विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले कसैलाई लाग्दैमा संघीयता खारेज नहुने बताएका छन् ।

विराटनगरमा मंगलबार प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधान सहमतिमा बनेकोले कुनै एउटाले चाहदैमा संघीयता खारेज नहुने बताएका हुन् । ‘संविधान हामीले सहमतिमा बनाएका हौं, हामी सहमति भन्दा बाहिर छैनौं,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ‘केही व्यक्तिहरुलाई त्यस्तो लागेर छलफल गरे होलान् तर, कसैलाई खारेज गर्नुपर्छ भन्ने लाग्दैमा त्यस्तो हुँदैन । हाम्रो संविधान संशोधनीय छ तर एउटाले चाहेर मात्र हुने कुरा होइन ।’

सम्पादकहरुसँगको कुराकानीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयताका विषयमा बोलेको कुरालाई केही मिडियाले तिललाई तहाड बनाउन खोजेको उनको भनाइ थियो । ‘त्यो छलफलमा म पनि सँगै थिएँ, त्यहाँ बोलेका विषय सबै मैले सुनेको छु । अब कसले के टिपेर लग्यो हामीले जान्ने कुरा भएन । तर, अध्यक्षले त्यस्तो बोल्नुभएको होइन,’ नेता पोखरेलले भने ।

अर्को प्रसङ्गमा नेता पोखरेलले गोपनीयताका कारणले गर्दा नेकपा एमालेका अर्थ तथा योजना विभागका सदस्य एम.अधिकारीको फोटो सार्बजनिक नगरेको प्रष्टीकरण दिएका छन् । यतिधेरै बिबाद हुँदा पनि गभर्नरले नैतिकता नदेखाएको र एमालेले एम अधिकारीको फोटो किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा नेता पोखरेलले गोपनीयताको प्रसङ्ग उठाएका हुन् । ‘व्यक्तिले आफ्नो के हो भनेर पोजिशन बताएका छन्, सम्बन्धित दलले आफ्नो पोजिशन बताएको छ,’ उनले भने, ‘भनेपछि त्यसमा अरु किन खनजोत धेरै ?’ उनले राज्य सञ्चालनसँग गासिएका कुरामा गोपनीयता हुने भएकोले एम.अधिकारीको गोपनीयता कायम गरेको बताए । ‘गोपनीयता हुुँदैन कतिपय राज्य सञ्चालनसँग गासिएका कुरामा ?’ उनले भने ‘ राजनीतिक दलहरुभित्र यस्ता कतिपय कुराहरु हुन्छन्, सबै सार्बजनिक गर्नुपर्छ भन्ने हुन्छ ? हुदैन नी !’

नेपाली काँग्रेसको बैठकले आगामी प्रदेश तथा संघीय चुनावमा गठबन्धन बनाउने निर्णय गरेको विषयमा उनले एमाले चुनावी प्रतिस्पर्धाका लागि तयार रहेको बताए । ‘सके एक्लाएक्लै नसके गठबन्धन बनाएर चुनावमा आउँदा हुन्छ भनेर हामीले भनिआएकै छौं,’ पोखरेलले भने ‘हामी देशव्यापी गठबन्धन गरेर होइन स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर चुनावमा जान्छौं ।’

वाम तालमेल गरेर चुनावमा जाने सम्भावना नभएको पनि उनले बताएका छन् । ‘वाम मोर्चा वा तालमेल भन्ने शव्द प्रिय लागेर मात्र भएन । वाम सरकार ढालेर अर्काे सरकार बनाउनेहरू वाम हुन् कि हैनन् भन्ने प्रश्न पनि छ त्यसैले आगामी चुनावमा वाम तालमेल हुने सम्भावना म देख्दिन ।’