भोला लम्साल
भनिन्छ असार १५ लाई बुझ्न शब्दको शल्यक्रिया गरिरहनु जरुरी छैन । मुठी खाएर मुरी उब्जाउने र मानो रोपेर मुरी फलाउने असार १५ राष्ट्रिय धान दिवस नेपाालमा हिलो खेल्दै, दहीचिउरा खाँदै धान रोपेर मनाउने परम्परा छ । असार १५ कृषि पेशामा लाग्ने कृषकका लागि व्यस्तता अनि थकान र रमाइलो गर्ने चाडको रुपमा लिन सकिन्छ । दही, चिउरा, आँप, केरालगायतका परिकारहरुले असार १५ लाई अझ रसिलो, स्वादिलो, भरिलो मात्र होइन बाउसे र रोपाहारबीचको हिलो छ्यापाछ्याप र असारे गीतको भाका र लयले रमाइलो रंगीन बनाएको देखिन्छ । असार महिना सामाजिक, आार्थिक मात्र होइन साहित्यिक महत्व पनि उतिकै झल्केको पाइन्छ । असार महिनाको गीतका भाकासँग रोपाहारहरुले गाएका गीतमा प्रकृति र संस्कृति झुलेको हुन्छ । उनेको पाइन्छ । यस्ता गीतहरु धान रोप्दै गाइने भएकाले सामुहिक आत्मियता, सद्भाव अनि थकान बिर्सेर, खेतका गरा फुलेका हुन्छन्, झुलेका हुन्छन् । नेपालमा धान दिवस २०६२ साल असार १५ गतेदेखि मनाउन थालिएको देखिन्छ ।
विश्वको जनसंख्याको आधारलाई मान्ने हो भने साढें दुई अर्ब मानिसको मुख्य खानाको रुपमा चामललाई लिने गरिन्छ । दक्षिण एशियाली मुलुकमा चामललाई दैनिक उपभोग्य वस्तुका रुपमा उपभोग गर्दै आएका छन् । ९० प्रतिशत धान एशियामै उत्पादन हुने एक तथ्यांकले देखाउँछ । बढी धानको उत्पादनको आधा हिस्सा एशियामै खपत हुने गरेको देखिन्छ । नेपाललाई कृषिप्रधान देशको रुपमा लिने गरेतापनि नेपालको कूल गाहस्र्थ उत्पादनमा २७.५ प्रतिशत योगदान कृषि क्षेत्रको छ । नेपाल कृषि प्रधान देश हो भनिन्छ । तर, कृषिमै परनिर्भरता बढ्दो छ । ६५ प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आधारित छन् । नेपाल कृषि उत्पादनमा परनिर्भर हुनु मुलुकका लागि दुर्भाग्य हो । खाद्यान्नदेखि तरकारी, फलफुल अन्य वस्तुको आयात उच्च दरमा बढ्दै जाँदा आर्थिक दृष्टिकोणले देशले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको वस्तुगत यथार्थलाई लुकाएर लुक्दैन । कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि प्रविधिमैत्री बनाउन सकेमात्र बाहिरी वस्तुको आयातमा कमी हुने निश्चित छ ।
जेष्ठ महिनाको अन्तिम सातादेखि भदौको पहिलो सातासम्म किसानहरुले खेतमा धान रोप्ने गरेको देखिन्छ । किसानहरु करिव एक महिना अघि धानको बिउको खोजी र ब्याड राख्ने काममा लागेका हुन्छन् । कतिपय किसानले आफ्नै ढुकुटीमा धानको बिउ जोहो गरेका हुन्छन् भने कतिपय किसान कृषि सामग्री संस्थाना उन्नतजातको बिउको खोजीमा जाने गरेका छन् । तर, कृषि सामग्री संस्थानले समयमा नै बिउबिजन, मलको उचित व्यवस्थापन र प्रबन्ध मिलाउन नसक्दा किसानहरु त्यसको प्रत्यक्ष मारमा परेका छन् । देशका विभिन्न भू–भागमा कृषिसँगै सम्बन्धित सहकारी संस्थानद्वारा वितरण गरिएका धानलगायत अन्य बिउबिजन गुणस्तरहीन हुने गुनासोलाई राज्यपक्षले संवोधन गर्न सकिरहेको छैन ।
कृषि क्षेत्रलाई व्यवसायिक रुपबाट अगाडि बढाउन नसक्दा कयौं हेक्टर जमिन बाँझो बनेर मरुभूमिमा परिणत हुनुको मुख्यकारण हो । सिंचाइको असुविधा, मलको अभाव, जनशक्तिको अभाव, बजारको अभाव र न्यून मूल्यको दररेट कायम गर्न नसक्नु कृषि क्षेत्रको मुख्य चुनौतीका रुपमा लिन सकिन्छ । सिंचाइ विभागका अनुसार नेपालमा कूल खेतीयोग्य जमिन २८ लाख हेक्टर छ । जसमध्ये १६ लाख हेक्टरजमिनमा मात्र सिंचाइ सुविधा पु¥याउन सकिएको विभागको भनाइ छ । जनशक्तिको अभावले कृषि क्षेत्र धरापमा परेको देखिन्छ । कृषि क्षेत्रमा आत्मनिर्भरता घट्दै जानु, युवा जनशक्ति विदेश पलायन हुनुले त्यसको प्रभाव कृषि क्षेत्रले भोग्नुपरेको छ ।
स्वदेशमा कृषि ष्ेशालाई मर्यादित बनाउदै युवा श्रमशक्तिलाई कृषि क्षेत्रमा प्रोत्साहन गरी वतावरण तयार पार्ने हो भने हाम्रो उत्पादन नेपालमा मात्र होइन अन्य बाहिरी देशमा निर्यात गर्न सकिन्छ । खेतीयोग्य जमिन प्रसस्त रहेपनि सिंचाइको अभावमा बाँझो रहेको आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता किसानको सामु चुनौती बनेको देखिन्छ । नेपालमा उत्पादन भएको कृषि वस्तु बजारीकरणको समस्या र व्यवस्थापनको जटिलताले किसानहरु मारमा परेका छन् । आफूले उत्पादन गरेको वस्तुले बजार नपाउँदा र त्यसको उचित मूल्य नपाउँदा उत्पादन लागत भन्दा बजार मूल्य न्यून रहने भएकोले किसान कृषि पेशाको विकल्पको खोजी गरिरहेको देखिन्छ ।
कृषि बजारको सहजीकरण, कृषिलाई आधुनिकीकरण, बजारीकरण व्यवसायीकरण गर्ने तर्फ अब राज्य लाग्नु आवश्यक छ । कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै मुलुकलाई परनिर्भरता होइन आत्मनिर्भर बनाउने दिशातर्फ हरेक क्षेत्र लाग्न जरुरी छ । असार १५ धान दिवस, माने रोपेर मुरी फलाउने यो कृषि क्षेत्रमा लाग्ने महान् किसानहरुलाई धान दिवसको हार्दिक शुभकामना ।