विराटनगर । नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं। १ कार्यसमितिले ४१ बुद्धे विराटनगर घोषणा पत्र जारी गरेको छ । विराटनगरमा शनिवार सम्पन्न भएको नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रमबाट ४१ बुद्धे घोषणा पत्र जारी गरेका हुन् ।

कर्मचारी युनियनले जारी गरेको घोषणा पत्रमा संघीय निजामती सेवा ऐन अनिवार्य जारी गर्न माग राखेका छन् । उनीहरूले भाद्र १९ गतेसम्म संघीय निजामती सेवा ऐन अनिवार्य रूपमा जारी गर्न जोडदार माग गरेको नेपाल निजामती कर्मचारी युनियन प्रदेश १ का अध्यक्ष मानबहादुर वनले जानकारी दिए । भदौ १९ गतेसम्म राज्यले निजामती सेवा ऐन जारी नगरे भदौ २२ गते मनाइने निजामती सेवा कार्यक्रम बहिस्कार गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

यसै गरी सेवा समूहका कर्मचारीहरूलाई सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था गर्ने पहल गर्ने घोषणा पत्रमा उल्लेख । यस्तै समायोजन ऐन, २०७५ अनुसार संघ प्रदेश र स्थानीय तहमा बिना सहमति सरुवा हुने कानुनी व्यवस्था गर्न पहल गर्ने, कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पूर्वानुमानयोग्य बनाउन चक्रीय प्रणालीको व्यवस्था गर्नुपर्ने साथै कर्मचारी स्वैच्छिक अवकाश योजना पुन कार्यान्वयन गराउनु पर्ने लगायतको माग घोषणा पत्रमा उल्लेख गरेको छ ।

यसै गरी सरकारी कामको सिलशीलमा विभिन्न कारणले मृत्यु भएका कर्मचारीलाई राष्ट्रसेवक सहिद घोषणा गरी उनीहरूको परिवारलाई रोजगार व्यवस्था गर्न पहल गर्ने, एक महिनाको तलब बराबरको भत्ता सहित १५ दिनको पर्यटन बिदाको व्यवस्था र कार्यान्वयन गर्न पहल गर्ने लगायतको माग घोषणा पत्रमा उल्लेख छ ।