विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र प्रदेश प्रमुख परशुराम खापुङबीच बुधबार प्रदेश नामकरणबारे छलफल भएको छ । प्रदेश नामकरणका लागि दलहरुबीच विभिन्न चरणमा छलफल तथा अनौपचारिक बैठकहरु चलिरहेका बेला प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच यसबारे छलफल भएको हो ।

बुधबार विराटनगरमा प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री राईबीच लामो कुराकानी भएको उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुबीचको भेटमा मुख्यमन्त्री राईले नामकरणका लागि भइरहेका प्रयासहरुबारे प्रदेश प्रमुखलाई ‘ब्रिफिङ’ गरेका थिए । ‘मुख्यमन्त्रीज्यू र प्रदेश प्रमुखबीच नामकरणका बारे लामो कुराकानी भयो’, स्रोतले भन्यो ‘त्यसक्रममा मुख्यमन्त्रीले अहिलेसम्म भएका गतिविधि र प्रयासबारे जानकारी गराउनुभएको थियो ।’

तत्कालीन नेकपा एक्लैको दुई तिहाई बहुमत छँदा तत्कालीन मुख्यमन्त्री शेरधन राईले प्रदेश नामकरणमा चासो नदिएको भन्दै अहिले पनि एमाले र नेतृत्वको तीव्र आलोचना हुँदै आएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले सुरुदेखि नै नामकरणको मुद्दालाई उच्च प्राथमिकता दिएको बताउँदै आएका छन् भने नामकरणका लागि दलहरुसँग छलफल पनि सुरु गरेका छन् । असार २४ का लागि पनि मुख्यमन्त्रीले सर्वदलीय बैठक बोलाएको र त्यसैको पूर्वसन्ध्यामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले भेटेर छलफल गरेको स्रोतको भनाइ छ ।
‘उहाँहरुबीच प्रदेशको बजेट, प्रदेशका अन्य विषयहरुमा पनि खुलेर कुराकानी भएको छ’, स्रोतले भन्यो ।