प्रचण्डलाई एउटा चिठ्ठी

  लीलाबल्लभ घिमिरे

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष आदरणीय पुष्पकमल दाहालज्यू ! बेलाबेला तपाईलाई सम्झिरहने उहि प्रदेश १ को एउटा पत्रकारले फेरि यो खुल्लापत्र लेख्ने दुश्प्रयास गर्दैछु् । हुन त यो पत्र तपाईसम्म आइनपुग्ला । तर, मेरो आग्रह यो पत्र यदि कुनै नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले पढ्नुभयो भने उहाँलाई पत्रको व्यहोरा जानकारी गराईदिन आग्रह गर्दछु ।

अध्यक्ष कमरेड ! स्थानीय तहको निर्वाचन सकिएको छ । तपाई आफ्नो एजेण्डामा सफल हुनुभएको छ । पछिल्लो समय नेपाली राजनीतिमा देखिएको अहंकारवाद र त्यसका नाइके केपी शर्मा ओलीलाई सानो भएपनि पाठ सिकाउनु भएको छ । त्यसका लागि तपाई बधाईको पात्र हुनुहुन्छ । तपाईका १२१ जना कार्यकर्ताहरु मेयर तथा अध्यक्ष बन्न सफल भए । १३० जना उपमेयर तथा उपाध्यक्ष भए । १ हजार ५३ जना वडाअध्यक्ष भए, ३ हजार ७४३ जना स्थानीय तहको सदस्य पदमा निर्वाचित भए । देशभरबाट ५ हजार ४७ जनाले सत्ताको स्वाद चाख्न पाउने भए । त्यसका लागि तपाईलाई फेरि पनि बधाई दिनैपर्छ । यदि तपाईको दाहिने दिमाग नचलेको भए यो सम्भव हुने थिएन । यति मात्र हैन, अब फेरि केही संख्यालाई प्रदेश र संघमा सांसद मात्र हैन, मन्त्रीसमेत बनाउनु हुन्छ । त्यो कला तपाईमा पक्कै पनि छ । कसलाई कसरी फुटाउने र कसलाई कसरी फकाउने मन्त्र तपाईले राम्रोसँग जान्नुभएको छ । त्यसमाथि अहिले तपाईलाई प्रधानमन्त्रीको समेत अफर आइरहेको छ । र, यो क्रम जुन दिनसम्म तपाईको दाहिने दिमाग चल्छ, त्यो दिनसम्म आइरहन्छ । तपाईको कुसलता नै यसैमा देखियो । यो देश र जनताका लागि जो होस् तपाईका लागि फाइदाकर पक्कै पनि छ ।

अध्यक्ष कमरेड ! मेरो घर पूर्वी पहाडी क्षेत्रको धनकुटा जिल्लाको दुर्गम गाउँ हो । मेरो भाग्य नै मान्नुपर्छ, म र मेरो परिवारले तपाईले देश र जनताको मुक्तिका लागि चलाउनुभएको महान् जनयुद्धका क्रममा मारिनुपरेन । त्यो युद्धलाई प्रत्यक्ष देखेर साक्षी बन्न पाइयो । तर, कमरेड त्यसबेला हाम्रो गाउँमा आउनुभएका र हामीलाई जबरजस्ती जंगलको विचमा मध्यरातमा लगेर पढाउनुभएका नेता कमरेडले पढाउनु भएको सिद्धान्त मिलिरहेको छैन । अहिले आएर म अन्योलमा परिरहेको छु, कतै त्यहाँ हामीलाई माओवाद पढाउने नेता नै नक्कली थिए कि ? हुन त त्यसबेला माओवादीले पल्लोगाँउमा नक्कली माओवादीको सफाया गरेको खबर नसुनिएको हैन । अध्यक्ष कमरेड ! कि ति जनयुद्धमा हिँडेका माओवादी नक्कली थिए कि तपाईले बाटो विराउनु भएको हो ?

