विराटनगर । प्रदेशको नामाकरणमा सहमति जुटाउन भन्दै बसेको प्रदेश १ का दलहरुको संयुक्त बैठक अर्को बैठकमा छलफल गर्ने भन्दै टुंगिएको छ । बैठकमा नेकपा एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न जोड गरेको थियो । बैठकमा सत्ता पक्षका माओवादी र नेकपा एसले पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामाकरणको टुंगो लागि सकेको छ । प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुई तिहाई बहुमत (६२ सांसद) आवश्यक पर्छ । तर, दुईतिहाई मत जुटाउने नाम अहिलेसम्म भेटिएको छैन । मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा दलहरुले के के प्रस्ताव गरे । के नामको विषय यहि अधिवेशनमा टुंगिएला त ? यही विषयमा विराटनगरस्थित रातोपाटी सम्वाददाता अर्जुन आचार्यले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ तथा प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँगको कुराकानी ।
प्रदेशको नामाकरणको विषयमा सर्वदलीय छलफलमा के कुराकानी भयो ?
आज सरकारका तर्फबाट स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा सरकारमा रहने दल तथा प्रतिपक्षी दलका सबै नेता–नेताको बैठक बसियो । यो बैठकमा पार्टीका नेताहरु भने सहभागी गराइएन । यो पहिलो चरणको प्रारम्भीक मिटिङ हो । यो बैठकमा दलहरुले आ–आफ्ना कुराहरु राखे । सबै दलहरु आ–आफ्नो अडानमा छन् ।
कुन दलको अडान के रहेछ ?
एमालेले कोशी हुनुपर्छ भनेर स्पष्ट राखेको छ । उसले कोशीको पुरानो इतिहास, सभ्यतालाई प्रदेशको जनताले मानेको हो भनेर दाबी गरेको थियो । काँग्रेसले भने मिल्ने क्रममा कोशीको विकल्पमा जानसक्ने भन्दै प्रष्ट कुरा राखेन । नेकपा एसले पहिचानको आधारमा हुनुपर्छ भन्ने आयो । माओवादीले स्पष्ट रुपमा किराँत हुनुपर्छ भनेर राखेको छ । जसपाले यसअगाडि नै भनेअनुसारको नाम लिम्बूवान–किराँत–मधेश–शेपालुङ भनेर राखेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट मैले लिम्बुवान–किराँत वा खम्बुवान–लिम्बुवान भनेर राखेको छु । विगतमा हामीले जे भनेका छौं त्यही राखेका छौं । राप्रपाले सगरमाथा नाम राख्नुपर्ने बताएको छ । यो प्रारम्भीक छलफल हो । यो विषयलाई लिएर आ–आफ्नो दलमा लगेर छलफल गरेर बैठक बस्ने भनेर छुट्टीएका छौं । तर, कहिले बस्ने भन्ने टुंगो लागेको छैन । मुख्यमन्त्री राजेन्द्रकुमार राईले भने आ–आफ्नो नाममा अडान नलिएर विकल्पका नाममा पनि जाऔं भनेर कुरा राख्नुभयो ।
उसोभए एमालेले कोशीमा जोड गर्ने र काँग्रेसले पनि त्यसैमा सहमति गरौं भन्ने अवस्था आएको हो ?
हो । एमालेले कोशीमा जोड गरेको छ । उसको मनोविज्ञान पनि काँग्रेसलाई मनाएर जानुपर्छ भन्ने खालको देखिएको छ ।
यस्तो अवस्थामा नाम टुंगिएला त ?
गाह्रो छ । सबैले अडान छोडेको अवस्था छैन । दुईतिहाई कसैको पनि पुग्दैन । काँग्रेस र एमालेले राप्रपाको साथ लिएर जाँदा पुग्ने हो । तर, काँग्रेसमा पनि एकता छैन । गठबन्धनको सरकारमा छौं । सरकारमा रहेरै पनि प्रतिपक्षीसँग मिल्दा नैतिक प्रश्न उठ्छ नि त । त्यसकारण काँग्रेस पनि विकल्पमै जानेमा छ । कोशी नै कोशी भन्दा पनि अर्को ल्याउँदा हुन्थ्यो कि बरु मिलेर जाउँ भन्ने काँग्रेसको कुरा पनि आयो ।
एमाले कोशीको विकल्पमा जाने वा नजाने अवस्था के देखियो त अनि ?
एमालेको मनोविज्ञान कोशीको विकल्पै छैन भन्ने खालको छ । उहाँहरुले पनि कोशीको विकल्प छ भने ल्याउनुहोस् जाऔं भन्नुभएको छ । तर, हाउभाउ हेर्दा कोशीको विकल्पमा जाने खालको छैन ।
आजको छलफलबाट यही अधिवेशनबाट प्रदेशको नामाकरण टुंगिने देख्नुभयो कि भएन ?
अहिले नै सजिलै टुंगिने अवस्था चाहिं छैन । सरकारलाई पनि नैतिक दबाब छ नामाकरण गर्ने । तर, सबै जिम्मेवारी सरकाररले नै लिनुपर्छ भन्नु भन्दा पनि विगतमा हिंजो लामो समय सरकार चलाएकाहरुले पनि नसकेको हो । त्यसबेला दुईतिहाई मत थियो । प्रदेश १ मा अलिक फरक किसिमको अवस्था छ । यहाँ बहुपहिचान, बहुभाषी, बहुजाती भएको र सबैको इतिहास भएको कारणले पनि फरक छ । हिंजो मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा पनि नाम टुंगिन सकेन । अहिले पनि राजेन्द्र राई भएकै अवस्थामा नै हुनैपर्छ भन्ने चाहिं म देख्दिन । नहुँदा पनि के नै हुन्छ र ? अहिले नै सबै कुरा हुन्छ त ? हिंजो ३ वर्ष साढे ३ वर्षमा नहुने अहिले सबै कुरा गरिहाल्नुपर्छ भन्ने छैन । त्यसो भएको कारण नाम टुग्याउन सकभर कोशीस गर्ने हो ।
कोशी नै नाम राख्ने भयो भनेर एमाले आइरहने अवस्था आयो भने नामको टुंगो लाग्ने अवस्था देखिएन होइन त ?
जहाँसम्म मलाई कोशी नै भनेर एमाले आयो भने त्यो सम्भव हुँदैन होला जस्तो लाग्छ । किनभने सत्तापक्षले समर्थन गरेर जाने कुरा आउँदैन । नाम राख्ने भनेको सबैको सहमतिमा जाने कुरा हो । काँग्रेसले पनि एमालेसँग सहमति गरेर जानका लागि नैतिक संकट छ । काँग्रेसले गठबन्धनलाई लत्याएर जान पनि सक्ने अवस्था छैन । त्यति सहज चाहिं छैन ।

