राजनीति रंगमञ्चका उदेक लाग्दा पात्र र हाम्रो नियति !

 मणि दाहाल

अपाच्य प्रवृत्ति र पात्रहरुको विकाश नेपालको राजनीति रंगमञ्चको विशेषता हो । त्यस्ता पात्रहरुको समय सन्दर्भको चर्चा परिचर्चा राजनीतिको अर्को पाटो हो । अनि यसैको सेरोफेरोमा रुमलिएर झर्ला र खाँउला भन्दै आशावादीताको प्रतिक्षा हाम्रो जनजीविका हो । यिनै नियतिको अक्रान्तभित्र पक्ष विपक्षमा रुमलिएर तीललाई पाहाड बनाउनु मिडियाको दैनिकी हो । आज यसैको सेरोफेरोमा केही पात्रहरुको चर्चा गरौं ।
रामचन्द्र पौडेल नेपालको राजनीतिक आन्दोलनको इतिहास हो । उहाँको प्रेरणदायी भूमिकामा कसैले असहमति जनाउन सक्दैन । तर कतिपय सवालहरुमा उहाँका प्रस्तुतिहरु अत्यन्तै गैरजिम्मेवार हुन्छन् । यस पटक उहाँले एउटा सार्वजनिक कार्यक्रममा प्रस्तुत विचार विशेष चर्चायोग्य छ । नर बहादुर कर्मचार्य प्रतिष्ठानले आयोजना गरेको समाजवादको सान्दर्भिकता बिषयक अन्तक्रिया कार्यक्रममा उहाँले समाजवादलाई आँसुसँग तुलना गर्नुभयो । सुन्दा ठिकै लाग्छ । कटु सत्य पनि हो । लक्षित वर्गको आँसु नपुछी समाजवाद आउँदैन । तर मन्त्रीमा आशान जमाएर राजधानीमा अलिसान जीवनमा बाँच्ने एउटा पहँुचवान व्यतिआधारभूत वर्गमा पर्छ ? अनि उहाँको पदीय आसक्तिको आँसु पुछेपछि समाजवाद स्वतः आउँछ ?

विचारको अभिव्यक्ति  मान्छेको  व्यक्तिगत स्वतन्त्रताको सवाल हो । तर रामचन्द्र व्यक्ति मात्र हैनन् । पटकौंसम्म सार्वजानिक पदधारण गरिसकेको जिम्मेवार राजनीतिक दलको एउटा सम्मानीत नेता हो । अनि उहाँजत्तिको व्यक्तिले त्यस्तो गहन विषयको हल्का टिप्पणीलाई कुन अर्थमा लिने ? सो टिप्पणीले समाजवादको खिल्ली उडाउँदैन ? पदको आशक्तता र अराजकताको रत्यौली नै समाजवाद हो ? समाजवाद पहँुच र आशक्तताको खेलौना हो ? वीपी, सिके प्रसाई जस्ता समाजवादी चिन्तकहरुले यस्तै समाजवादको कल्पना गर्नु भएको हो ? त्यसै हो भने नेपाली काँग्रेसको समाजवादलाई कुन अर्थमा लिने ? राजनीतिका यस्ता सम्मानित पात्रहरु नायाँ पिंडीका लागि अनुकरणीय हुनुपर्दैन ? उहाँको बारेमा यति नै ।