अध्यक्ष कमरेड ! देशले धेरै व्यवस्था परिर्वतन ग¥यो । तर, जनताको अवस्थामा परिर्वतन आउन सकेको छैन । आज जनताका मुक्तिका लागि पहिलो चरणमा पञ्चहरु अनि त्यसपछि पालैपालो कांग्रेस, एमालेका शीरछेदन गर्न तपाईले आदेश गरेको हैन् । यी उनीहरुले नै तपाईको टाउकोको मूल्य तोकेका हैनन् ? आज ति दलहरुका नेतामा के त्यस्तो परिर्वतन देख्नुभो र उनीहरुकै पाउ मोल्दै हुनुहुन्छ ? आज जुन बाटो तपाई हिँडिरहनु भएको छ, जनतालाई देखाइ दिनुहोस्, माओवाद र मुक्ति कहाँनेर छ ? अध्यक्ष कमरेड ! आज तपाईको आत्मसमर्पणवादी बाटोले तपाईका ५ हजार ४७ जना कार्यकर्ताले कुर्सी पाए । भोलि अलिअलि कमाउलान् । तर, हिजो जनताको मुक्तिमा नाममा १७ हजारभन्दा धेरै नागरिकको ज्यान गएको तपाईमा हेक्का छ कि छैन ? आज ५ हजारले कुर्सी पाउँदा यो देशका तमाम दलित, महिला, पिछडा र गरिब जनताहरुले के पाइरहेका छन् ? महंगी, भ्रष्टाचार, बलात्कार, गुण्डागर्दी को अन्त्य खै भएको ? मैले सुनेको थिए, नेता भनेको एउटा आशाको दियो हो । जो आफू जल्छ र देशलाई उज्यालो बनाउँछ । तर, तपाईले त्यही गर्नुभयो त ? एकपटक छातीमा हात राखेर सोच्नुहोस् । यहि बाटोले देश र जनताले मुक्ति पाउँछन् ? यसको उत्तर तपाईसँग छैन, किनकि तपाईका हातमा यतिबेला माक्र्सवादको पुस्तक छैन । तपाईका हातमा यतिबेला कसैले प्रधानमन्त्रीको अफर लेटर छ । यहि लेटर हेरेर तपाई मख्ख हुनुहुन्छ । अनि यसैलाई आफ्नो राजनीतिक सफलता ठान्नुहुन्छ । सिंहदरवार छिरेपछि तपाईले तपाईकै पार्टी, सहिद, घाइते र लडाकुलाई विर्सनुभयो । जनयुद्धलाई कुनै एउटा बहानामा विसर्जन गर्दा तपाईले भन्नुभएको कुरा मलाई अहिले पनि याद छ । लडाकु कमरेडहरु हो, पैसा ट्रकमा आउँछ भन्नुभएको थियो । खै त्यो ट्रक कता पल्टियो ? हिजो जनतालाई बाँढेका सपना आज कता हराए कि विर्सनु भो ? यस्ता धेरै प्रश्न छन् भेटेरै गर्न मन लागेको छ । तर, त्यो सम्भव छैन । किनभने तपाईलाई यस्ता कुरा सुन्ने कहाँ फुर्सद छ र ? अचेत तपाई कम्ती व्यस्त हुनुहुन्न ? कहिले उत्तरबाट त कहिले दक्षिणबाट प्रधानमन्त्रीको अफर आइरहन्छ ।
वास्तवमा नै अध्यक्ष कमरेड ! त्यसबेलाको मेरो बाल मनस्थितिले तपाईको विचार र पार्टीसँग सहमत हुन सकेको थिएन् । तर, यो देश र जतताको मुक्ति तपाईका करकमलबाट होला जस्तो लाग्थ्यो । विश्वास र निकै भरोसा थियो । जुनदिन तपाईले माओवादी तोरीलाई लगेर एमाले कोदोसँग मिसाउँदै पार्टी विघटन गर्नुभयो, त्यो दिन पनि यसरी नै लेखेको थिए । आज मजस्ता धेरैका सपना तपाई तुहाउनुभएको छ । सम्झन्छु, तलाई त यस्तो हुन्छ अनि ति बन्दुक बोकेर हिँडेकाहरुको मनमा ज्वाला कसरी दन्कदो हो, कसरी सहेर बसेका होलान् ? घाइतेहरुका घाउँ कसरी दुःखीरहेका होलान् ?
अध्यक्ष कमरेड ! म तपाईले चाल्नुभएको महान् जनयुद्धको योद्धा पनि होइन । अनि बन्दुक बोकेको पत्रकार पनि हैन । त्यसबेला तपाईका कार्यकर्ताहरुको ज्यादतीविरुद्ध यसरी कहाँ पो बोल्न पाइन्थ्यो र ? मेरा हजुरबाले भन्नुहुन्थ्यो, नाती केटा बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु र बस्न पाए भन्दैमा थ्याच्च नबस्नु । वास्तवमा नै हो रहेछ । यदि त्यसबेला प्याच्च बेलोको भए स्वर्ग तरको बास हुनेथियो कि ? बाँचेकाले आज यति लेख्न पाएको छ । लेख्ने धेरै छ । लेख्दै जाँदा मनमा ज्वालाहरु उर्लिएका छन् । फेरि पनि प्रश्न गर्न मन लाग्छ, कतै बाँदरले नाकमा बसेको झिंगालाई लड्ली हानेर मारेजस्तो तपाईले पनि ओलीका रिसमा आफ्नै नाक त भाँच्दै हुनुहुन्न ? तपाईलाई विश्वास छ, यहि बाटोबाट मुक्ति मिल्छ ? हैन भने के त तपाई सधैं अर्काकै फेर समाएर दौडिराख्ने हो ? अन्त्यमा एउटा कुरोको याद दिलाउन चाहन्छु, यदि विपी कोइरालाले राजा महेन्द्रसँग एउटा मात्र सम्झौता गरेका भए बाँचुञ्जेल यो देशको प्रधानमन्त्री बन्थे । यदि त्यसो गरेका भए आज वीपी महामानव भनेर पुजिन्नथे होला । आगे अध्यक्ष कामरेडको मर्जी । जय प्रचण्डपथ !

आइतबार, २९ जेठ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर