विराटनगर ।नेपाली काँग्रेसमा गत स्थानीय निर्वाचनमा भएको पराजयको विषयलाई लिएर कारबाहीको होडबाजी चलेको छ ।

मोरङको कानेपोखरी गाउँपालिकामा यसअघि कोइराला पक्षले देउवा पक्षका चार नेतालाई कारबाहीको सिफारिस गरेको थियो ।काँग्रेसको कानेपोखरी गाउँ कमिटीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, काँग्रेसका महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाइ र कानेपोखरी गाउँपालिका उपसपभाति भानु फुयाललाई कारबाही सिफारिस गरेको थियो । उनीहरुलाई स्थानीय तह निर्वाचनमा कानेपोखरी काँग्रेसका अध्यक्षका उम्मेद्वार सञ्जय भट्टराईलाई चुनावमा असहयोग गरेको ठहर गरिएको थियो ।

सो सिफारिसपछि रिसाएको देउवा पक्षले भने वडा समितिबाट सभापतिसहितका नेतालाई हटाउने निर्णय गरेको छ । कांग्रेसको कानेपोखरी २ नम्बर वडा समितिले पार्टीका वडाका उमेद्वारलाई हराउन विपक्षी पार्टीसँग साँठगाँठ गरेको भन्दै गाउँपालिकाका अध्यक्षका उम्मेद्वारसहित ५ जनालाई कार्वाहीको सिफारिस गरेको छ ।

कार्वाहीको सिफारिसमा परेकाहरूमा मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उमेद्वार एवम् नेपाली कांग्रेस प्रदेश १ का सदस्य सञ्जय भट्टराई, नेपाली कांग्रेस मोरङ ३(१)का सचिव हिमप्रसाद तिम्सिना, नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाका सभापति योगेन्द्रप्रसाद दाहाल, नेविसंघ मोरङका पूर्व कार्यवाहक सभापति फडिन्द्र निरौला र नेपाल तरुण दल कानेपोखरी २ का सभापति अर्जुन खत्री रहेका छन् । उनीहरू पाँचै जनाले २ नम्बर वडा वडाध्यक्षका कांग्रेस उम्मेदवार गोपाल खड्कालाई हराउन नेकपा एमालेसँग साँठगाँठ गरेको आरोप छ ।

कांग्रेसका २ नम्बर वडा समिति सभापति बमबहादुर पौडेल, प्रचारप्रसार समितिका संयोजक बिनोद बोहोरा र वडाध्यक्षका उमेदवार गोपाल खड्काले संयुक्त हस्ताक्षर गरि मोरङ कांग्रेसलाई कार्वाहीको सिफारिस गरेको हो । कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेलाई टिकट नदिएपछि कांग्रेस भित्र एकाएक माओवादीसँग हुन लागेको गठबन्धन टुटेको थियो ।

एमालेसँग भट्टराईको कनेक्सन आरोप

एमालेले राजमति इङ्नाम र भोला अधिकारीलाई अध्यक्ष र उपाध्यक्षको उमेद्वार बनाएपछि एमालेको असन्तुष्ट पक्ष र कांग्रेस उमेद्वार सञ्जय भट्टराईबीच सुनसरीको तरहरास्थित एउटा सेकुवा कर्नरमा भद्र सहमति भएको कांग्रेसको एउटा पक्षको आरोप छ । सहमति अनुसार एमालेको असन्तुष्ट लाइनले वडा नंं. २ बाट कांग्रेसका गाउँपालिका अध्यक्षका उमेद्वार सञ्जय भट्टराईलाई २ हजार मत सहयोग गर्ने अनौपचारिक सम्झौता भयो ।

एमालेको असन्तुष्ट लाइनले २ हजार मत सहयोग गरे वापत कांग्रेसले एमालेबाट वडा अध्यक्षका उम्मेद्वार रहेका सुशील बुढाथोकीलाई सकेसम्म जिताउनका लागि सहयोग गर्ने र कांग्रेसबाट उमेद्वार रहेका गोपाल खड्कालाई हराउने सहमति भयो । दुई चरणमा भएको वार्तामा कांग्रेसका तर्फबाट स्वयं गाउँपालिकाका अध्यक्षका उमेद्वार सञ्जय भट्टराई र अर्का एकजना भट्टराई थरका नेता सहभागी थिए । एमालेका तर्फबाट असन्तुष्ट पक्षका तीन जना नेता रहेको बताइए पनि नाम उल्लेख गरिएको छैन ।

सहमति भएको कुरालाई कांग्रेसका अध्यक्षका उमेद्वार सञ्जय भट्टराईले गत जेठ ८ गते बिहान स्वीकारीसकेका छन् । वडाध्यक्षका पराजित उमेद्वार गोपाल खड्कालाई विराटनगरस्थित आफ्नै निवासमा बोलाएर भट्टराईले कम्युनिष्टको आश्वासनमा परेर गलत निर्णय गरेको बताइसकेका छन् । खड्काले भने, ‘उहाँले गल्ती स्वीकारिसक्नु भयो । अब किन कारबाहीको सिफारिस नगर्ने ? त्यति मात्र होइन, खड्कालाई हराउनका लागि भट्टराईले एमाले उमेद्वार सुशील बुढाथोकीलाई नगद ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको समेत खुलासा भएको छ ।’
२८ गते राति भट्टराईले आफ्ना सबैभन्दा विश्वाशिला पात्र हिमप्रसाद तिम्सिनालाई पैसा दिएर एमाले उम्मेद्वारलाई हात लगाइदिन उर्दी गरेपछि सोही राति दलेलीमा पैसा बुझाउने र बुझ्नेबीच झडप भएको थियोे । कांग्रेस गाउँ सभापति योगेन्द्र दाहाल समेत खड्कालाई हराउन रातभर सक्रिय रहेको कांग्रेसका वडा सभापति बमबहादुर पौडेल बताउँछन् । २८ गते राति सञ्जय भट्टराई र योगेन्द्र दाहाल पक्षीय नेताहरू गोपाल खड्का हराउन पैसा बाँढ्ने अभियानमा थिए ।

अभियान रोक्न गोपाल खड्का समूहले प्रयास गर्दा पार्टी सभापति दाहाल, पथरी प्रहरीका डिएसपी वेदप्रसाद गौतम र मोरङ ३(१) का प्रदेश सभा सदस्य सूयर्माराज राईले कांग्रेसहरू कोही पनि बाहिर ननिस्किनु, बाहिर निस्किँदा हुनसक्ने दुर्घटनाको जिम्मा आफै लिनु भनेर एकै प्रकारको फोन गरका थिए । घटना दाहाल र सांसद राईले नै खड्का विरुद्ध पैसा बाँड्ने अभियान चलाउन एमालेलाई प्रहरीको सहयोग जुटाइदिएको खुलेको छ । सांसद राईले उक्त फोनबाहेक अरू कुनै गतिविधि नचलाएकोले कार्वाहीको सिफारिस नगरिएको वडा समितिको भनाइ छ ।

नेविसंघका पूर्व कार्यवहाक सभापति फडिन्द्र निरौलाले खड्कासँग कांग्रेसको प्रचार प्रसार गर्न नगद लिएको आरोप छ । नगद लिएपछि कांग्रेसका क्रियाशील सदस्यहरूको घर घर पुगेर उनले खड्का विरुद्ध भ्रम छरेका थिए । निरौलालाई तरुण दलका वडा सभापति अर्जुन खत्रीले भरथेक गरेका थिए