विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधि सभाको निर्वाचनपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका छन् । उनले अब फेरि प्रधानमन्त्रीको लोभ नगर्न पूर्वप्रधानमन्त्रीहरूसँग आग्रह समेत गरेका छन ।

टेलिभिजन सँग े शनिवार प्रसारित एक कार्यक्रममा महामन्त्री थापाले अब हुने चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका हुन् । गगनको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले समर्थन जनाएकी छिन ।

‘नेपालका जति पनि पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ, कोही पनि व्यक्ति यो चुनावपछि नेपाललाई प्रधानमन्त्री भइदिएर थप गुन लगाइदिनु पर्ने कारण छैन,’ थापाले भने, ‘उहाँहरूको योगदान छैन भन्ने होइन । संविधान ल्याइदिनु भयो, अब हामीलाई मौका दिनुस् । हाम्रो जेनेरेसनबीच प्रतिस्पर्धा गर्छौं ।’

प्रधानमन्त्रीका लागि ‘एटेम्ट’ गर्ने भन्ने गगन थापाको भिडियो क्लिप सोसल मिडियामा भाइरल बनेको छ । धेरैले युवा पुस्ताले देशको कार्यकारी प्रमुख बन्ने आकांक्षा राख्नु स्वभाविक भएको प्रतिक्रिया जनाएका छन् ।