अनन्तराज न्यौपाने
नेपाली काङ्ग्रेसका परिकल्पनाकार, संस्थापक र यस पार्टीका सिद्धान्त, विचार र आदर्शका प्रणेता आदि जे भने पनि त्यसका मूल पुरुष बीपी कोइराला हुन् । बीपीले सम्पूर्ण नेपाली काङ्ग्रेसका लागि सुदूर भविष्यसम्म पुग्ने पर्याप्त सिद्धान्त र विचार दिएर गएका छन् । तर हिजोआजका काङ्ग्रेसी ठुटे नेताहरू बीपी पढ्दैनन् । बीपीलाई बुझ्दैनन् । बीपी चिन्तनमा छलफल गर्दैनन् । पढ्ने, बुझ्ने र विमर्श गर्ने सोच पनि राख्तैनन् । दुःखको विषय हो, त्यसैले बीपीका सिद्धान्त विपरीत आज धेरै काङ्ग्रेसी जन आफ्ना विचार व्यक्त गरिरहेका छन् । नेपाली काङ्ग्रेस पार्टीले पनि बीपीका राजनीतिक साहित्यको सङ्ग्रह प्रकाशित गरेन । त्यसका बारेमा देशव्यापी गहन प्रशिक्षण चलाएन । यसकाकारण अधिकांश नेता कार्यकर्तामा पार्टीका आदर्श र सिद्धान्तका बारेमा जानकारी नै हुनसकेन ।
बीपीले सर्वप्रथम २००३ सालमा भारतमा नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन गरे । केही समयपछि सुवर्ण शमशेरको नेपाल प्रजातन्त्र काङ्ग्रेस पनि क्रियाशील हुनथाल्यो । पछि २००६ साल चैत २७ गते दुबै पार्टी एक भए र नेपाली काङ्ग्रेस नामकरण गरियो । यसका झन्डामा रहेका चार तारामध्ये एक ताराको अर्थ धार्मिक स्वतन्त्रता हो । यसको परिकल्पना र प्रतिपादन बीपीले २००३ सालमै गरेका थिए । त्यस बेलापनि बीपीले नेपाललाई हिन्दु राष्ट्र बनाउने कल्पना गरेका थिएनन् । काङ्ग्रेसको यही नीति र सिद्धान्तअनुसार २००७ सालको क्रान्ति सम्पन्न भयो ।
यसैबिच राजा महेन्द्रले २०१५ सालको संविधान दिए । संविधान सभाको मागका लागि आन्दोलनरत काङ्ग्रेस त्यो संविधानमा सम्झौता गर्न बाध्य भयो । त्यो संविधान धर्मका बारेमा मौन थियो । बीपीले यही चाहेका थिए । राजा महेन्द्रले २०१७ साल पुस १ मा असंवैधानिक कू गर्दै मुलुककै पहिलो जननिर्वाचित सरकारलाई बन्दी बनाएपछि पहिलो पञ्चायती संविधान २०१९ सालमा जारी गरे । यस संविधानमा पनि हिन्दु राष्ट्र भन्ने शब्दले प्रवेश पाएन । पछि पञ्चायती संविधानमा दोस्रो संशोधन सायद २०२१ सालमा भयो । यही संशोधनदेखि पञ्चायती संविधानमा हिन्दुराष्ट्र शब्द पसाइयो । यसको उद्देश्य स्पष्ट थियो, राजा महेन्द्रले केही भारतीय धार्मिक मठाधीश र नेतालाई खुशी पारेर निरङ्कुश पञ्चायती व्यवस्था टिकाउनु थियो । त्यसपछि महेन्द्रीय सिद्धान्त र महेन्द्रीय राष्ट्रवादका रूपमा पञ्चायतका समर्थकहरू कथित हिन्दुराष्ट्र नेपालको जय गान गर्न थालेका हुन् ।
