विराटनगर । सबै आन्तरिक उडानहरु ११ बजेदेखि गर्ने सहमति भएपनि विराटनगरमा भने अन्योल नै रहेको छ ।
यति एयर बाहेकका अन्य वायुसेवा कम्पनीहरूले उडान तालिका सार्वजनिक नगरेपनि अन्योल देखिएको हो ।
यति एयरले भने विहान ८ः५ बजेको सेड्युल सार्वजनिक गरेको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले बताए ।
सेड्युल सार्वजनिक गरेपनि यतिले पनि उडान भने शुरू भएको छैन ।
विराटनगरबाट ५ वटा एयरलायन्सले उडान भर्दै आएका थिए । विहान ८ः ५ बजेदेखि नियमति उडान हुने गरेको थियो ।
दैनिक २२ वटा उडान विराटनगरले गर्दै आएको थियो ।
वायुसेवा सञ्चालक संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको विवादका विषयमा मंगलवार राति वार्ता भएपछि आज सबै आन्तरिक उडान नियमित हुने बताएपनि यात्रु नभएको भन्दै कम्पनीहरूले सेड्युल सार्वजनिक गरेका छैनन् ।
उडान शुरू गर्ने विषयमा वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच मंगलवार मध्यरातमा सहमति भएको थियो ।
हिजो दिउँसो देखि नै कम्पनीहरूले टिकट रोकेका थिए । उनीहरूले टिकट रोकेको र मध्यरातमा मात्रै सहमति भएकाले विराटनगरको उडान अन्योल रहेको भण्डारीले बताए ।
वायुसेवा सञ्चालक संघले मंगलवार पत्रकार सम्मेलन गर्दै बुधवारदेखि आन्तरिक तर्फका सबै हवाई उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेपछि टिकट नकाटिएका कारण यात्रु नआउने भएकाले पनि सेड्युल ननिकालेको हुन सक्ने उनले बताए ।

