विराटनगर ।नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले सात दिनभित्र प्रदेश नामकरणको विषय प्रक्रियामा प्रवेश गर्ने बताएका छन् ।
शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक राईले दलहरुबीच नामकरणका बारेमा औपचारिक छलफल सुरु भएको र दलका तर्फबाट नामसमेत प्रस्तुत भएकोले छिट्टै प्रक्रियामा लगेर टुंग्याउने तयारी भएको बताएका हुन् । उनले सोमबारसम्म दलहरुले आन्तरिक छलफल सक्ने र फेरि सर्वदलीय बैठक बसेर नामकरणको प्रक्रिया अगाडि बढाउने तयारी रहेको पनि उनले बताए ।
प्रदेश नामकरणका लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईले शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग नामकरणको बारेमा छलफल आयोजना गरेका थिए । शुक्रबारको छलफलमा दलका तर्फबाट नामको प्रस्ताव समेत गरिएको थियो । बैठकमा नेकपा एमालेले प्रदेशको नाम ‘कोसी प्रदेश’ प्रस्ताव गरेको छ । प्रमुख सचेतक राईका अनुसार नेपाली काँग्रेसले ‘सप्तकोसी प्रदेश’, नेकपा माओवादी केन्द्रले ‘किरात प्रदेश’ र एकीकृत समाजवादीले बहुपहिचानमा आधारित नाम राख्नु उपयुक्त हुने प्रस्ताव गरेको थियो । नेकपा एसले बहुपहिचानमा आधारित नाम राख्दा किरात शव्द जोड्नु राम्रो हुने प्रस्ताव गरेको थियो ।
काँग्रेसले नेपालका कोशी भन्ने नदीनै नरहेको तर्क गरेको छ । ‘हाम्रोमा भएको कोसी होइन सप्तकोशी हो । सप्तकोसीले ऐतिहासिकता, सभ्यता र पहिचान बोकेको छ । तर, कोसी नाम गरेको कुनै नदी वा पहिचान नेपालमा छैन,’ प्रमुख सचेतक राईले भने ‘ भोटेकोसी, सुनकोसी जस्ता नामहरु छन् र ती सबै मिलेपछि सप्तकोसी बनेको छ ।’
शुक्रबारको बैठकमा नेपाली काँग्रेसले कुनै प्रस्ताव नगरेको समाचार सार्वजनिक भएपछि प्रमुख सचेतक राईले पत्रकारहरुलाई बोलाएर बैठकमा नाम प्रस्ताव गरेको प्रष्टीकरण दिएका हुन् । उनले भने ‘नेपाली काँग्रेसको स्पष्ट दृष्टिकोण छ र हामीले सबैलाई मान्य हुने प्रस्ताव गरेका छौं । एकल पहिचान भन्दै कोसी र किराँत भन्नेहरु सप्तकोसीको प्रस्तावमा समर्थन गर्न आउने हामीलाई विश्वास छ ।’ यद्यपि सबै दलहरुबीच नामकरणका लागि लचकताका साथ प्रस्तुत हुनेमा सहमत भएकोले नामकरण टुंगिने सम्भावना रहेको उनको भनाइ थियो । उनले भने ‘हामी सप्तकोसीमा सबैको समर्थन हुन्छ भन्नेमा विस्वस्त छौं तर हामीपनि लचक छौं । भौगोलिक आधारमा नामकरण गर्ने भनेपनि प्रस्ताव छोड्ने पक्षको अपनत्वका लागि शव्दहरु थपघट हुनसक्छन् ।’ उनले सहमति बन्ने अवस्थामा कोसी किराँत वा यस्तै अरु नाम पनि हुन सक्ने बताए ।

