विराटनगर । सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ ।
सत्ता गठबन्धनमा आवद्ध दलहरूको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठकमार्फत एसपीपी अस्वीकार गर्ने निर्णय गराएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको बैठकले एसपीपी अस्वीकार गर्ने औपचारिक निर्णय गरेको एक मन्त्रीले बताएका छन ।
एसपीपीलाई लिएर संसदमा लगातार विरोध हुँदै आएको छ ।
२०७३ मंसिर १० गते नेपाली सेनाले एसपीपीमा सहभागिताका लागि अमेरिकालाई पत्राचार गरेको थियो । त्यो बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले सेनाले पत्राचार गरेको विषय राजनीतिक नेतृत्वलाई थाहा नदिएको बताएका थिए ।
प्रधानमन्त्री देउवाले गर्ने भनिएको अमेरिका भ्रमणमा एसपीपीमा सम्झौता हुने आशंका बढेको भन्दै संसदको अन्तर्राष्टिय सम्बन्ध र मानव अधिकार समितिले देउवालाई छलफलको लागि बोलाएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अब परराष्ट्र मन्त्रालयले अमेरिकालाई एसपीपीमा सहभागिता नहुनेबारे पत्र लेख्नेछ । नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले नेपालले औपचारिक पत्र लेखेर एसपीपीबाट फिर्ता हुन सक्ने बताएका थिए ।
सरकारले विदेशी मुलुक र कुटनीतिक नियोगलाई पत्राचार गर्दा अनिवार्य परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने समेत निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

