विराटनगर । प्रदेश १ का पहिलो मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राईले अहिलेको अवस्थामा देश आउनुमा काँग्रेस र एमाले जिम्मेवार भएको बताएका छन् ।

विराटनगरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै राईले ०४६ सालको परिवर्तन पछि मुलुकलाई सही ढंगले लैजान नसक्दा अहिलेको अवस्था आएको बताए ।

विषयमा आवश्यक समीक्षा गर्नुपर्नेमा राईको जोड छ । ‘मुलुक यो खण्डमा आइपुग्नुको कारण नेकपा एमाले र नेपाली कांग्रेस नै जिम्मेवार हुन् । २०४६ सालको निर्वाचन पछि आजको जनताको अपेक्षा पुरा गर्ने गरी काँग्रेस र एमाले आउन सकेको भए माओवादी जनयुद्ध हुँदैन थियो,’ उनले भने, ‘विभिन्न भूगोल, समुदायको नाममा पार्टीहरु पनि आउँदैन थिए । त्यसकुरामा हामीले समीक्षा गर्नुपर्छ ।’

राईले अब अनेक वर्ग, अनेक शक्ति हुनुभन्दा दुईवटा ध्रुवको वरिपरि केन्द्रीत हुनुपर्नेमा जोड दिए । ‘मुलुकको स्थिरताको निम्ति, विकास र समृद्धिको निम्ति दुई पार्टीबीच प्रतिस्पर्धा हुनुपर्छ । जित्नेले पूरा कार्यकाल सरकार चलाउनु पर्यो । यदि संख्या नपुग्ने अवस्था आयो भने दुई पार्टी नै मिलेर भएपनि सरकार चलाउनु पर्यो,’ राईले भने ।

राईले गठबन्धन गरेर चुनावमा जानु देशका लागि डरलाग्दो अवस्था सिर्जना हुँदै गएको पनि बताए । ‘कांग्रेस एमाले भएको छ, एमाले कांग्रेस भएको छ, माओवादी काँग्रेस भएको छ,’ राईले भने, ‘चुनाव जित्नकै लागि सिद्धान्त, लक्ष्य, उद्देश्य विर्सिएको अवस्था छ, यो गठबन्धनको कारणले भएको हो, यो मुलुकका लागि घातक बन्दै गएको छ ।’

भोजपुरमा राईकै गृहपालिकामा कांग्रेस र एमालेले गठबन्धन गर्दा झनै घातक भएको उनले बताए । ‘गठबन्धन देशका लागि घातक हुँदैछ,’ पत्रकारले तपाईंको पालिकामा पनि गठबन्धन तपाईले नै गर्नुभएको थियो नि भन्ने प्रश्नमा उनले भने, ‘मेरो पनि घातक नै भयो ।’

अहिलेको निर्वाचनबाट नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल धार हो भन्ने कुरा स्थापित भएको राईले दावी गरे । ‘कसैले बामपन्थी भन्छ, कम्युनिष्ट भन्छ भने अब यो धुरीमा आउनु पर्यो । यसअघि अभियान हामीले सुरु गरेको हो । त्यो बीचमा भत्किएको छ । अब सबैले आफ्नो ठाउँबाट समीक्षा गरेर अगाडि बढ्नु पर्यो,’ राईले भने, ‘कांग्रेस पनि प्रजातान्त्रिक हिसावले आएको एउटा शक्ति हो । त्यसकारण देशमा साना, मसिना दलहरुको भूमिका भनेको अस्थिरताको खेति हेर्ने र दाउ हेरेर बस्ने भन्दा अरु देखिएन । मुलुकमा दुईवटा ध्रुव मात्रै रहनुपर्छ ।’

प्रदेशको नाम नराखेकोमा अफसोच
राईले आफ्नो कार्यकालमा प्रदेश १ को नाम राख्न नसकेकोमा अफसोच भएको बताए । उनले नामको विषयमा केही दिनभित्र सहमतिमा पुग्ने दाबी पनि गरे । ‘नामको विषयमा एमालेमा कुनै समस्या छैन, हामी आधा घण्टामा टुंग्याउन सक्छौं,’ उनले भने, ‘नेपाली कांग्रेस लगायतका दलहरुसँग सम्वाद चलिरहेको छ र हामी केही दिनभित्र ठोस साझा प्रस्ताव गरेर प्रक्रियामा हामी सहभागी हुन्छौं ।’

प्रदेशको नाम जे पनि हुनसक्ने बताउँदै राईले ‘२ नम्बरले पनि मधेश नै राखिसक्यो । भनेपछि यो प्रदेशमा एउटा नाम तय गर्न अप्ठ्यारो छैन,’ उनले भने, ‘प्रदेशको नाम राख्न कांग्रेस र एमाले सहमत हुँदा पनि दुई तिहाई पुग्दैन । तर, हामी सहमत भयौं भने दुई तिहाई पुर्याउन समस्या हुँदैन । तर, नेपाली काँग्रेस तयार हुनुपर्छ ।’

अहिलेको बजेट चुनाव केन्द्रीत
राईले अहिले प्रदेश सरकारले ल्याएको बजेट लक्ष्य उद्देश्यबिहीन रहेको बताए । ‘यो बजेट जस्तो सरकार छ, बजेट त्यस्तै आएको छ । यो सरकार कुनै निश्चित उद्देश्य, गन्तव्य र प्राथमिकता नभएकोले बजेटमा पनि त्यो देखिएन,’ राईले भने, ‘चुनाव केन्द्रीत, मतदातालाई चुनावमा प्रभावित गर्ने उद्देश्यबाट आएको देखिन्छ । विभिन्न नाममा पैसा छरेको देखिन्छ ।’

आफ्नो पार्टी सरकारमा बाहिरिसकेपछि पनि झण्डै १ अर्ब बजेट रकमान्तर गरेर आफ्नो कार्यकर्ताहरु, पार्टी सम्बद्ध मान्छेहरुको समिति निर्माण गरेर आफ्नो पार्टी, आफ्नो समूह स्वार्थको हितमा प्रयोग गरेर खर्च गरेको दाबी राईले गरे । ‘अहिले पनि विभिन्न नाममा अबण्डामा राख्ने, विभिन्न शीर्षकमा राख्ने हिसावले आएका छन्,’ उनले भने, ‘एउटा जिल्लामा एउटा बर्थिङ सेन्टरको अभाव छ अहिले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने भन्ने आएको छ, के त्यो सम्भव छ त्यो ? ।’

यो बजेट चुनाव प्रभावित पार्नका लागि ल्याएको देखिएको राईले बताए । ‘यो बजेट मान्छेलाई चुनावमा प्रभावित पार्नका लागि आहा कति राम्रो कार्यक्रम ल्याएछ भनेर अल्मल्याउनका निम्ति बाहेक त्यो कार्यान्वयन हुन सम्भव छैन,’ उनले भने ।