विराटनगर । सातमध्ये छ वटा प्रदेशले आफ्नो नाम टुंग्याइसक्दा पनि प्रदेश नं. १ को प्रदेशसभाले नामकरणको जिम्मेवारी पूरा गर्न सकेको छैन । प्रदेशसभा गठन भएको ५ वर्ष पुग्नलाग्दा प्रदेश सरकारको नेतृत्व तीन पटक परिवर्तन भएपनि नामकरणको विषय प्रदेशसभामा प्रवेश नै गरेको छैन ।

नेकपा एमालेका नेता शेरधन राईले पहिलो मुख्यमन्त्रीको रुपमा साढे ३ वर्ष प्रदेशको नेतृत्व गरेर । नेकपाको दुईतिहाई बहुमतसहितको सरकारको नेतृत्व गरेका उनले प्रदेशको राजधानी टुंगो लगाउन पहल गरेपनि नामकरण गर्न सकेनन् ।

नेकपा एमाले विभाजन हुने अवस्थामा पुगेपछि एमालेकै भीम आचार्य दोस्रो मुख्यमन्त्री भए । छोटो समयावधिका लागि मुख्यमन्त्री भएका उनले पनि प्रदेशको नामकरणबारे पहल गरेनन् । नामका सन्दर्भमा विभिन्न दल तथा समुदायको आ–आफ्नै अडान रहेकाले उनी विवादमा पर्न चाहेनन् ।

आचार्यपछि एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । उनले प्रदेशको नामकरणका लागि प्रयास थालेको बताएपनि त्यसले औपचारिकता पाएको छैन । प्रदेशसभाको चालू अधिवेशनबाटै प्रदेशको नामकरण हुने दावी सरकार र विपक्षमा रहेका नेताहरुले गर्दै आएपनि ठोस पहल भएको देखिएको छैन ।

प्रदेशसभाको पहिलो दल नेकपा एमाले र दोस्रो दल नेपाली काँग्रेसबीच नामकरणबारे सहमति हुनलागेको दावी नेताहरुले गरे । अन्य दल तयार नभएपनि अब नामकरण हुने दावी कतिपयको थियो । नेकपाा एमालेले प्रदेशको नामकरणबारे छलफल गर्न हिक्मतकुमार कार्की नेतृत्वमा बनाएको समितिले प्रदेशको नाम कोशी राख्न जोडबल गरेको छ । एमालेले गत साता मुख्यमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा त्यहि प्रस्ताव राख्यो ।

सर्वदलीय बैठकमा मौन रहेको काँग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले त्यसको भोलिपल्ट पत्रकारहरुबीच आफूहरको प्रस्ताव सप्तकोशी रहेको दावी गरे । काँग्रेस र एमाले नामकरणबारे एकमत हुने दावी नेताहरुले गरिरहेको बेला उनीहरुकै फरक–फरक प्रस्ताव मात्र आएको छैन, दलभित्रै पनि ती नामबारे एकमत नरहेको सार्वजनिक भएको छ ।

नेपाली काँग्रेसका संसदीय दलका उपनेता तथा प्रदेश सरकारमा सडक पूर्वाधार विकासमन्त्री हिमाल कार्की काँग्रेसले नामबारे कुनै निर्णय नगरेको बताउँछन् । ‘कसैले गोजीबाट निकालेको नाम काँग्रेसले ल्याएको हो भन्न सकिँदैन’ उनले भने ‘संसदीय दलको बैठकबाट मात्रै कांग्रेसले नामबारे निर्णय गर्नेछ ।’

प्रदेश १ को सबैभन्दा ठुलो पार्टी नेकपा एमालेभित्र नामबारे एकमत छैन । पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा एकथरी नेताहरुले कोशी नाम राख्नुपर्ने बताएपनि पूर्वमुख्यमन्त्री शेरधन राई यसमा असहमत रहेकोले मौन छन् । एमालेकै प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी त कोशीको कुरा नेताहरुले आफ्नो डम्फु मात्र बजाएको दावी गर्छन् । ‘संसदीय दलको बैठक बसेर के नाम राख्ने भन्ने विषयमा अहिलेसम्म निर्णय भएको छैन’ उनले भने, ‘सगरमाथाको अगाडि कोशी एउटा दह मात्रै भएकोले सबैको शिर उच्च हुने नाम सगरमाथा राख्नुपर्ने मेरो मत छ ।’

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एसलगायतका दलहरूले पहिचानको आधारमा नाम राख्नुपर्ने प्रस्ताव गरेका छन् । तर, उनीहरूबीच पनि पहिचानबारे एकमत छैन । माओवादीले पहिचानको मुद्दालाई प्राथमिकताका साथ उठाएकाले पहिचानका आधार बाहेक सोच्न नसकिने बताउँदै आएको छ । किरात प्रदेश राख्नुपर्ने पक्षमा रहेको माओवादी कोशी–किरात बहुपहिचानमा सहमत हुने अवस्था छ ।

कोशी–किरातमा सहमति जुट्ने अवस्थामा नेकपा एकीकृत समाजवादी र जसपा पनि त्यसमा सहमति हुने देखिन्छ । तर, दलहरुभित्र नामबारे एकमत नरहेकोले नामकरण यो प्रदेशसभाले गर्ने संभावना कम बन्दै गएको छ ।