संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुखले नियम विपरित श्रीमतीलाई काज सरुवा दिएको खुलेको छ । खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दिपकमणी घिमिरेले नियम वितरित काज सरुवा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
खाँदबारी नगरपालिका –७ स्थित मंगलादेवी माध्यमिक विद्यालयमा कार्यरत पत्नी उमा गौतम घिमिरेलाई पहुँचका आधारमा काज सरुवा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । शिक्षक सरुवा भएपछि विद्यालयको शैक्षिक क्रियाकलाप प्रभावित हुने हुँदा विद्यालयलाई सट्टा शिक्षक नियुक्ति गर्न ३ लाख रुपैयाँ दिने आश्वासन दिएकाले विद्यालय व्यवस्थापनले उनलाई काज सरुवा दिने निर्णय गरेको खुलेको छ ।
गौतम सरुवा भइ गएको ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका –८ लुभु महालक्ष्मी माध्यमिक विद्यालयले ‘पदाधिकार रहेको विद्यालयबाट नै तलव भत्ता खाने गरी’ भन्ने शर्तमा काज सरुवाको स्वीकृति दिएकोले पदाधिकार रहेको मंगलादेवी माध्यमिक विद्यालयले नै तलब भत्ता भुक्तानी गर्दै आएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ललितपुरले २०७८ पुस १२ गते महालक्ष्मी माध्यमिक विद्यालयमा खटाएको थियो । गौतमको सरुवामा खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख घिमिरेको मुख्य भूमिका रहेको बताइन्छ । उता खाँदबारी नगरपालिका शिक्षा प्रमुख दिपकमणी घिमिरेले नीति नियम अनुसार नै काज सरुवा दिएको बताए । सरकारले आफ्ना कर्मचारी जुनसुकै बेला जतासुकै खटाउन सक्ने शिक्षा शाखा प्रमुख घिमिरेले बताए । विद्यालय व्यवस्थापन समितिको निर्णय र सहमति अनुसार नै काजमा खटाइएको शिक्षा शाखा प्रमुख घिमिरेले दावी गरे ।
पहुँचका आधारमा काज सरुवा गरेर विद्यालयलाई दोहोरो आर्थिक भार बनाएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् । सरुवा भइ जाने र सरुवा दिने विद्यालय दुवै ब्यवस्थापन समितिको स्वीकृति, सम्बन्धित स्थानीय तहहरुको स्वीकृति र शिक्षा समन्वय इकाईहरुको लिखित सहमतिमा मात्र सरुवा गरिने विद्यालय शिक्षकको सरुवा प्रणाली छ । तर, गौतमका हकमा यी सबै बाधा पार गरेर राजधानीको विद्यालयमा आफ्नो जागिर सरुवा सम्भव भएको छ ।
विद्यालय व्यवस्थापन र नगरपालिकाको शिक्षा शाखा प्रमुखबीचको सोही सहमति अनुसार विद्यालयले विज्ञापन खुलाएर ६ महिनाका लागि संगीता राईलाई सट्टा शिक्षकको रुपमा राखेको थियो । नगरले दिएको बजेट अनुसार नियुक्ती पाएकी संगीता राईको असार १३ गते करार अवधि सकिएको मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र श्रेष्ठले बताए । यस प्रकरणको वास्तविकताका बारेमा कुराकानी गर्दा मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र श्रेष्ठले ‘विशेष परिस्थितिले गर्दा बाध्य भएर काज सरुवाको सहमति दिएको’ बताए । व्यवहारिक र मानवीय संवेदनाका हिसावले काज सरुवा दिएको र विद्यालयको शैक्षिक क्रियाकलापलाई असर नपर्ने गरी स्रोत व्यवस्थापनको सहमति भएपछि काज सरुवाको सहमति दिएको प्रअ श्रेष्ठले बताए ।
गौतमले पारिवारिक समस्या देखाउँदै गत पुसमा तीन महिनाका लागि काज सरुवाको सहमति माग गर्दै निवेदन दिएको प्रअ श्रेष्ठले बताए । सोही अनुरुप विद्यालयले पहिलो पटक तीन महिनाको काज सरुवा दिएको थियो । व्यवस्थापन समितिले गौतमलाई बढीमा ६ महिनाका लागि काजका लागि अनुमति दिएको विद्यालय अध्यक्ष महेन्द्र आले मगरले बताए । नीतिगत हिसावमा काज नपाउने भए पनि व्यवहारिक हिसावमा काज सरुवा दिएको अध्यक्ष आलेले बताए । तर, तीन महिना पछि पनि उनी विद्यालय नर्फिएपछि पुन तीन महिना काज थप गरेको थियो । अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा काज सरुवा गरेको समिति का सदस्यहरुको गुनासो छ ।