विराटनगर । नेपाली काँग्रेस कानेपोखरी गाँउ कार्यसमितिले गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित चार नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
काँग्रेस मोरङ क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका भूमि आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाई र कानेपोखरी उपसभापति भानु फुयाललाई कारबाही सिफारिस गरेको समितिले जनाएको छ ।
उनीहरुलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न कानेपोखरी गाउँ समितिले जिल्ला समितिलाई पत्र पठाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसका तर्फबाट कानेपोखरी गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई चुनावमा असहयोग गरेको कांग्रेस कानेपोखरीले ठहर गरेको छ । आफुलाई चुनाव हराउन उनीहरुले भूमिका निर्वाह गरेर असहयोग गरेको भन्दै अध्यक्षका उम्मेदवार भट्टराईले कानेपोखरी गाउँपालिका समितिमा उजुरी दिएका थिए ।
‘चुनावमा आफ्ना उम्मेदवारलाई मत नदिन र बिभिन्न रुपमा उम्मेदवारलाई असहयोग गरेको देखिएको छ,’ कानेपोखरी कांग्रेसले जिल्ला कमिटीलाई पठाएको कारबाही सिफारिस पत्रमा भनिएको छ, ‘चारै जनालाई कांग्रेसको विधान अनुसार साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्दछौं ।’

