विराटनगर । असार अन्तिम साता रोपाइँ गर्न भनेर बीऊ काढेर ठिक्क परेका सयौं किसान यतिबेला घामले बीऊ डढाएपछि चिन्तामा छन् । धान रोप्ने बेलामै पानी पर्न रोकिएपछि प्रदेश १ का धेरै ठाउँमा धान रोपाइँ पुरै प्रभावित भएको छ ।
असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर नराम्ररी परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान खेतीको हब मानिने क्षेत्रमै कम मात्रामा रोपाइँ हुँदा यस वर्ष असारमा गत वर्ष भन्दा ११ प्रतिशत कम मात्रामा रोपाइँ भएको छ ।३२ असारसम्म देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल (७६ प्रतिशत) मा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
‘यसवर्ष कम मात्रामा रोपाइँ भएको छ । यसको मुख्य कारण मनसुन ब्रेक हो,’ प्रवक्ता सञ्जेलले भने, ‘यसको असर प्रदेश एक र मधेश प्रदेशमा परेको छ । मंगलबारसम्ममा मनसुन सक्रिय हुने अनुमान गरिएको छ ।’ कृषि विभागका अनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश एकमा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जबकी यी क्षेत्रमा गत वर्ष यस अवधिमा क्रमश ६९ र ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको विभागका उपसचिव महानन्द जोशीले बताए । प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर र मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर रोपाइँ योग्य जमिन छ ।
विभागका अनुसार यस वर्ष देशभर रोपाइँ योग्य खेतको क्षेत्रफल करिब २७ हजार हेक्टर बढेको छ । गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकामा यस वर्ष यस्तो क्षेत्रफल १५ लाख ४ हजार ४८६ हेक्टर पुग्ने विभागको अनुमान छ । तथ्यांक हेर्दा यस वर्ष देशैभरको समग्र रोपाइँलाई वर्षाले असर गरेको मन्त्रालयले जनाएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले रोपाइँ कम हुनुको कारणलाई नजिकबाट नियाली रहेको जनाएको छ । नार्कले आफ्ना देशभरका स्टेसन र मौसम प्रणालीलाई हेरेको र मंगलबारदेखि मनसुन सक्रिय हुने सूचना पाएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । पानी नपरेकै कारण रोपाइँ कम भएको भन्दै उनले केही दिनमै पानी पर्ने भएकाले रोपाइँका लागि तयारी गर्न किसानलाई आग्रह गरे ।
‘रोपाइँ कम हुनुको कारण पानी नै हो । अहिले दक्षिणतिर सक्रिय मनसुन मंगलबारदेखि उत्तरतर्फ सक्रिय रहन्छ,’ भण्डारीले भने, ‘प्रदेश एक र मधेशमा रोपाइँ गर्न अझै समय छ, बिग्रेको केही छैन रोपाइँ सबै ठाउँमा हुन्छ ।’ कृषि मन्त्रालयले पनि रोपाइँका लागि समय बाँकी रहेको भन्दै तराईका केही जिल्लामा पानीको अभाव मनसुनबाटै पूर्ति हुने जनाएको छ ।