विराटनगर । विराटनगरको रोडशेष चौकमा आज राती दुर्घटनामा परी एक जना साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । भारतीय मालवाहक ट्रकको ठक्करबाट साइकल यात्री सुनसरीको बर्जु गाउँपालिका २ का सलेन्द्र रायको मृत्यु भएको हो । मृतक राजमिस्त्री रहेको प्रहरीले जनाएको छ ।

जोगबनीतर्फ जाँदै गरेको डब्ल्यु बी २३ बी ४९६१ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।  मृतकको शव कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक भारत घर भएका ५० वर्षिय संन्जय यादवलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले सवारी ज्यानमा म्याद थप गरि अनुसन्धान गर्नेछ ।

साइकल यात्रीको मृत्यु भएपछि स्थानियले ट्रक आजगनीको प्रयास गरेका थिए । ठूलो संख्यामा उपस्थिती भएको प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो । मालवाहक ट्रकले साइकल यात्रीको मृत्यु भएपछि रोडशेष चौक क्षेत्र ७ देखि ८ बजेसम्म तनाबग्रस्त भएको थियो । साढे आठ बजेपछि सडक आवगमन सहज भएको थियो ।