विराटनगर । राजेन्द्र राउत मनाङ–मस्र्याङ्दी क्लबका पूर्वफूटबल खेलाडी हुन् । मनाङ–मस्र्याङ्दी क्लबबाट फूटबलका खेलाडी उनी व्यवसायिक क्षेत्रमै नाम कमाउन सफल बनेका छन् ।

राउत खेलाडी बन्न चाहन्थे । तर, बुवाले उनलाई व्यवसायी बनाउन चाहे । बुवा दलबहादुर राउतको कुरा काट्न नसकेपछि राजेन्द्रले खेलकुद र व्यवसाय सँगसँगै गरे । उनी दुवैतिर सफल पनि भए ।

शुरूआतताका सफल भइन्छ कि भइँदैन भन्ने चिन्ताबीच २०४२ सालमा उनले काठमाडौंमा गार्मेन्ट उद्योग सञ्चालन गरे । राजेन्द्रले त्यही गार्मेन्ट उद्योग २० वर्षसम्म सञ्चालन गरे । १ हजार २०० मजदुरलाई त्यो समयमा गार्मेन्ट उद्योगमा रोजगारी दिएको उनी बताउँछन् । पछि उनले त्यही गार्मेन्ट उद्योगलाई दुहबीमा सारे ।

पहिलो व्यवसायमा उनलाई केही झड्का लाग्यो । ‘मैले जे सोचेको थिएँ, त्यो हुन सकेन । तर, कहिल्यै हरेश खाइन,’ उनले भने । उद्योग चलाइरहेका बेला भएका राजनीतिक आन्दोलन, बन्द, हड्ताल, चक्काजाम जस्ता कारणले समस्या निम्त्याएको उनले बताए ।उनले गार्मेन्टलाई अमेरिकासम्म पठाउँथे । तर, आन्दोलन र मजदुरको हड्तालले मागअनुसार उत्पादन नभएर पठाउन नसक्दा ग्राहक बिच्किए । ‘नेपालमा विभिन्न खालका आन्दोलनले असर गर्यो, मागेको समयमा सामग्री उत्पादन गरेर पठाउन सकिएन, जसले गर्दा एक पटकमा लाखौं रुपैयाँ घाटा हुन्थ्यो,’ उनले भने, ‘आज यति सामग्री उत्पादन गरेर पठाउँछु भन्ने अवस्था थिएन । अमेरिकाले कोटा सिस्टममा मगाउँथ्यो, कहिले काहीँ मजदुर आन्दोलन, हड्ताल, बन्द जस्ता समस्याले उत्पादन गर्न सकिएन ।’

माओवादी आन्दोलनका बेला उनले गार्मेन्ट उद्योगलाई बन्द गरेर अर्काे सुरू गरेका थिए । आन्दोलन चर्किदै जाँदा सिन्धुलीमा चुनढुंगाको उत्खनन् गरेको उनले बताए । ‘त्यो समयमा खानी तथा खोलाजन्य वस्तु उत्खनन् गर्नु फलामको चिउरा चपाएजस्तै हुन्थ्यो,’ उनले भने, ‘एकातिर विद्रोह गरिरहेको माओवादीको नजर, अर्काेतिर राज्यको नजर पथ्र्याे ।’ द्वन्द्वरत माओवादी र राज्यबाट असहयोग नभएको उनले बताए । तर, त्योबेला आफ्ना लागि धेरै ठूलो ‘युटर्न’ भएको उनले बताए ।

निजी क्षेत्रबाट पहिलो सिमेन्ट उद्योग आफूले शुरू गरेको उनले बताए । मारुती सिमेन्टको उद्योग शुरू गरेको उनले बताए । ‘गार्मेन्ट बन्द गरेर मारुती सिमेन्ट खोले, मारुती सिमेन्ट निजी क्षेत्रको पहिलो सिमेन्ट हो,’ उनले भने । मारुती सिमेन्ट उद्योग अहिले १७ वर्ष पुगेको छ ।
विराटनगरमा जुत्ता–चप्पलको उद्योग पनि सञ्चालन गरिरहेको उनले बताए । विराटनगरमै अन्नपूर्ण सिमेन्ट उद्योग पनि उनले सञ्चालन गरिरहेका छन् । स्टिल उद्योग सञ्चालनको तयारी पनि गरिरहेको उनले बताए । स्काभेटरको सेल्स सर्भिसको व्यवसाय पनि उनले सञ्चालन गरिरहेका छन् । उनलाई छोराहरूले पनि साथ दिइरहेका छन् ।

‘मास्टर’ गरेर ५ वर्षदेखि छोरा प्रतिक राउत, प्रदेश राउतले व्यवसायमा सहयोग गरिरहेका उनले बताए । ‘संघर्ष गरेपछि मात्रै सफलता मिल्छ भन्ने लाग्छ,’ उनले भने, ‘डोकोमा दूध हुँदा अडिँदैन, त्यसका लागि बाल्टी नै चाहिन्छ ।’

‘उद्योगी मालिक भनेपछि काम गर्नुहुँदैन, अरुलाई काम लाएर आफू कुर्सीमा बस्ने हो भन्ने चलन अहिले पनि छ,’ उनी भन्छन्, ‘तर त्यो मेरो जीवनमा कहिल्यै पनि लागू भएन । म ७ दिनमा मात्रै घर जान्थे, गार्मेन्ट उद्योगमा अरु मजदुरहरू सँगै बसेर काम गर्थें ।’ संघर्षका कथा सुनाउँदा उनको अनुहार पनि मलिन देखिन्थ्यो । ‘मसँगै बसेर काम गर्दा मजदुर पनि खुशी हुन्थे, मालिक पनि हामीसँगै काम गरिरहेको छ भनेर कामदारलाई हौसला मिल्थ्यो,’ उनले भने, ‘लगातार ४८ घण्टासम्म काम गरिन्थ्यो । गार्मेन्ट उद्योगमा काम गर्दा ७ दिनमा मात्रै घर जाने गर्थें ।’हाल राउतका १४ उद्योग सञ्चालनमा छन् । ६०० मजदुरलाई रोजगारी दिएको उनले बताए । गार्मेन्ट सञ्चालन हुँदा १ हजार २०० जति मजदुर थिए । उद्योग, व्यापार गर्न बैंकिङ क्षेत्रले असहयोग गरेको उनी बताउँछन् ।

काठमाडौंमा जन्मे–हुर्केका राउतका आफन्त तथा जग्गा जमिन विराटनगरमा थियो । जग्गा, जमिन तथा आफन्तहरू विराटनरमा भएका कारण सानैदेखि उनको आवतजावत विराटनगरमा भइरहन्थ्यो । ‘जागिरे बुवाको एक्लो सन्तान मलाई कुनै समस्या थिएन तर एउटा चिन्ता भने निकै समयसम्म रहिरह्यो,’ उनले भने । उनको चिन्ता रहेछ, सुनसरी–मोरङ कोरिडोरमा आफ्नो उद्योग कसरी स्थापना गर्ने ?

‘म काठमाडौंबाट विराटनगर आउँदा इटहरीबाट यता लागेपछि गाडीको झ्यालको सिसा खोलेर यहाँ ठूलो घर बनाएर उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताउँथ्यो,’ उनले भने । अहिले त्यो चिन्ता समाधान भइसकेको उनले बताए । उनी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य, साफ चेम्बरको केन्द्रीय सदस्य, नेपाल सरकारको लगानी बोर्डका सदस्य, मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकारको रुपमा पनि सक्रिय छन् ।