विराटनगर ।मोरङ सुन्दरहरैंचाको गोकर्ण रिसोर्टमा शनिवार धेरै भिडभाड थियो । शनिवार यो रिसोर्टमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ । रिसोर्टकै एक कोठामा नबिना खड्का सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्तै गरी कार्यक्रम वाचन गरिरहेकी थिइन् ।

उनको अगाडि टेबलमा नगर प्रमुख लेखेको ‘नेमप्लेट’ थियो । छेउमा एकातिर उपमेयर र अर्काेतिर सचिव बसेका थिए । मेयर खड्काले नीति तथा कार्यक्रम वाचन गरिहँदा प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेल र सुन्दरहरैंचाका मेयर केदार गुरागाईँ लगायतका नेता कार्यक्रम स्थलमा पुगे । तर, उनी रोकिइनन् ।

उनले वास्ता पनि गरिनन् । आफूले पढिसकेपछि उपमेयर सिम्रन न्यौपानेलाई आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्न भनिन् । छेउमै रहेको रोस्ट्रममा पुगेर सिम्रनले सभाध्यक्षज्यु भन्दै बजेट भाषण गर्न थालिन् । विभिन्न छलफल गरेर बजेटलाई पास गरे ।
४ दिन अघिदेखि राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति मोरङको व्यवस्थापन र सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूलाई संसद् बारे जानकारी गराउने उद्देश्यले यो अभ्यास गराइएको थियो । राजनीतिप्रति युवाको वितृष्ण बढिरहेका बेला मोरङको सुन्दरहरंैचामा नमुना संसद् अभ्यास गराइएको हो ।

देशको समसामयिक राजनीतिक घटनाक्रम, विकास निर्माण, रोजगारी,युवा नीति निर्माण, सामाजिक विकृति र विंसंगति, लागूपदार्थ दुव्र्यसन, युवा सीप रोजगार, युवामा सूचना प्रविधिको पहुँच, युवा क्लबको क्षमता विकास, छुवाछूत तथा लैङ्गिक विभेद, दाइजो प्रथा, विद्यार्थीको सेवा सुविधा, युवा स्वरोजगार कार्यक्रम,साइवर क्राइम र यसको नियन्त्रण, प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा सत्ता पक्ष र विपक्ष भएर उनीहरूले धारणा राखेका थिए ।

युवाहरूलाई नेतृत्वमा ल्याउने उद्देश्यले कार्यक्रम गरिएको राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति मोरङका संयोजक सन्तोष घिमिरेले बताए । भविष्यमा युवाहरूले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवश्यक रहेको सुन्दहरैंचा नगरका मेयर केदार गुरागाईँले बताए ।

युवा युवतीलाई संसदीय अभ्यास सिकाए राजनीतिमा देखिएका समस्याहरू अन्त्य हुने प्रदेश १ उपसभामुख सरस्वती पोख्रेलले बताइन् । तालिम प्रयोगात्मक हुँदा युवालाई नीति निर्माणमासमेत सहज भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । नगरपालिका भित्रका १६ वर्षदेखि माथिका ३६ जना युवाको सहभागिता थियो ।