विराटनगर । प्रदेश सरकारले सुनसरी, उदयपुर र धनकुटा जोड्ने गरी बराह क्षेत्रमा कोशी र कोकाह नदीमा आकर्षक झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट बक्तव्य मार्फत तीन जिल्ला जोड्ने झोलुङ्गे पूललाई पर्यटन प्रवद्धन अन्तरगत कार्यक्रम मार्फत निर्माण गरिने जनाएका छन् । त्यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

पर्यटन क्षेत्रको विकासका लागि डिजिटल वेव र मोवाइल एप निर्माण गर्ने पनि उल्लेख गरिएको छ । उनले भने ‘प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन गर्न डिजिटल वेव र मोवाइल एप निर्माण गरी सञ्चालनमा ल्याइने छ ।’

पर्यटन विकास लागि महत्वका साथ अघि बढाइएको मुन्धुम पदमार्ग यसै वर्ष सम्पन्न गर्ने र थप चार वटा पदमार्ग निर्माण गर्ने पनि घोषणा गरिएको छ । पर्यटकको बसाई अवधि बढाउन लामो र छोटो अवधि भ्रमण प्याकेज निर्माण गर्न सहयोग गर्ने पनि बताइएको छ ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने र विराटनगरबाट पहाडी जिल्लाहरुमा नियमित हवाई उडान र माउन्टेन फ्लाइट सञ्चालन गर्न पहल गर्ने बजेट मार्फत घोषणा गरिएको छ । खेल पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरेको बताइएको छ ।