विराटनगर । नेपाली काँग्रेसले विराटनगर महानगरपालिकाका काँग्रेस केन्द्रीय सदस्य समेत रहेका निवर्तमान मेयर भीम पराजुली सहित ७ जनालाई कारबाहीको सिफारिस गरेको छ ।
आफ्नै पाटीका उम्मेदवारलाई हराउन अन्य पाटीका उम्मेदवारलाई सघाएको भन्दै पराजुलीकै वडाका ७ जनालाई कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस विराटनगर–३ ले पार्टीका उम्मेदवारहरूले पराजुली सहित ७ जनाले असहयोग गरेको भन्दै कारबाहीको लागि क्षेत्रीय समितिमा पत्र पठाएका थिए । सोही पत्र जिल्ला कमिटीलाई पठाएको क्षेत्रीय सभापति विनोद बस्नेतले बताए । काँग्रेस छाडेर नेपाली काँग्रेस बिपीबाट रामचन्द्र गौतम मेयरमा उठेका थिए। यस्तै बुथ सभापति सत्रुघनचन्द्र पौडेल वडाध्यक्षमा बागी उम्मेदवार भए। पौडेल पराजुलिका भिनाजु हुन । कारबाहीको सिफारिसमा भीमका दाजु चूडामणि पराजुली पनि छन् ।
पौडेलले बुथ सभापतिबाट राजीनामा दिएर बागी उठेका थिए । काँग्रेसका उम्मेदवार कमल पुडासैनीले एमालेका बासूँ बस्नेतसँग ४ सय मतको अन्तरले हारेका थिए।
कारबाही सिफारिस परेकाहरूमा पूर्व जिल्ला सदस्य विनोद निरौला, बुथ सभापतिमा पराजित धर्म बानियाँ धर्मेन्द्र, कृष्ण भण्डारी पनि छन् ।