अब अर्को पात्रको चर्चा गरौं । निवर्तमान सहरी विकास मन्त्री कमरेड रामकुमारी झाँक्रीको । रामकुमारी बिनापूर्वाधार छिटो समयमा राजनीतिको शिखर चुम्न सफल महिलामा पर्नुहुन्छ । राजनीतिक इतिहासका हस्तीहरुलाई पछि पार्दै उहाँ माननीय र मन्त्री समेत बनिसक्नु भयो । तर उहाँले सो गरिमालाई थाम्न सक्नुभएन । आम जनसमुदायमा उहाँप्रति सकारात्मक सोच थियो । तर उहाँको समकालीन प्रस्तुतिले सकारात्मकतालाई चकनाचुर बनाएको छ ।
आजभोलि कमरेड रामकुमारीको मिडिया प्रस्तुति र हर्कत एउटा जिम्मेवार राजनीतिक दलको पदाधिकारिको रुपमा देखिदैन । म कुन ठाँउमा छु र सार्वजनिक प्रस्तुतिलाई कसरि व्यवस्थापन गर्ने भन्ने सामान्य हेक्कासमेत राखेको पाइदैन । एउटा जिम्मेवार दलको नीति निर्माता तहमा आसिन उहाँजत्तिको व्यक्ति दलीय नैतिक आचरणमा बाँधिएको पनि देखिदैन । नीति र नेतृत्वप्रतिको मर्यादा उहाँले बिर्सिएको अनुभूति हुँदै छ । उहाँमा अनुशासनको दायरा भेटिएन । उल्लेखित कुनै गुण नपाइकन यस्ता पात्रहरुबाट राजनीति मर्यादित बन्छ ? के यो समावशी सिद्धान्तकै धज्जी हैन ?
राजनीतिक अधिकार प्राप्तीपछिका यतिका समयसम्म पनि जनजीविका कष्टकर छ । भ्रष्टाचार र कुशासनले मानवीय मर्यादा हराएको छ । अर्थतन्त्र धरासायी छ । समाजमा कुपात्रहरुको जगजगी र तिनकै सम्मान छ । उल्लेखित सबै बेथितिले गर्दा जनता करदाता र मतदातामा मात्र सीमित हुन बाध्य छन् । यसप्रति रामकुमारी कमरेडको आँशु किन झर्दैन ? के मन्त्रीको कुर्सी अनि लाभको लम्पटता नै उहाँको अन्तिम लक्ष्य हो ? उहाँ नेकपा एकीकृत समाजवादीको सचिव पनि हो । नीति निर्माण तहको कार्यकारी पदमा आसिन व्यक्तिले जहाँपायो त्यहिँ अराजक पारामा बोल्दै हिड्न मिल्छ ? म अझैपनि एमालेको सदस्य हुँ भन्ने उहाँको लठुवा प्रस्तुतिको अर्थ के लाग्छ ? यदि उहाँलाई एमाले नै प्रिय लाग्छ भने जान कसले रोकेको छ ?
रामकुमारी झाँक्री राजनीति रंगमञ्चमा छिटो र सजिलै उदाउनु भयो । राजनीति आन्दोलनका कैयांै हस्तीहरुलाई पछिपार्दै उच्च ओहोदाको शिखर चुम्न सफल पनि हुनभयो । तर शिखरको गरिमालाई बचाउन सक्नुभएन । पदको आसक्ततामा उहाँले राजनीतिक मूल्य, मान्यता अनुशासन र नैतिक धरातल सबै गुमाउनु भयो । सायद यो सबै महेन्द्रवादी वर्तमान आरक्षण मोडेल र बहुलवादी लोकतन्त्रकै उपलव्धी होला ।
पूर्वाधार विकास बिनाको क्रेन तनाइको परिणम सकारात्मक आउँदैन । जसलाई तान्यो त्यो बन्छ । तर समुदाय बन्दैन । हामी बहुलवादी समावेसी लोकतन्त्रको अभ्यासमाछौं । हामीले बहुलवादलाई आत्मसात गरिरहँदा आरक्षण कि सुरक्षण भन्ने कुरामा बहस गर्न सकेनौं । वर्ग कि वर्ण भन्ने बारेमा सोच्न सकेनौं । युरोपियन युनियनको युरो र डलरमा बिक्री भैसकेका कथित अधिकारकर्मी को लहैलहैमा वर्ग बिर्सिएर वर्णको अँगालोमा रम्न पुगियो । अनि त्यो वर्णवादले योग्यता, क्षामता, निष्ठा, निरन्तरता र नैतिक मूल्य सबै धराशायी बनायो । राजनीतिक दलहरुलाई वैचारिक रुपमै भुत्ते बनायो । ढिलो या चाढो जहिले होस् परिस्थितिलाई सुधारमा ल्याउन सकिएन भने वर्णवादले दलहरुलाई निरिह अवस्थामा पु¥याउँदै छ ।
व्यक्तिवाद समकालीन राजनीतिमा प्रवृत्तिको रुपमा विकसित हुँदै छ । त्यहि प्रवृत्तिले केपी ओली जस्तो भष्मासुरको उदय गराएर कम्यूनिष्ट पार्टीलाई तहसनहस बनायो । केपी प्रवृतिका छिटाहरु नेकपा एसमा पनि सरुवा भएर आएको छ । त्यहि प्रवृत्तिकै पात्रको रुपमा रामकुमारी अघि बढ्न खोज्दै हुनुहुन्छ । त्यसले पार्टीलाई त हित गर्दैन नै स्वयं उहाँलाई पनि नोक्सानी गरिरहेको छ । तर उहाँलाई महशुसै छैन । लोकतन्त्रले कस्ता पात्रहरुको विकाश गरेछ ? अझै नसोच्ने ?

सोमबार, २० असार, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर