झापा ।भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुई तिहाई भूगोल जङ्गली हात्तीबाट सिर्जित समस्याबाट प्रताडित छ । तर, अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन ।
चारदशक अघि जंगल मासेर मानव वस्ती विस्तार हुँदै जाँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षिणको कचनकवल र पश्चिमको दमकसम्म फैलिइसकेको छ । मानवीय र धनमालको क्षतिको ग्राफ पनि उकालिँदै गएको छ । बन डिभिजन कार्यालय झापाका अनुसार अहिले जिल्लाको गौरादहबाहेक १४ पालिकामा मानव–हात्ती द्वन्द्वको समस्या छ । मेचीनगर, हल्दिबारी, भद्रपुर, कनकाई, अर्जुनधारा, बुद्धशान्ति र कचनकबलमा समस्या बिकराल बनिसकेको छ । बिगत दश वर्षमै हात्तीको आक्रमणबाट झापामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्नबाली र धनमालको क्षति करोडबाट अरबको अङ्कतिर बढ्दैछ । पछिल्लो दशकमा एक दर्जन हात्ती पनि मारिएका छन् ।
भारतको आसामसम्म विचरण गर्ने जङ्गली हात्ती पश्चिम बङ्गालको सुकुना जङ्गलबाट मेची नदी तरेर नेपालको बाहुनडाँगी पस्ने गरेका छन् । यसरी नेपाल पस्ने हात्तीको संख्या एक सयको बथानसम्म हुने गरेको छ ।
नेपालतिर अन्नबाली पाक्ने बेलामा लस्कर लागेर आउने हात्ती केही महिनापछि भारततिरै फर्किने गरेका छन् । स्थानीयबासी यी हात्तीलाई ‘भारतीय’ भन्ने गर्छन् । हात्तीले भयावह क्षति पुर्याउन थालेपछि सबैभन्दा प्रभावकारी नियन्त्रण प्रयासको रुपमा २०७२ सालमा बाहुनडाँगीस्थित हात्ती छिर्ने मेची नदीको १८ किलोमिटर तटमा विद्युतीय तारबार निर्माण भयो ।
२०७३ सालमा उद्घाटन भएयता ६ वर्षसम्म भारतबाट हात्तीको प्रवेश ठप्प जस्तै भयो । त्यस अवधिमा झापामा रैथाने १३ वटा हात्तीले मात्र समस्या सिर्जना गरिरहे । भारतबाट सयौंको ताँती आउने क्रम रोकिएको थियो । तर, बिगत वर्षदेखि विद्युतीय तारबार नाघेर भारतीय हात्तीको बथान नेपाल छिर्न थालेको छ । अझ पाँच महिनायता त सयौंको ताँती नै बाहुनडाँगीमा पसेको पुष्टि भएको छ ।
सात बर्षपछि भारतबाट हात्तीको हुल प्रवेश गरेपछि जिल्लाबासीमा मानव–हात्ती द्वन्द्वको पुरानै हिंसात्मक घाउ बल्झिने त्रास फैलिएको बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष निलकण्ठ तिवारी बताउँछन् । ‘स्थानीय बनभित्र आश्रित रैथाने केही हात्तीले नै जिल्लामा ठूलो धनजनको क्षति पुर्याइरहेको अवस्था छ’ तिवारी भन्छन् ‘भारतबाट सयदेखि डेढ सयको सङ्ख्यामा आउने हात्तीलाई रोक्न सकिएन भने समस्या पहिलेकै जस्तो भयावह हुनेछ । दीर्घकालीन समस्या समाधानको उपाय भनेको तटबन्धन मात्र हो ।’
इलामको सीमाक्षेत्र पाटापुरदेखि झापाको मेचीनगरको नकलबन्दासम्म मेची नदीको किनारै किनार १८ किलोमिटर लामो विद्युतीय तारबार प्रकृति संरक्षण कोषमार्फत आएको रु. एक करोड २० लाख बजेटबाट निर्माण भएको हो । जसमा २५ वटा गौडामा प्रवेशद्वार निर्माण गरिएका छन् भने रेखदेखका लागि मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिमार्फत १२ जना कर्मचारी खटिने गरेको समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले बताए ।
उनले १२ जना प्राविधिकमध्ये १० जनालाई रु. पाँच हजारका दरले र दुई जनालाई रु १० हजारका दरले मासिक पारिश्रमिक दिएर काममा लगाइरहेको बताए । अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीहरुको तलब र मर्मतका लागि चालू आर्थिक बर्षमा मेचीनगर नगरपालिकाले रु. १० लाख रकम दिएको उनको भनाइ छ ।
उनले पछिल्लो समय बाहुनडाँगीमा हात्तीको उपद्रोले भयावह अवस्था सिर्जना गरेका कारण नियन्त्रणका लागि समितिलाई स्थानीय, प्रदेश र संघीय सरकारको समेत सहयोग रहदै आएको बताए । सीमा नजिकै निर्माण गरिएको तारको घेराबेरामा विद्युत प्रवाह गरिएका कारण हात्तीलाई सीमामै छेक्न सजिलो भएको थियो । तर घेराबेरा पुरानो हुँदै गएको, त्यसमा विद्युत प्रवाह गर्ने ब्याट्री हराएको, घेराबेरा भत्किएको आदि कारणबाट हाल सजिलैसँग हात्ती भारततिरबाट नेपाल प्रवेश गर्न थालेको स्थानीयबासीको बुझाइ छ ।
‘विद्युतीय घेराबेराको पनि बेलाबेलामा मर्मतसम्भार हुनुपर्छ, व्याट्री फेर्नुपर्छ,’ स्थानीयबासी भन्छन् ‘तर, सरोकारवालाहरु यसतर्फ गम्भीरभएको पाइएको छैन ।’ राजनीतिक दलहरुले समिति गठनमा सक्रियता देखाउने र काममा चाहिँ वेवास्ता दर्शाउने गरेको स्थानीयको आरोप छ ।
बाहुनडाँगीको २५ वटा गौडाको प्रवेशद्वारमध्ये आधाजति जीर्ण भइसकेको छ । रातभर विद्युत प्रवाह गरिने सो घेराबेरा छिचोलेर मेची नदी ओहोरदोहोर गर्नेहरुले प्रवेशद्वार खोल्ने र बन्द गर्ने कार्य गर्दै आएका छन् । जसका कारण तार टुटफुट भएर विद्युतको प्रवाहमै असर परेको छ । जनावरमध्ये बुद्धिमानी मानिने हात्तीले पनि लामो अवधिमा विद्युतीय घेराबेरा नाघेर जाने तरिका सिकिसकेको छ ।
ढुङ्गागिटी र अन्य बस्तुको तस्करी गर्नेले भत्काएको प्रवेशद्वारबाटै हात्तीहरु नेपाल पस्ने गरेका छन् भने कतिपय वयस्क हात्तीले रुखका हाँगा र पैतालाले किचेर सुरक्षित तरिकाले तारबार नाघेर जाने गरेको स्थानीयबासी बताउँछन् । डिभिजन बन कार्यालय झापाका प्रमख युवराज मास्केले विद्युतीय घेराबेरा हात्ती छेक्ने प्रभावकारी उपाय भए तापनि स्थानीयले घेराबेराको उचित संरक्षणमा ध्यान नदिएको दावी गरेका छन् ।‘घेराबेरा भएको स्थान भत्काएर मान्छेहरुले ढुङ्गाबालुवा ओसारिरहेका छन्, कतिपय स्थानमा घाँस र झाडी बढेर तारको बेरा छोपिसकेको छ,’ बन कार्यालयका प्रमुख मास्के भन्छन् ‘स्थानीय समिति र स्थानीय पालिकाले राम्रो हेरचाह नगर्दा घेराबेरा नै काम नलाग्ने अवस्थामा पुगेको हो । घेराबेरा नै बेकामे भएको होइन ।’ मास्केको दावीमा सत्यता छ । किनभने मेची नदीको ढुङ्गा र बालुवाको दोहन गर्नेहरुले जथाभावी रुपमा विद्युतीय तारको घेराबेरामा क्षति पुर्याएका छन् । त्यस्ता गतिबिधिबाट घेराबेरालाई जोगाउन मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिले प्रभावकारी कदम चाल्न सकेको छैन ।
अर्कातिर सीमामा तस्करी धन्धा चलाउनेहरुले पनि घेराबेरा भत्काउने गरेका छन् । विद्युतीय तार राखिएको क्षेत्रमा ढुङ्गा गिटी ओसार्ने ट्याक्टर र ट्रकको ओहोरदोहोर रोकिनु पर्ने उनको सुझाव छ । घेराबेराको मर्मत सम्भार र घाँस कटानका लागि स्थानीय समितिलाई चालू आर्थिक वर्षमा रु. चार लाख बजेट डिभिजन बन कार्यालय झापाले पठाएको छ । मेचीनगर नगरपालिकाले घेराबेराको रेखदेखका लागि परिचालित कर्मचारीका लागि वर्षेनी अनुदान प्रदान गर्दै आएको छ ।
स्थानीय समितिमार्फत खर्च हुनेगरी मानव हात्ती द्वन्द्व व्यवस्थापनका लागि सरकारले रु. ३० लाखको कोष स्थापना गरिदिएको र त्यसको व्याजबाट कर्मचारी एवम् मर्मत खर्च चलाउन पाइने व्यवस्था गरिदिएको बन कार्यालयका प्रमुख मास्के बताउँछन् । हाल विभिन्न ठाउँमा विद्युतीय तार चुडिएको वा बिग्रिएको भए प्रकृति संरक्षण कोषबाट ल्याएर मर्मत गर्न सकिने उनको सुझाव छ ।