आयत भएको सुपारी नेपाल ल्याएर भारततर्फ तस्करी हुन लागेको आशङ्कामा प्रहरीले आठ ट्रक सुपारी नियन्त्राण्मा लिएको हो । नियन्त्रणमा लिएको सुपारी इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए । ‘ठुलो परिमाणमा सुपारी गएपछि अनुसन्धानको लागि नियन्त्राण्मा लिएको हो,’ डिएसपी कार्कीले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप अनुसन्धानपछि बाँकी कुरा खुल्नेछ ।’ प्रहरीले नियन्त्रणमा लिएको सुपारीले सम्पूर्ण कागजपत्र रहेको छ । तर, यदि ठुलो परिमाणमा निर्यात हुन लागेको सुपारी नेपाली उत्पादन नभएर तेस्रो मूलकबाट आयत भएर नेपाल ल्याएपछि भारततर्फ लैजान लागेको हुनसक्ने भएकोले त्यसको लागि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।
तेस्रो मुलुकबाट आयत गरेको सुपारी किन्दा प्रतिकिलो बढीमा चार सय रुपैयाँ पर्छ । त्यति मूल्यमा किनिएको सुपारी ल्याएर स्थानीय व्यापारीलाई प्रतिकिलो ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । भारतमा प्रतिकिलो सुपारीको ७ सय रुपैयाँ पर्छ । आयातकर्ताले भने प्रायः स्थानीय व्यवसायीलाई सुपारी दिँदैनन् । उनीहरूले सीधै सीमा क्षेत्रका व्यापारी र क्या रिङ गर्नेको गोदाममा सुपारी पु¥याउँछन । क्या रिङ व्यवसायीलाई भारतको ठाउँअनुसार प्रतिकिलो ४० रुपैयाँसम्म भाडा दिने सर्तमा सुपारी दिन्छन् । क्यारिङवालाले तोकेको ठाउँमा सुपारी पु¥याएपछि उताका व्यापारीले हुन्डीमार्फत रकम पठाइदिन्छन् ।
भारतले नेपालबाहेकका मुलुकबाट आयात प्रतिबन्ध गरेको सुपारी इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाबाट नेपाल ल्याएर नेपालबाट खुला सीमाको फाइदा उठाएर भारत तस्करी हुने गरेको छ । यहाँका सुपारी खेती गर्दै आएका कृषकका अनुसार भारतमा तस्करी गर्नकै लागि हरेक वर्ष सुपारी नेपाल भित्राउने गरिएको छ । नेपालमा उत्पादन भएको सुपारी बिक्री नहुने अवस्था हुँदा पनि सुपारीको आयातमा ठुलो विदेशी मुद्रा बाहिरिने गरेको छ ।
बजेट भाषण हुनभन्दा अगाडी झापाका व्यापारीहरूले आयत गरेको सुपारी भारत लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । अहिलेसम्म सुपारीको मालिक प्रहरीको सम्पर्कमा आएका छैनन् । प्रहरीले नियन्त्रणमा लिएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरमा सुपारी लोड गरेको ट्रक रहेको छ ।

