विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कर्मचारीको सरुवामा पनि कमिसनको खेल हुन्छ र भन्दै प्रतिपक्षी नेकपा एमालेलाई प्रश्न गरेका छन् ।

प्रदेशसभा बैठकमका एमाले सांसद हिक्मतकुमार कार्कीले कर्मचारी सरुवाको सिजन सुरु भएको र कमिसनको खेल हुन लागेको आरोप लगाएपछि मुख्यमन्त्री राईले लामो समय सरकारमा बसेकाहरुले यसको जवाफ दिनुपर्ने बताए ।

‘कर्मचारी सरुवाको विषयमा किन चासो हुनुपर्यो र यत्रो महत्व दिनुपर्ने किन ?’ प्रश्न गर्दै मुख्यमन्त्री राईले भने, ‘म लामो समय मुख्यमन्त्री तथा मन्त्री हुनुभएका नेताहरुलाई सोध्न चाहन्छु, के सरुवामा पैसा उठाउन पनि सकिन्छ ?’ आफू भर्खरै सरकारमा आएकोले यसबारे धेरै थाहा नभएको बताउँदै उनले भने, ‘यस्तो पनि गरिन्छ र ? यो चाहिं गोप्य ढंगले सोध्नुपर्ने भएपनि सोधौंला ।’

सरुवामा पैसा उठाउने र बढुवामा पैसा उठाउने कुरा आफूलाई नयाँ भएको राईको दावी थियो । उनले कानूनअनुसार, रित पुरर्याएर, कुन कर्मचारीलाई कहाँ राख्दा काम प्रभावकारी हुन्छ भन्ने लाग्छ त्यसै अनुसार सरकारले कर्मचारीको सरुवा र बढुवा गर्ने जिकिर गरे ।

प्रदेशको नामाकरणको लागि आफू प्रतिपक्षी दल नेकपा एमालेसँग बसिबसी, उठिउठी जहाँ पनि कुरा गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री राईले नामलाई महत्वपूर्ण कामको रुपमा सरकारले लिएको जानकारी दिए । ‘सरकारलाई दबाब दिनु कुनै जरुरी छैन,’ उनले भने, ‘प्रतिपक्षी दलसँग खाजा खाँदा, गाडीमा हिँड्दै भएपनि उठिउठी, बसिबसी कुरा गर्न सरकार तयार छ । यसलाई हरेक दिन कुरा उठाइरहनु पर्दैन । विनियोजन विधेयक पास गरौं । त्यसपछि नाम पनि हाँसिहाँसी पास गर्ने वातावरण बनाउँ ।’

एमाले सांसदहरुप्रति लक्षित गर्दै राईले सभामुखको दाहिने बस्दा बेग्लै र देब्रे बस्दा एउटै विषयलाई पनि बेग्लै नदेख्न आग्रह गरे । उनले प्रदेशको स्थायी संरचना निर्माण सम्पन्न गर्न यही सररकारले नसकेपनि आफ्नै कार्यकालमा सुरुवात गर्ने जानकारी दिए ।

प्रदेश १ सरकारले ल्याएको बजेट वित्तीय अनुशासनमा रहने दाबी गर्दै मुख्यमन्त्री राईले यथार्थपरक बजेट बनाएर अगाडि बढेको बताए । ८५ प्रतिशत पुराना योजनालाई नै निरन्तरता दिएको जानकारी दिँदै उनले चुनाबमुखी बजेट भन्ने आरोपको प्रतिवाद गर्दै भने ‘चुनाबमुखी बजेट भएको भए, सबै नयाँ आफ्ना योजना हालिन्थ्यो । तर, अधिकांश बहुवर्षे योजना यही वर्षमा सक्नेगरी थोरै मात्र नयाँ योजना सुरु गरेका छौं ।’