विराटनगर ।बाबुराजा श्रेष्ठ मेकानिकल इञ्जिनियर हुन् । २०४६ सालमै जापानबाट उनले मेकानिकल इन्जिनियरिङको पढाइ सक्दा नेपालमा मेकानिकल इन्जिनियर थोरै थिए । काठमाडौं मुलघर छाडेर विराटनगरमा बाल्यकाल बिताएका उनले विराटनगरलाई नै कर्मथलो बनाए ।
इञ्जिनियरिङको पढाइ सकेपछि उनले जागिर खानतर्फ ध्यान दिएनन् । बरु उनको ध्यान प्रविधियुक्त कृषिमा गयो । बजारमा पाउने चाउचाउको विकल्प खोजेर उनले परम्परागत खानेकुराको संरक्षणमा ध्यान दिए ।
गुन्द्रुक, मस्यौरालगायतका खानेकुराको प्रचारसँगै वर्षाैंसम्म राख्न मिल्ने गरिको योजना बनाए । कृषि इन्जिनियर भएकाले उनले गुन्द्रुक, मस्यौरालाई सुकाउने (सुक्खा) बनाउने मेशिन बनाए । कृषकलाई सिकाउने लक्ष्य राखेर मेशिन बनाएर सिकाएको समेत उनले बताएका छ्न । सुक्खा बनाएर राखेको खानेकुरा धेरै समयसम्म राख्न मिल्छ ।
दूध बेचेर रक्सी किन्ने समाज !
उनी देशका विभिन्न जिल्ला घुमेका छन् । गाउँबस्तीमा पनि आफ्नो उत्पादनभन्दा बजारका चिजमा रमाउनेहरू उनले धेरै भेटेका छन् । विद्यार्थीको हातमा ‘जंक फूड’ देख्दा आँखाबाट आँसु आउने गरेको उनी बताउँछन् ।
भान्साका ¥याकहरू पनि बजारकै खानेकुराले भरिएका हुन्छन् । पोषणको महत्व बुझाउन नसकेका कारणले पनि बालबालिकामा कुपोषण हुने गरेको उनी बताउँछन् । गाउँमा भएका खेतबारी बाँझै छाडेर बजारमा आएर कुकुर पालेको देख्दा अचम्म लाग्ने गरेको उनको भनाइ छ ।
‘मानव स्वास्थ्यका लागि च्याउ महत्वपूर्ण खाद्यान्न हो, यसको सेवनबाट प्रोटिन राम्रो पाइन्छ,’ उनले भने । च्याउले उच्च रक्तचाप तथा कोलेस्ट्रोल घटाउन सहयोग गर्ने, क्यान्सर रोग र ट्युमर घटाउन मद्दत गर्ने, अनावश्यक मोटोपन घटाउन सहयोग गर्ने र रक्तनलीमा अवरोधका कारणले हुने समस्यालाई न्यून गर्ने कुरा सिकाउनुपर्ने उनी बताउँछन् ।
‘दूध, दही, अण्डा जस्ता घरमा उत्पादन गरेका वस्तु बेचेर रक्सी, बिस्कुट, कोक किनेर खाने गरेका छन्,’ उनले भने, ‘पौष्टिक आहारको विषयमा जानकारी नहुँदा आफू पनि पौष्टिक तत्व नभएको खाना खाने र बच्चाहरूलाई पनि त्यही दिने चलन छ ।’ बच्चालाई फकाउनका लागि चाउचाउ, बिस्कुट दिनु झन् खतरनाक भएको उनी बताउँछन् ।
‘सोसल मिडियामा आउने विज्ञापनका कारण पनि बालबालिकामा असर प¥यो । अहिलेको मेरो अभियान भनेको जंकफूड तथा अल्कोहलजन्य वस्तु नियन्त्रण गर्नु हो,’ उनले भने । देशैभर जंक फूडको असरबारे जानकरी गराउने लक्ष्य लिएको उनले बताए ।
इञ्जिनियरदेखि अग्र्यानिक कृषकसम्म
पढाइले मेकानिकल इञ्जिनियर रहेका उनी अहिले पौष्टिक आहाराका रूपमा चिनिने च्याउखेती गरिरहेका छन् । उनले च्याउखेती मात्रै गरेका छैनन्, च्याउ प्रशिक्षण केन्द्रका रूपमा समेत विकास गरिरहेका छन् । च्याउखेती सिक्न आउनेका लागि निःशुल्क खाना र बस्न दिएर उनले सिकाउने गरेका छन् ।
सिकेपछि व्यवसाय गर्छु भन्नेलाई पहिलो प्राथमिकता दिने गरेको उनी बताउँछन् । परम्परागत खेतीभन्दा पनि प्रविधिको प्रयोगबाट खेती गर्ने गर्छन्, उनी । वैकल्पिक ऊर्जामार्फत उनले च्याउखेती गर्ने गरेका छन् ।
पराल काट्नेदेखि बफाउने, सुकाउने, प्याकिङ गर्ने आफैंले मेशिन बनाएका छन् । ती मेशिनहरू वैकल्पिक ऊर्जा सोलारको प्रयोगबाट चलाउने गर्छन् । सिँचाइ गर्न पानी तान्ने मोटरसमेत वैकल्पिक ऊर्जाबाटै चलाइरहेका छन् । उनले १२ महिना नै च्याउ उत्पादन गर्ने गरेका छन् ।
दैनिक ३०–४० किलोसम्म च्याउ उत्पादन हुने गरेको उनी बताउँछन् । ‘उत्पादन गरेको च्याउ बजारसम्म लैजानु पर्दैन,’ उनले भने । बिहान उनको घरमा च्याउ किन्नेको भीड लाग्ने गरेको छ ।
वैकल्पिक ऊर्जामा पनि अब्बल
उनी नवीकरणीय ऊर्जामा पनि अब्बल छन् । देशैभर २ घण्टा लोडसेडिङ भएको बेला विद्युत् भार घटाउन वैकल्पिक ऊर्जामा समेत काम गरेका छन्, उनले । १४ जना इन्जिनियर मिलेर नविकरणीय ऊर्जा सोलारको नेपालमा पहिलो कम्पनी खडा भएको थियो । २ जना लगानीकर्ता अमेरिकाबाट पनि नेपाल आएका थिए ।
अमेरिकाबाट आएका लगानीकर्ताले ४० घरधुरीलाई निःशुल्क सोलार दिने बताए । तर, आफ्नो पनि लगानी भएको चिज मात्रै संरक्षण हुन्छ भन्ने ठानेर केही रकम उठाएर ६० घरलाई दिएका थिए । इञ्जिनियरहरूले अमेरिकाबाट पत्ता मात्रै ल्याएका थिए, बल्ब, ब्याट्री, तार नेपालमै उत्पादन गरेका थिए ।

