मोरङका १६ पालिकाको बजेट १६ अर्ब, रतुवामाईमा नगरसभा हुन सकेन

विराटनगर । मोरङका १६ स्थानीय तहले कूल १६ अर्ब ३७ करोड ३० लाख ८४ हजार ८ सय ३९ रुपैयाँ बराबरको बजेट ल्याएका छन् । रतुवामाई नगरपालिकाले भने विवादका कारण बजेट ल्याउन सकेको छैन ।

चालू आर्थिक वर्षमा १६ पालिकाको बजेट १७ अर्ब ६० करोड ५५ लाख ८४ हजार ४५९ रुपैयाँको बजेट आएको थियो । चालू आर्थिक वर्षको भन्दा यो वर्ष बजेटको आकार घटेको छ । कोभिड महामारीको समयमा पनि बढाएर बजेट ल्याउने केही पालिकाहरुले यसपटक त्योभन्दा सहज परिस्थिति हुँदा पनि बजेट घटाएका छन् ।

बजेट घटाउने पालिकाहरूमा विराटनगर महानगरपालिका, सुन्दरहरैंचा र लेटाङ नगरपालिका तथा कानेपोखरी, मिक्लाजुङ र कटहरी गाउँपालिका छन् । सबैभन्दा धेरै विराटनगर महानगरपालिकाले बजेटको आकार घटाएको छ । दोस्रो नम्बरमा सुन्दर हरैंचा नगरपालिकाले पनि बजेटको उल्लेख्य आकार घटाएको छ । सुन्दरहरैंचाले चालू आर्थिक वर्षको भन्दा ६४ करोड २६ लाख बजेट घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ ।

बजेट बढाउने पालिकामा भने पथरीशनिश्चरे नगरपालिका अगाडि छ । उसले झण्डै ४० करोड बढाएर बजेट बढाएको छ । बुढीगंगा गाउँपालिकाले बजेटको आकार १६ करोडभन्दा धेरैले बढाएको छ ।

बजेट ल्याउने मोरङका ७ नगरपालिकामध्ये सबैभन्दा धेरै बजेट सुन्दरहरैंचाकै रहेको छ । सुन्दरहरैंचाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७३४ रुपैयाँको बजेट ल्याएको छ । यस्तै बेलबारीले १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४३३, पथरीशनिश्चरेले १ अर्ब २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी बजेट केराबारी गाउँपालिकाले ८२ करोड ९५ लाखको बजेट ल्याएको छ । यस्तै मिक्लाजुङले चालू वर्षको भन्दा ८ करोड ७ लाख घटाउँदै ७० करोड ६६ लाख ९६ हजारको बजेट ल्याएको छ । बुढीगंगा गाउँपालिकाले चालूभन्दा १६ करोड ९२ लाख बढाएर ७० करोड २४ लाख ८१ हजारको बजेट ल्याएको छ भने कटहरीले ४ करोड ५२ लाख ९१ हजार घटाएर ५० करोड ४ लाख ४१ हजार ६०० को बजेट ल्याएको छ । यस्तै ग्रामथान गाउँपालिकाले ५० करोड २२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

रतुवामाईमा सँधै लफडा
मोरङको रतुवामाई नगरपालिकामा भने बजेटको विषययमा सँधै जस्तै यसपटक पनि विवाद भएको छ । नवनिर्वाचित नगर प्रमुख नागेश्वरप्रसाद सिंहले समितिहरु निर्माण नगरी बजेट ल्याउने प्रयास गरेको भन्दै कार्यपालिका सदस्यहरुले विरोध गरेपछि बजेट आउन नसकेको हो ।

सिंह नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख हुन् । पालिकामा उपप्रमुखसहित ११ जना एमालेका सदस्य छन् । यस्तै माओवादी केन्द्रबाट ४ जना कार्यपालिका सदस्य छन् । पालिकाको निर्वाचनमा काँग्रेस र माओवादीले गठबन्धन गरेर एमालेसँग प्रतिस्पर्धा गरेका थिए । कार्यपाालिको निर्वाचनमा भने एमाले र माओवादी मिलेर प्रतिस्पर्धा गरेका थिए ।

अहिलेसम्म ३ वटा कार्यपालिकाको बैठक बसेको भएपनि विषयगत समिति निर्माणमा सहमति जुट्न नसकेको बताइएको छ । ‘विभिन्न आन्तरिक विषयमा समिति गठन गर्ने विषयमा एकता हुन सकेन, बजेटको विषयमा मलाई कुनै सूचना पनि छैन’ उपप्रमुख दमयन्तादेवि चुँडालले भनिन्, ‘विषयगत समिति बनाएर बजेट निर्माणको विषयमा हामीले सूचना पाउनुपर्छ भन्ने माग हो ।’

पालिका प्रमुखले समन्वय नगरेकै कारण बजेट नआएको उनको भनाइ छ । ‘हामी दुईतिहाई बहुमतमा छौं । हामीलाई बेवास्ता गरेको अवस्था छ,’ उनले भनिन्, ‘कार्यपालिका चुनावबाट एमाले र माओवादीबीच कार्यगत एकता हुँदै आएको छ ।’

कांग्रेसबाट प्रमुखमा सिंह विजयी बनेका भएपनि कार्यपालिकामा बहुमत छैन । बहुमत सदस्यहरुको समर्थन लिनुको साटो पेल्न खोजेपछि समस्या आएको एमाले र माओवादी समर्थकको भनाइ छ ।

शनिबार, ११ असार, २०७९, दिउँसोको ०४:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर