विराटनगर । प्रदेश १ को नामकरणका लागि सरकारले आह्वान गरेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा नामबारे छलफल भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दलका नेताहरुले नामबारे आफ्नो धारणा राखेको र अर्को बैठक तत्काल बस्नेगरि उठेको नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए ।

बैठकमा एमाले नेताहरुले प्रदेशको नाम कोशी राख्नुपर्ने अडान राखेका थिए । सत्तारुढ दलका नेताहरुले भने पहिचानको मुद्दा रहेकोले नामसँग पहिचान जोड्नुपर्ने धारणा राखेका थिए । कोशीसँग किरात जोडेर बहुपहिचानमा जानुपर्ने धारणा बैठकमा आएको र सगरमाथा नाम राख्नेबारे पनि कुरा भएको नेता कार्कीले जानकारी दिए । बैठकमा सत्तापक्षका माओवादी र नेकपा एसले भने पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए ।

‘दलहरुबीच सौहार्दपूर्ण रुपमा नामबारे छलफल भएको छ, फेरि थप छलफल गर्नेगरि बैठक सकिएको छ’ नेता कार्कीले भने, ‘आजको बैठकमा दलहरुले आ–आफ्नो धारणा राखेका छन्, अब दलभित्र थप छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको छ ।’

बैठकमा सहभागी एमाले संसदीय दलका नेता भीम आचार्यले अर्को छलफल गर्ने र यही अधिवेशनबाट नामको विषय टुंगो लगाउने सहमति भएको जानकारी दिए । ‘यहि अधिवेशनबाट नाम टुंग्याउने सहमति भयो,’ आचार्यले भने ।

संविधानमा पहिचान र सामथ्र्यका आधारमा नामको विषय टुंगो लगाउने भनेको उल्लेख गर्दै उनले पहिचानको ५ आधार भनेको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र जातीय पहिचान हुनसक्ने बताए । त्यसमध्ये एमालेले जातीय पहिचान झल्कने खालको नाम हुन नहुनेमा जोड दिएको उनको भनाइ छ । ‘हामीले जातीय पहिचानमा होइन, साझा पहिचान झल्कने गरी जानुपर्छ भन्ने कुरा राख्यौं,’ बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आचार्यले भने, ‘एमालेको साझा पहिचान मूल एजेण्डा हो । सबैको साझा के हुन्छ त्यो तपाईहरुले विश्लेषण गर्ने कुरा हो ।’

बैठकमा सहभागी प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपा संसदीय दलका नेता जयराम यादवले सबै विकल्पमा छलफलमा जान सबै सहमत भएको बताए । ‘आजको बैठक प्रारम्भिक हो,’ यादवले भने, ‘ठोस ढंगले कुनै पनि राजनीतिक दलले यही नाम भनेर एउटा नाम ल्याएका छैनन्, अहिले त्यसरी ल्याउँदा सहमति पनि हुँदैन, त्यसकारण सबैको साझा हुने गरी टुंग्याउने सहमति भएको छ ।’
नेकपा एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न जोड गरिरहेको छ । अनौपचारिक छलफलमा पनि एमालेले कोशीको विकल्प सोच्न नसकिने बताउँदै आएको छ ।

बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र प्रमुख सचेतक सूयर्माराज राई, नेकपा एमाले दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, नेकपा माओवादी केन्द्र दलका नेता ईन्द्रबहादुर आङ्बो, जसपा दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुमाया तुम्बहाम्फे र राप्रपा संसदीय दलका नेता ईन्दिरा राई सहभागी थिए ।

मुलुकका ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामाकरणको टुंगो लागि सकेको छ । प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिना मात्रै बाँकी हुँदा नामबारे दलहरु छलफलमा जुटेका हुन् । प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुईतिहाई बहुमत आवश्यक पर्छ ।

प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ३९, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना सांसद गरी ९० जना सांसद रहेका छन् । कुनैपनि नाम पारित गर्न ६१ सांसदले मत दिनुपर्छ ।