विराटनगर ।मोरङको मिक्लाजुङ गाउँपालिकाका कृष्ण खड्का र इलामकी सोमा लामा तामाङ देश परिवर्तन गर्ने लक्ष्यसहित तत्कालीन नेकपा माओवादी नेतृत्वको सशस्त्र द्वन्द्वमा सहभागी भए । विद्यालय पढ्दापढ्दै दुवै द्वन्द्वमा होमिएका थिए ।

घर सम्पत्ति सबै मोह त्यागेर उनीहरू जनताका समस्यासँग जुध्न थाले  । उनीहरू कति रात जंगलमै बसे भने कति दिन पानी मात्रै पिएर भोक मेटाए । खाली खुट्टा र खाली पेटले क्रान्ति गरेको जोडी यति बेला फरक अभ्यासमा छ ।

तत्कालीन जनमुक्ति सेना बनेर हिँडेका उनीहरू शान्ति सम्झौता भएपछि इलामको चालचुलीमा रहेको क्यान्टनमेन बस्न थाले, त्यही दुवैले बिहे गरे । १२ कक्षासम्मको अध्ययन पनि त्यहीबाटै पूरा गरे । माओवादी सेनाबाट बहिर्गमन भएर दुवै जनाले गाउँघर फर्किए ।

अन्तरजातीय विवाह गरेका कृष्ण र सोमाले घरमा निकै ठुलो सङ्घर्ष गर्नु¥यो । ‘बुवा आमा बुढापाका हुनुहुन्छ,’ सोमाले भनिन्, ‘तामाङको छोरी क्षेत्रीको घरमा आउँदा पुरानोको संस्कारलाई परिवर्तन गर्न निकै ठुलो सङ्घर्ष गर्नुपर्‍यो ।’ समाज परिवर्तन गरेका उनीहरूका लागि घर परिवर्तन गर्न भने निकै ठुलो सङ्घर्ष गर्नु पर्‍यो ।

देश परिवर्तन गर्ने सपना बोकेका कृष्ण वैदेशिक रोजगारीमा होमिए । २२ महिनासम्म उनले दुबईमा बिताए ।

भोक निन्द्रा नभनी जंगलमा खोलानाला भोगेका उनले दुबईको तातो घाममा सङ्घर्ष गरे ।

बन्दुक समाउन छाडेर बहिर्गमन रोजेका कृष्ण–सोमा दम्पती यति बेला कुटो, कोदालो समाइरहेका छन् । मोरङको कटहरी गाउँपालिकामा जग्गा भाडामा लिएर देश परिवर्तनको नारासँगै कृषि क्रान्तिको नारालाई अगाडि बढाएका छन् ।

उनीहरूले कटहरिमा गर्नु भन्दा अगाडि झापाको दमकमा फर्म खोलेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूले बगर पालन गरेकै छेउमा भ्यु टावर बनाउने गरी बजेट विनियोजन गरेपछि उनीहरू त्यहाँ बाट विस्थापित बनेका थिए । त्यहाँ पनि उनीहरूले  जग्गा लिजमा लिएका थिए ।

‘राजनीति गरेर पछुतो भने नभएको उनीहरू बताउँछन्  । १० वर्षे जनयुद्धले आफ्नो अधिकार खोज्न सिकायो, बोल्न सिकायो । आफूलाई समस्या पर्दा समेत बोल्न नसक्नेहरू आफ्नो हकहितका लागि लड्न थाले । यसलाई हामीले परिवर्तन  ठानेका छौ’ सोमाले भनिन ।

व्यावसायिक फर्म नै दर्ता गरेर कृषिमा लागेका उनीहरू बगर, लोकल कुखुरा, हाँस पालिरहेका छन् ।

सानैदेखि व्यावसायिक कृषि क्रान्ति गर्ने सोचेका उनले बङ्गुर पाल्न पनि निकै ठुलो सङ्घर्ष गर्नु¥यो । क्षेत्री–बाहुनका छोराले बङ्गुर छुनु हुँदैन भन्ने मान्यता अहिले पनि रहेको कृष्ण बताउँछन् । बगर पाल्ने भनेपछि उनलाई आफ्नै घरमा अन्य सदस्यहरूले पनि असहयोग गरे । श्रीमती सोमाले भने उनलाई सहयोग गरिन । श्रीमतीकै सहयोग बाट उनको फर्म फस्टाउँदै गइरहेको छ ।

बगर पाल्नबाट उनलाई कसैले रोक्न सकेन । क्षेत्री–बाहुनका छोराले बगर पाल्नु हुँदैन भनेपछि घर नै छाडेर अन्यत्र गएर बङ्गुर पालेको उनी बताउँछन् । ‘केही वर्ष अघिसम्म बजारको राम्रो व्यवस्था थियो,’ उनले भने, ‘अहिले बजार खम्किँदै जान थालेको छ । बजार खासै राम्रो छैन । आफ्नै मोटोमा पौरख गर्न थालेपछि बाँच्नलाई सजिलो भएको छ तर भविष्य अन्योल नै छ ।’

लोकल कुखुरा, बङ्गुर, हाँस तथा तिथ्रा किन्नेको घुइँचो फार्ममै लाग्ने गरेको छ । माछा पनि फार्मबाटै बिक्री  हुने गरेको छ । पहिला राजनीतिमा भविष्य देखेका दम्पती यति बेला आफ्नै माटोमा सङ्घर्ष गरिरहेका छन् ।

राजनीतिक क्रान्तिबाट देश बदल्ने भनेर लागेका दम्पती किसानका रूपमा ‘कृषि क्रान्ति’को सपना देखिरहेका छन् । उनी भन्छन्, ‘समाज र देश बदल्छु भनेर लागियो केही परिवर्तन पनि भयो । हामीले लडेका कारण नै अहिले सबैले आफ्नो हक अधिकार खोज्न सक्ने भएका छन् । ’ देश बदल्नेहरू अब आफ्नो जीवन बदल्न लागि परेका छन् ।