विराटनगर। कक्षा ८ मा पढिरहेकी १२ वर्षीया नाबालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोगमा ओखलढुंगा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पछिल्लो एक महिनाको अवधिमा विभिन्न प्रलोभन र डरधाक देखाउँदै ती बालिकालाई चार जनाले जबरजस्ती गरेको उजुरी परेपछि प्रहरीले ओखलढ्ंगा सिद्धिचरण नगरपालिका वडा नम्बर ३ का चार जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारी अनुसार सिद्धिचरण–३ का ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ४० वर्षे पूर्णप्रसाद फुयाल, ३२ वर्षका डम्बरबहादुर भुजेल र ३१ वर्षका केवल भुजेल पक्राउ परेका हुन्।
उनीहरुमध्ये तीन जना सोमबार नै पक्राउ परेको र मंगलबार ७६ वर्षीय दाहाल पक्राउ परेका हुन्। ‘विभिन्न प्रलोभन र डरधम्की देखाएर नाबालिगलाई बलात्कार गरेको उजुरी आएपछि हामीले अभियुक्तलाई नियन्त्रणमा लिएका हौं’, प्रहरी निरीक्षक दासले भने ‘उनीहरुले पछिल्लो एक महिनाभित्र विभिन्न समयमा जबरजस्ती गरेको पाइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ प्रहरीका अनुसार फरक समयमा ती चारै जना पुरुषले नाबालिगमाथि बलात्कार गरेपछि पीडितले परिजवारमा घटना सुनाएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

