विराटनगर । मोवाइल चोरीको आरोपमा पक्राउ परेका एक युवकबाट प्रहरीले ८० राउण्ड गोली बरामद गरेको छ । प्रहरीले पेस्तोलमा लाग्ने गोलीसहित मंगलबार राति १८ वर्षे मोहमद प्यारेलाई पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ का १८ वर्षे प्यारेलाई प्रहरीले मोवाइल चोरीको अभियोगमा खोजी गर्दै आएको थियो । मंगलबार राति उनी पक्राउ पर्दा प्रहरीले ठूलो परिमाणमा गोली र अन्य सामानसहित भेट्टाएको थियो ।

असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोवाइल पसलबाट २९ थान मोवाइल, २ थान घडी र नगद ६१ हजार ५०० रुपैयाँ गरी ५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको थियो ।

प्रहरीले प्यारेको साथबाट गोलीको अतिरिक्त एक थान मोवाइल, २७ थान चार्जर, सटर फुटाउन प्रयोग हुने रड र फुटाएको तालासमेत बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिलाई झापा प्रहरीले हिराशतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ ।