सुरक्षा र विकास योजना

 भोला लम्साल

भन्ने गरिन्छ विकासका आधारशीला र शान्ति सुरक्षा, सुशासनको प्रत्याभूति देश र जनताले महसुस हुने किसिमबाट परिचालन भएन भने, विकासले गतिशिलता प्रदान गर्न सक्दैन । विराटनगरको समृद्धि र सुरक्षालाई लिएर जनस्तरबाट प्रश्न पेचिलो, घोचिलो बनेर आम नगरबासीलाई बारम्बार पोलिरहेको देखिन्छ । मुलुकको दोश्रो ठूलो शहर अर्थात् भौगोलिक क्षेत्रका आधारमा चिनिने औद्योगिक नगरि विराटनगर, विकास र सुरक्षाको दृष्टिकोणबाट संवेदनशील क्षेत्र मानिन्छ । क्षतिण सीमाना भारतसँग जोडिएको कारण पनि यो महानगरलाई सुरक्षासँग जोडेर हेर्ने गरिन्छ । तर बेलाबखत सुरक्षा संयन्त्रसँग जोडिएर विभिन्न टीकाटिप्पणी हुने गरेको पाइन्छ । विभिन्न कालखण्डमा घटेका घटनाक्रमले नागरिकहरुलाई ढुक्का साथ श्वास फेर्ने वातावरण अझ बनि नसकेको गुनासाका आवाजहरु यत्रतत्र पोखिएको भेटिन्छ ।

विराटनगर प्रदेश १ को राजधानी पनि हो । तर, यसले यतिका समय बितिसक्दा पनि नाम पाउन सकिरहेको छैन नाम दिन नसक्ने प्रदेश सरकारले विकासको पूर्वाधारलाई कसरी नागरिकको घरदैलोमा पु¥याउला भन्ने आम जनताको आक्रोश र गुनासाहरु चाङ बनेर पहाड बन्दैछ । सतवार्षिक मनाइसकेको विराटनगर महानगरपालिकाले विकासका आयोजनालाई तीव्रताका साथ अगाडि बढाउन सकेको देखिदैन । विराटनगर महागनरपालिकाले १ नम्बर प्रदेशको प्रतिनिधित्व गरेको मात्र छैन, दोश्रो ठूलो सहरको जुन गति र रफ्तार लिनु पथ्र्यो त्यसो हुन सकेन । सडक सञ्जाललाई जीवन जोड्ने नसा मानिन्छ । तर विराटनगर महानगरपालिकाको विकास निर्माणको गति र सडकको अवस्था हेर्ने हो भने अत्यन्त कमजोर मात्र होइन भत्काएका सडकहरु समयमा मर्मत र निर्माण नहुँदा नागरिकले सास्ती व्यहोर्नु पर्ने र दुर्घटनाको जोखिम मोल्नु पर्ने परिस्थिति सिर्जना भएको पाइन्छ । अव्यवस्थित घर निर्माण र जीर्ण सडक र धूलोहिलोका कारण नगरबासीहरु प्रताडित हुन पुगेका छन् । वर्षेनी डुवान हुने समस्याको दीर्घकालीन समाधान खोजी हुन पर्छ जनस्तरबाट दवाव बढेको देखिन्छ । नगरबासीको दैनिक कामकाजमा अवरोध र अस्तव्यस्त भएको देखिन्छ । त्यसतर्फ भने विराटनगर महानगरपालिका बेखबर भएको पाइन्छ ।

भत्काएको संरचनाहरु पुननिर्माण नहुँदा भित्री सडक अस्तव्यस्त मात्र बनेर पैदल हिड्ने यात्रीका लागि सगरमाथा चढुनु सरह जोखिम उठाउनु पर्ने बाध्यताको सिकास बनिरहेका छन् । महानगरपालिकाले नगरभित्र ध्वनी निषेधित घोषणा गर्ने होइन ध्वनी प्रदेषण भन्दापनि धूलोहिलो र फोहोरमैलाका कारण मुख छोपेर अनि जुत्ता चप्पल हातमा बोकेर हिड्नु पर्ने परिस्थितिको अन्त्य खोजिरहेको छन् । बढ्दो सवारी साधनका कारण सडक साघुँरिएकाले पैदल यात्रीहरु सडक काट्न नसक्ने अवस्थाबाट आम नगरबासीका लागि आकासको फल आँखातरी मर झैं भएको छ आकाशे पुल । सुरक्षितट गन्तव्य, व्यवस्थित सहर आम नगरबासीको एउटै रहर भन्ने दिव्य आकांक्षा र आवश्यकतालाई वीरबलको खिचडी बनाइदिँदा सडक दुर्घटना दिनप्रतिदिन बढिरहेको देखिन्छ ।

