विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीलले नेपाललाई हिन्दू राष्ट्र कायम गरि संघीयता खारेज गर्नुपर्ने माग गरेका छन् ।

काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्दै पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् ।

बैठकमा लिखित रुपमा आफ्नो भनाइ राखेका पराजुलीले वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाई नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्नुपर्ने बताएका छन् । यो एजेण्डाले कांग्रेसलाई नै हित गर्ने भन्दै उनले यसको लागि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताएका छन् ।

मंगलवारको बैठकमा पराजुलीसहित प्रकाश स्नेहीले हिन्दूराज्यको एजेण्डा बोकेर कांग्रेस जानुपर्ने बताएका हुन् । पराजुलीले अहिलेकै अवस्थाको संघीयता काम नरहेको भन्दै प्रदेशहरू खारेज गर्नुपर्ने बताएका छन् । उनले प्रदेशलाई थप बलियो बनाउने विकल्प पनि अगाडि सारेका छन् ।

मङ्गलवारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरुरी रहेको बताएका थिए ।