विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विराटनगर १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क निर्माणमा गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै शुक्रबार अख्तियारले विगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार आरोपमा उपमेयर कार्कीसहित, विराटनगर १५ का तत्कालिन वडाध्यक्ष असलम आलम, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, महानगरको सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर इफतेखार आलमविरुद्ध पनि मुद्दा दायर भएको छ ।
पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेमाथि पनि मुद्दा दायर गरिएको छ । महानगरमा झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल तथा कार्य सम्पन्न प्रतिवेदनका पेश गरि ती कागजात स्वीकृत गरेर भुक्तानी दिई १० लाख ५५ हजार ९७९ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
उपमेयर कार्की र विराटनगर १५ का तत्कालीन वडाध्यक्ष असलम आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने लागत अनुमान तयार गरेपनि रोलर मेसिनबाट काम गराएको र गलत मूल्याङ्कनका आधारमा ५ लाख ८ हजार ६६९ हानी गरेको अख्तियारको ठहर छ । उनीहरुमाथि सोही बराबर बिगो र जरिवानासहित मुद्दा दायर गरिएको हो ।
तत्कालीन प्रशासकीय अधिकृत अधिकारीसहित पोखरेल, प्रधान र आलमलाई १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष सुडी, सचिव आचार्य र कोषाध्यक्ष घिमिरेमाथि पनि १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ ।