विराटनगरका मुख्य चोकहरुमा आकाशे पुल निर्माणको घोषणा भएको यतिका दिनसम्म कार्यान्वयनमा आउन नसक्नु, नगरबासीका लागि जुनै जोगी आएपनि कानै चिरिएको भन्ने युक्तिसँग तुलना गरेर बस्नुको विकल्प छैन । बढ्दो शहरीकरण र बढ्दो सवारी साधनका कारण धूलो, धुँवाको प्रदुषणले मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको मात्र छैन सहरलाई नै कुरुप र थोत्रो पारेको छ । आज नगरभित्र बसोबास गर्ने आम नागरिकहरु उकुसमुकुस हुँदै हरियालदी पार्कको खोजी र सहरको सौन्दर्यता बढाउन हरियाली पार्कको अवधारणा नगर र वडास्तरबाट पहिलो प्राथमिकतामा जोड दिन जरुरी छ । निर्माण भएका ग्रिन पार्कहरुको संरक्षण, प्रवद्र्धन, संवद्र्धन गर्न महानगर अगाडि सर्न आवश्यक छ । नगरको आर्थिक विकास र सामाजिक विकासका लागि विकासका पूर्वाधार निर्माणमा जोड दिँदै कार्यान्वयनमा तीव्रता दिन आवश्यक देखिन्छ । जनताको विकासप्रतिको चाहनालाई कुनै बहानामा अगाडि बढाउन सकिएन भने प्रसंशा र ताली होइन आलोचना र गाली पाइन्छ । ढिलासुस्ती विकास परियोजनाको बाधक हुन् । यसलाई चिरेर अगाडि बढ्न अब जनताका जनप्रतितिनिधहरुले कम्बर कसेर लाग्नु पर्दछ ।

विकास निर्माणमा देखिएका अवरोधलाई नसुल्झाई निर्माणले गति र रफ्तार लिन सक्दैन । समस्या कहाँ छ पहिचान गर्दै त्यसको समाधानको बाटो खोजौं । यस महानगरपालिकाले वातावरण अनुकुलको विकासका योजना लागु गर्न दूरदृष्टि सहितको रणनीति अपनाउ नितान्त आवश्यक छ । वातावरणीय तथा धरातलीय भिन्नताभित्रको विकास निर्माणका परियोजना सही दिशातर्फ जोड्न सकिएन भने नगरको योजना र वडाको योजना कागजमा मात्र सीमित रहने देखिन्छ । यस महानगरपालिका विकास नीति तथा लक्ष्य अनुसारको गति लिन समाजका हरेक विषयवस्तुलाई नजिकबाट चिन्न सक्ने धरातललाई बुझ्न सक्ने ज्ञान, दक्षता, सीप अनि आँट, हिम्मतका साथ अगाडि बढ्न अति आवश्यक देखिन्छ । यसरी थालिएका सहरी विकास निर्माणका कार्यले स्थानीय आवश्यकताको प्राथमिकीकरण गरी विकासका कामलाई दवाव, अभाव, रवाफबाट प्रभावित नभई योजनालाई अगाडि बढाउन आवश्यक छ । त्यसले मात्र महानगरको दीगो विकासलाई गति दिन र चलायमान बनाउन सक्दछ ।

जनअपेक्षालाई प्राथमिकतामा राखेर ल्याएका विकासका योजनाले मात्र समृद्ध विराटनगर, सुन्दर, सफा विराटनगरको खाका तयार हुने विषयमा दुईमत छैन । महानगरले सहरी विकासका पूर्वाधारहरुलाई महत्वकांक्षी योजना तयार पारेर कार्यान्वयन तर्फ अगाडि बढाउन जरुरी देखिन्छ । विराटनगरभित्र बगने नदीहरुको संरक्षणतर्फ भने ध्यान पु¥याएको देखिदैन । नगरको पूर्वतर्फ सिंघिया खोला र पश्चिम तर्फबाट बग्ने केशलिया खोलाले नगरको पहिचानका रुपमा ति नदीहरुलाई लिन सकिन्छ । नदीको सरसफाइ र तटबन्धनको काम अगाडि बढाउन सके धेरै बस्तीहरु नदीको कटानबाट बच्ने मात्र छैन नदीका किनारमा बसोबास गर्ने जनता भय र त्रासबाट बच्ने अनि विस्थापित हुनुपर्ने अवस्था रहदैन । वर्षेनी कटानबाट आक्रान्त बनिरहेका नागरिकको सुरक्षा र बसोबासको ग्यारेन्टी गर्न सकेमात्र नागरिकले राहतको सास फेर्ने थिए । र लोकतन्त्तको अनुभूति र सुशासनको प्रत्याभूतिको आभाष पाउने छन् । त्यस कारण जनप्रतिनिधिहरु दृढ संकल्प, दृढ आत्मबल, दृढ इच्छाशक्तिका साथ विकास निर्माणका योजनालाई जनताको घरदैलोसम्म पुग्ने गरी नागरिकलाई विकासको अनुभूति हुने स्तरबाट योजनालाई अगाडि बढाउन अब ढिला नगरौं । विकासप्रेमी, जनताप्रेमी बनेर पाँच वर्षे कार्यकाल सफल र नमूना बनेर जनताको मन मस्तिष्कमा बस्ने तवरबाट इमान्दार बनौं ।

bholalamsal15@gmail.com

आइतबार, ०१ साउन, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर