विराटनगर । प्रदेश १ प्रदेशसभा सदस्यमा रिक्त रहेको नेकपा एमालेको समानुपातिक सांसदमा नियुक्त हीमादेवी वस्नेतले मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन् ।

प्रदेशसभा सचिवालयमा आयोजित विशेष कार्यक्रममा सांसद वस्नेतले शपथ लिएकी हुन् । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनलाई शपथ गराए ।

नेकपा एमालेबाट निर्वाचित समानुपातिक सांसद गुलेफुन खातुनले गतसाता पदबाट राजीनामा दिएपछि रिक्त रहेको स्थानमा वस्नेत नियुक्त भएकी हुन् । निर्वाचन आयोगको बैठकले समानुपातिक सूचिबाट वस्नेत निर्वाचित भएको निर्णय गरेको थियो ।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई पत्र पठाएर बस्नेत प्रदेशसभा सदस्य नियुक्त भएको जानकारी गराएको थियो भने प्रदेशसभा सचिवालयलाई बोधार्थ पठाएको थियो । सोही पत्रलाई आधार मानेर उनलाई शपथ गराइएको थियो ।

तत्कालीन सांसद खातुनले सरकारी कागजपत्र, सरकारी छाप र हस्ताक्षर किर्ते गरेको अभियोगमा अदालतले दोषि प्रमाणित गरेपछि पदबाट राजीनामा गरेकी थिइन् ।
अदालतले खातुनलाई एक वर्ष कैद तथा १४ हजार ५०० रुपैयाँ नगद जरिवाना गर्ने फैसला गरेको थियो ।