मन्त्री कार्कीको निन्दनीय अभिव्यक्ति

 पुण्य पी अधिकारी

आफूविरूद्धका गतिविधि कोही कसैलाई मन पर्दैन । यो मानवीय गुण र विशेषता हो । मानिस भगवानको पुजा गर्छ । तर, उ आफैं भगवान हुन सक्दैन । भन्नुको मतलव गल्ती नगर्ने मानिस हुँदैन । तर, आफ्ना गल्ती वा कमजोरी अरू कसैले औल्याइदिएको खण्डमा त्यसविरूद्ध अशोभनीय ढङ्गले प्रस्तुत हुन्छ, भने त्यसको विरोध हुन्छ ।

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारलक्षित दिएको अभिव्यक्तिले अहिले बहस छेडेको छ । आफूलाई हानी हुने वा आफ्ना कमजोरी पत्रकारले औल्याइदिएको आरोपमा एक सम्वादका क्रममा उनले भनेछन्, “उहाँलाई अहिले तपाई लेख्दिनोस् त बलात्कार गर्‍यो भनेर । जे मन लाग्यो त्यही लेख्ने ?” मन्त्री कार्कीको यो अभिव्यक्तिपछि पत्रकारहरूले विरोध गरेका छन् ।

केही समयअघि मन्त्री कार्कीले प्रदेश १ मा प्राकृतिक विपद्जन्य घटना धेरै हुने भएकाले द्रुत उद्दारका लागि होलिकोप्टर आवश्यक भएको र प्रदेश सरकारले एउटा हेलिकप्टर किन्ने तयारी गरेको बताएपछि पत्रकारहरूले हेलिकोप्टरको आवश्यकता नभएको समाचार बनाएका थिए । पत्रकारहरूको तीव्र विरोधका कारण मन्त्री कार्कीको योजना अनुसारको हेलिकोप्टर किन्ने विषय सेलाएर गयो ।

हालैका दिनमा विराटनगर महानगरपालिका–१२ मा निर्माणाधीन एकीकृत सुकुम्वासी बस्तीको बाँकी काम सम्पन्न गर्नका लागि असार मसान्तको अन्त्यमा प्रदेश सरकारले महानगरपालिकासँग सम्झौता गरी थप ७० लाख रुपैयाँ उपलब्ध गराउने प्रयास गरेको थियो । सम्झौताका विषयमा विराटनगर महानगरपालिकाका मेयर र उपमेयर सहमत नभएपछि मन्त्री कार्कीले सम्झौताका लागि दबाव दिएको विषयमा समाचारहरू प्रकाशन भएपछि मन्त्री कार्कीको आक्रोश पत्रकारहरूमाथि परेको महसुस पत्रकारहरूले गरेका छन् ।

पत्रकारहरू कसैका स्थायी शत्रु र कसैका स्थायी मित्रु नहुने तर वास्तविकताका लागि सधैँ कलम चलाउन तयार नै हुन्छन् । केही समयअघि मन्त्री कार्कीले प्रदेशभित्र रहेका कारागारहरूको अनुगमन, कैदीबन्दीको गुनासो, न्यायिक प्रक्रियामा सहजीकरणलगायतका विषयमा गरेको छलफललाई पत्रकारहरू प्राथमिकताका साथ समाचार लेखन तथा प्रकाशन गरेका थिए । सङ्घीय सरकारले हेर्दै आएको कारागार लथालिङ्ग अवस्थामा छ । सोही अवस्थामा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले कारागारका समस्या समाधानका कारागारको अनुगमन गर्नु र समस्या समाधानका लागि पहल गर्ने प्रयासलाई पत्रकारहरूले उच्च प्रशंसा गरेका थिए । पंक्तिकारले समेत कारागारमा मन्त्रीको नजर स्वागतयोग्य भनि लेखेको थियो ।

राम्रा र अनुशरण गर्ने कामको पक्षमा सधैं पत्रकारले कलम चलाएका हुन्छन्, चलाँउछन् । न की सीमित व्यक्तिलाई मात्र फाइदा हुने गरी । कानुनीमन्त्री कार्कीले आफ्नो पहलमा प्रदेश सरकारबाट एकीकृत सुकुम्वासी बस्तीका लागि ७० लाख रुपैयाँ पठाउनु एकदमै प्रशंसायोग्य काम हो । तर, असारे विकास हुनेगरी पठाएको रकमले प्रशंसा भन्दा विवाद उत्पन्न गराएको छ । जसरी लामो कपाल भएकी छोरी मान्छेलाई अरूबेला त्यही कपालले सुन्दरको ताज दिन्छ भने त्यही कपाल खानामा परेको अवस्थामा दुरकार गर्छ । मन्त्री कार्कीले आफ्नो पहलमा राम्रो कामका लागि प्रयास गरेको भएपनि समय घर्किएपछि गरेको पहलले प्रशंसाभन्दा विवादलाई प्राथमिकता दिएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तित्वले आफ्नो पक्षमा समाचार नलेखेको भन्दै पत्रकारमाथि अशोभनीय ढङ्गले प्रस्तुत हुनुले विवादका विषयहरू सतहमा ल्याएको छ । पत्रकार अधिकारकर्मी भएका नाताले उसले सबैको अधिकारको रक्षाका लागि कलम चलाउँदछ न कि कोही एक जना व्यक्तिलाई रिझाउनका लागि कलम चलाउँछ ।

संविधानमै लोकतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी छ । तसर्थ सार्वजनिक पदमा बसेको व्यक्तिले आफूलाई फाइदा नहुने वा आफू अनुकूलका विषयवस्तुमा पत्रकारले कलम चलायो भन्दैमा आफ्नो पदीय आचरणविरूद्ध हुने गरी अभिव्यक्ति दिनु भत्र्सनायोग्य छ । पत्रकार लक्षित कानुनीमन्त्री कार्कीको अभिव्यक्ति निन्दनीय छ ।

बिहिबार, ३० असार, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर