पाँचथर ।पाँच महिना अघि टमाटर र खुर्सानी खेतीमा रमाइरहेका थिए भानुभक्त ढकाल । आफ्नो कृषि पेशामा रमाएका ढकालले छिमेकी र पशुपालक कृषकको खेर गैरहेको दूध देखेर उनीहरुकै अनुरोधमा डेरी उद्योग संचालन गर्न थाले । १३ लिटर दुधबाट शुरु गरेको उद्योगमा अहिले २०० लिटर दूध संकलन हुन्छ ।
किसानले उत्पादन गरेको दूध उपभोक्तामा वितरण गरेपछि बाँकी रहेको दूध खेर फाल्न नपरोस् भनी डेरीले छुर्पी र घिउ उत्पादन गर्न थालेपछि नाम र दामसमेत कमाउन सफल भएको भानुभक्त बताउँछन् । हिलिहाङ गाउँपालिका वडा न .१ अमरपुरमा पुस १४ देखि उद्योग संचालन गरेका हुन् । यो व्यवसाय थालेको धेरै नभए पनि डेरीले मनग्ये आम्दानी दिएको छ ।
अहिले ४८ घरबाट दूध आउने गरेको छ । गाईको दुध प्रती लिटर रु ४५ र भैंसीको दुध प्रतिलिटर ५० ले किन्ने गरेका छन् । केही समय अगाडिसम्म छुर्पी उत्पादन नहुने यो पालिकामा अहिले महिनाको १ सय ५० केजी जिल्ला बाहिर दमक निर्यात हुँदै आएको छ ।
छुर्पीका लागि इलाम र पाँचथर नमूना जिल्ला मानिन्छ । तर, हिलिहाङ गाउँपलिकामा छुर्पी बनाउने थिएनन् । पछिल्लो समय यहाँ उत्पादित छुर्पीको माग हेर्दा हिलिहाङ गाउँपालिका छुर्र्पीकै कारण पहिचान बनाउन सफल बन्ने देखिएको संलग्नहरु बताउँछन् ।
पाँचथर र इलाममा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको बताइएको छ । दुध संकलन गर्ने थालेपछि यस्बाट घ्यू, छुर्पीसमेत जिल्लाबाहिर पठाउन थालेको हो ।
किसान वीरबहादुर शिगु भन्छन ‘यो डेरी हुनु अगाडि हिलिहाङ १ नम्बर वडामा दुधजन्य वस्तुबाट कमाइ शुन्य थियो । तर, डेरी खुलेसँगै प्रतिदिन ८ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्म आम्दानी हाम्रो हातमा पर्ने गरेको उनी बताउँछन् । उनले भने ‘अहिले त घर खर्च गर्न पनि सहज भएको छ ।’
अहिले किसानहरु व्यावसायिक रुपमा उन्नत गाईपालन गर्न थालेका छन् । दुग्ध डेरी छुर्पी उत्पादनप्रति आकर्षित भएको भानुभक्त बताउँछन् । मासिक रु १ लाख ५० हजारको छुर्पी उत्पादन हुन्छ भने अहिले सम्म ४ सय केजी जिल्ला बाहिर निर्यात हुँदै आएको छ । हाल २ सय केजी छुर्पी अझै स्टकमा रहेको अमरपुर डेरीका सञ्चालक भानुभक्तले बताए ।
नेपालमा अहिले पनि परम्परागत रुपमा छुर्पी उत्पादन गर्ने चलन छ । छुर्पी उत्पादन गर्दा कुनै पनि किसिमको केमिकलहरु प्रयोग गरिँदैन । त्यसैले स्वास्थ्य साथै गुणस्तरका कारणले पनि नेपाली छुर्पीको माग उच्च भएको हो । अहिले नेपालमा पूर्वीय भेगका जिल्लाहरु जस्तै झापा, इलाम, पाँचथरलगायत अन्य जिल्लाहरुमा छुर्पी उत्पादन गर्ने चलन छ । यी जिल्लाका ६० प्रतिशतभन्दा बढी किसानहरुको आयआर्जनको प्राथमिक स्रोत भनेको नै छुर्पी व्यापार हो ।
‘नेपालमा छुर्पीको बजार त्यति राम्रो छैन । त्यसैले धेरैजसो किसानहरुले छुर्पी उत्पादन गर्न छोडिसकेका छन् । तर, यही छुर्पीको बजार विश्वको अन्य मुलुकहरुमा विशाल छ । त्यसैले स्थानीय सरकारले नेपाली छुर्पी विश्व बजारमा पुर्याउने सहयोग गर्नुपर्छ ।