बीपी २०२५ सालमा जेलमुक्त भएपछि लगत्तै भारत प्रवासमा गए । प्रवासकै क्रममा उनी एक पटक गोरखपुर पुगेका थिए । त्यस बखत पत्रकारहरूले बीपीलाई नेपालको संविधानमा हिन्दु राष्ट्र थपिएका बारे प्रश्न गरे । बीपीले यस प्रश्नको कडा प्रतिवाद गरे । उनको उत्तर थियो, ‘के हिन्दु राष्ट्र भनेर नेपाल मनुस्मृतिअनुसार चल्न सक्छ ? नेपाल हिन्दुराष्ट्र कदापि हुन सक्तैन ।’
यसरी नेपाली काङ्ग्रेसका प्रवर्तक र सिद्धान्तकार बीपीले २००३ सालमा लिएको नीतिलाई २०२५ सालमा पनि निरन्तरता दिएको पाइन्छ । जीवनको अन्तिम समयसम्म बीपी यही सिद्धान्त र विचारमा अडिग थिए । उनलाई २०३७ सालमा एक साप्ताहिक पत्रिकाले अन्तर्वार्ता लिएको छ र हिन्दु राष्ट्रका बारेमा प्रश्न गरेको छ ।
बीपीको उत्तर छ, ‘नेपाललाई हिन्दु राष्ट्र भन्नु झेली हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राष्ट्र हुन्छ ।’
यसरी बीपीले नेपाली काङ्ग्रेसको एक ताराको अर्थ धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्ष तात्विक रूपमा एउटै हो भन्ने सन्देश दिएका छन् । राजनीति गर्नेहरूमा विकास, निर्माण र समृद्धिका एजेन्डा सकिएपछि उनीहरूको मुद्दा धर्म हुनथाल्छ । विराटनगरका पूर्व मेयर एवम् काङ्ग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको हविगत यही हो । पराजुलीले देशमा विदेशी मुद्राको सञ्चिति कसरी बढ्ला भन्ने विषयमा सोचेका र जानेका छैनन् । देशकै कच्चा र सहायक कच्चा पदार्थको प्रयोग गरेर कसरी उत्पादनमा वृद्धि गर्ने भन्ने विषयमा चिन्तन गरेका छैनन् । देशमा बाँझो पल्टिएको भूभागलाई कसरी सर्वाधिक उपयोग गरेर कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने भन्ने सम्बन्धमा उनको दिमागले काम गर्दैन । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनको निर्यात बढाएर कसरी व्यापार घाटालाई घटाउने भन्ने विषयमा उनको चिन्तन छैन । विदेसिएको युवा शक्तिलाई नेपालमै फर्काएर यहीं उद्योगधन्धा र रोजगारी वृद्धि गर्नेतिर उनको ध्यान छैन । बरु उनको मन मस्तिष्कलाई पञ्चायती धङधङीले ध्वस्त पारेको छ । महेन्द्रीय राष्ट्रवाद र धर्मवादले खिया लगाएको छ । हिन्दुराष्ट्रको प्रलाप गर्न थालेका छन् पराजुली ।
हो, नेपालमा ८० प्रतिशत हिन्दुधर्मी छन् । यति हुँदैमा यो मुलुक हिन्दुको मात्र होइन । सम्पूर्ण भाषाभाषी र धर्मावलम्बी को हो । करोडौँमा एउटा व्यक्तिपनि अल्पमतमा छ भने, उसको स्वाभिमान, आदर्श, आत्मसम्मान र आत्मगौरवको रक्षा गर्नु नै लोकतन्त्रको मर्म हो । वर्तमान संविधानको धर्मनिरपेक्ष शब्दले यही मर्मलाई आत्मसात् गर्दछ । लोकतान्त्रिक राज्य कुनै धर्म र धर्मीविशेषको हुन सक्तैन । सबैको हुन्छ । त्यसमा सबैको अपनत्व र स्वामित्व हुन्छ । मुलुकका हरेक नागरिकलाई यो देश मेरो पनि हो भन्ने भावनाको बोध धर्म निरपेक्षताले मात्र गर्न सक्छ ।